• १६ वैशाख २०८१, आइतबार

८४ वर्षमा पढ्न थालेका विद्यार्थी

blog

केन्याका  किमानी मारुगेले ८४ वर्षको उमेरमा पढ्न थालेका हुन् । यी विद्यार्थी जसले अन्य धेरै जनालाई प्रेरणा दिएका छन् । उनले ८४ वर्षको उमेरमा पेन्सिल समाउन सिकेका थिए । सन् २००४ केन्याको कपकान्डुओ प्राथमिक विद्यालयमा भर्ना भएपछि मारुगे प्राथमिक विद्यालयमा भर्ना हुने सबैभन्दा पाका व्यक्ति बने । उनी पूर्वसैनिक हुन् । उनले माउ माउ स्वतन्त्रता आन्दोलनका क्रममा औपनिवेशिक शासनविरुद्ध लडेका थिए ।

बाल्यकालमा उनी विद्यालय जान पाएनन् । त्यसैले केन्याको सरकारले देशभर प्राथमिक विद्यालय शिक्षा निःशुल्क बनाउने निर्णय लिएसँगै उनले आफूले लेखपढ गर्ने अवसर पाउन लागेको निष्कर्ष निकाले । बाइबल पढ्ने उद्देश्यले उनले पढ्न थालेका हुन् । सन् २००३ को अक्टोबरमा नैरोबीभन्दा ३२० किलोमिटर टाढा रहेको एक विद्यालयकी प्रधानाध्यापिका जेन ओबिन्चु अर्को शैक्षिक सत्रको तयारीमा व्यस्त रहँदा उनले कसैले ढोका ढकढक्याएको आवाज सुनिन् । ढोकाबाहिर मारुगे उभिएका थिए । उनले राज्यका प्राथमिक विद्यालयहरूबाट निःशुल्क शिक्षा दिने केन्याको नयाँ कानुनबाट आफूले फाइदा लिन चाहेको बताए । जेन सुरुमा अलमलमा परिन् । ८० वर्ष नाघेका ती विद्यार्थीलाई भर्ना लिने या नलिने स्पष्ट हुन सकिनन् । उनी भन्छिन्, “हामीले उनको कुरा मानेनौँ । सिक्नका लागि तिम्रो उमेर गइसक्यो  त्यही भएर उनलाई पन्छाउन मैले उनलाई सन् २००४ को जनवरीमा फेरि आउन भनेँ ।”

तर मारुगेले आशा मारेनन् । “म छक्क परेँ जब सन् २००४ मा विद्यालय खुल्दा उनी मेरो कार्यालयमा आए । उनले विद्यालयको पोसाक लगाएका थिए र झोला बोकेका थिए जसमा कापी र सिसाकलम पनि थियो ।” जेनले एक सातापछि फेरि आउन उनलाई भनिन् तर जब मारुगे फेरि उपस्थित भए, उनले उनीसँग बसेरै कुरा गर्ने निधो गरिन् । अन्ततः उनी विद्यालयमा भर्ना भए । जेनले उनलाई भर्ना गरिन् । शैक्षिक सत्र सुरु भएको पहिलो दिन मारुगे समयमै नयाँ पोसाकसहित विद्यालयमा आए । सिक्ने उनको तत्परताले नयाँ उत्साह निम्त्यायो ।

लाठीको सहाराले हिँड्दै गएर उनी बालबालिकासँग खेल्ने गर्थे । केही वर्षपछि मारुगेले आफ्नो दृढता व्याख्या गरे । “मैले अध्ययन गर्न चाहनुको कारण केन्याका विद्यार्थीहरू र विश्वलाई शिक्षा धनी बन्नु वा अरू कुनै पनि कुराभन्दा बढी महत्वपूर्ण रहेको देखाउनु हो । वास्तविक धन शिक्षित बन्नु हो,” उनले भने । मारुगे अन्य विद्यार्थीसँगै खेलकुदमा पनि सहभागी हुन्थे ।

उनी विद्यालयका प्रमुख छात्र बने । उनको कीर्तिमान गिनिज बुक अफ रेकर्डसमा पनि दर्ता भयो । उनको निधन सन् २००९ मा भयो । त्यसको एक वर्षपछि उनको जीवनमा आधारित चलचित्र ‘द फ्रस्ट ग्रेडर’ बनाइयो ।