• २३ वैशाख २०८१, आइतबार

बहुप्रतिभाशाली करूणा

blog

करुणा थुलुङ राई काठमाडौँको धापासीमा रहेको इडेन ब्रिज स्कुलमा कक्षा ८ मा पढ्छिन् विद्यालयको प्रतिभाशाली छात्रा करुणा विद्यालयमा हुने अतिरिक्त क्रियाकलापबाहेक विभिन्न जिल्ला तथा राष्ट्रियस्तरका प्रतियोगितामा पनि सधैँ पहिला हुने गर्छिन् । विद्यालयमा आयोजित स्काउट डान्स प्रतियोगिता, इन्टर स्कुल डान्स प्रतियोगिता र जिल्लास्तरीय चारुमती स्काउट ट्रप प्रतियोगिताको करुणा उत्कृष्ट विजेता हुन् । योबाहेक मिस लिटल आइडल–२०२२ मा उनले उत्कृष्ट डान्सिङ अवार्ड पाएकी थिइन् । 

यसै गरी केही महिनाअघि टोखा नगरपालिकाद्वारा सञ्चालन गरिएको विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा बाल अधिकारको विषयमा गहन तर्क प्रस्तुत गर्दै उनले पहिलो पुरस्कार पाउन सफल भएकी थिइन् । 

प्रधानाध्यापक प्रेम राई परिष्कृतका अनुसार विद्यालयमा आयोजना हुने हरेक प्रकारका कार्यक्रमबाहेक अन्य ठाउँमा आयोजित कार्यक्रममा पनि करुणाले विद्यालयको तर्फबाट केही न केही उपाधि लिएर नै आउने गर्छिन् । त्यस्तै करुणाको अत्यन्तै राम्रो लेखन शैली   छ । अन्तरस्कुलस्तरीय हस्तलेखन प्रतियोगितामा पनि एक सयभन्दा बढी प्रतियोगीलाई पछि पार्दै करुणाले सर्वोत्कृष्ट हस्तलेखनको उपाधि पाएकी थिइन् ।

विद्यालयमा करुणा अन्य विद्यार्थीका लागि पनि प्रेरणादायी छात्रा हुन् । उनी अत्यन्तै अनुशासित र मिलनसार  स्वभावकी छिन् । उनले विद्यालयको तर्फबाट द मोस्ट पङ्चुअल स्टुडेन्ट अफ द इयरको उपाधि पनि पाएकी छिन् । योबाहेक उनले विद्यालयमा आयोजना हुने कविता प्रतियोगिता, बास्केटबल प्रतियोगिता, स्काउटका विभिन्न प्रतियोगितामा समेत भाग लिएर पुरस्कार पाएकी छिन् । अध्ययनसँगै यति धेरै विधामा सफल भएकी करुणा कुनै पनि कामप्रतिको लगाव र मेहनतलाई नै सफलताको सुत्र ठान्छिन् । सानै उमेरमा भए पनि आफ्नो क्षमता बुझेर अघि बढ्ने हो भने सफल हुन सकिने उनको बुझाइ छ ।

प्रस्तुति : लक्ष्मी खतिवडा