• ११ पुस २०८१, बिहिबार

सैँतिस पदक विजेता ‘सुष्मा’

blog

बेनी नगरपालिका–७ स्थित प्रकाश माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा १५ वर्षीय सुष्मा परियार एथलेटिक्स खेलका विधामा प्रतिभाशाली खेलाडी हुन् । एथलेटिक्सका सबै खेलमा सुष्मा अब्बल हुनुहुन्छ । पारिवारिक विपन्नताका कारण विद्यालयले सुष्माको सबै किसिमका शुल्क निःशुल्क गरिदिएको छ । पारिवारिक विपन्नता र समस्यासँग जुधेर सुष्मा खेलकुदमा उदाउँदै हुनुहुन्छ । सुष्माले एथलेटिक्स खेलका सबै विधामा प्रतिस्पर्धामा गरेर अहिलेसम्म ३७ वटा पदक हात पार्नुभएको छ । सुष्मासँग दौड प्रतिस्पर्धा गर्न कसैले सक्दैन । 

शनिबार सम्पन्न भएको बेनी नगरपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सुष्माले तीन स्वर्ण र एक रजत पदक  जित्नुभयो । गत वर्षको जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पनि सुष्माले उत्कृष्ट खेल प्रदर्शन गर्नुभयो । 

शनिबार सम्पन्न भएको नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा दौडतर्फको दुई सय मिटर, एक सय मिटरको रिले र चार सय मिटरको रिले दौडमा सुष्माले तीन स्वर्ण र एक सय मिटरको दौडमा कांस्य पदक जित्नुभयो । बेनी नगरपालिका–३,भकिम्लीवासी सुष्माको आमा मनकुमारी परियारले बेनीमा मजदुरी पेसा गर्नुहुन्छ । 

सुष्माले भन्नुभयो, “खेलकुद क्षेत्रमा लागेर मैले अभिभावकको सपना पूरा गर्नु छ । कक्षा ४ देखि नै म विभिन्न प्रतियोगितामा भाग लिँदै आए, सबै प्रतिस्पर्धामा उत्कृष्ट हुँदै आएको छु  । भविष्यमा नेपाली सेनामा भर्ना भएर देशको सेवा गर्ने सपना छ ।”

सुष्माले जिल्लास्तरीय र प्रदेशस्तरीय खेलमा समेत पदक जितेकी छन् । मेहनत र परिश्रमबाट प्राप्त हुने सफलतालाई गरिबीले छेक्न सक्दैन भन्ने उदाहरण बनेकी सुष्मा भविष्यमा राष्ट्रिय टोलीबाट समेत एथलेटिक्समा खेल्ने लक्ष्य रहेको बताउनुभयो । 

 प्रतियोगितामा पदक जितेर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी र एउटै खेलाडीले धेरै पदक जितेर जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताका लागि सुष्मा छनोट हुनुभएको छ । खेलकुद प्रतियोगितामा भाग लिएर  पदक जित्दा आमा धेरै खुसी हुने गरेको उहाँले बताउनुभयो । 

एथलेटिक्समा प्रतिभाशाली छात्रा सुष्माले अहिलेसम्म ३० भन्दा बढी स्वर्ण जित्दै विद्यालयलाई समेत उपाधि हात पार्न सफलता मिलेको विद्यालयका सहायक प्रधानाध्यापक विनय श्रेष्ठले बताउनुभयो । हरेक विधामा निर्धारित समयमै तीव्र गतिको धावक जस्तै दौडिएर पछिल्लो तीन वर्ष यता सुष्माले विद्यालय र आयोजकसँगै दर्शकलाई समेत चकित पार्दै आउनुभएको छ । 

शब्द/तस्बिर : ठाकुरप्रसाद आचार्य