• १२ साउन २०८१, शनिबार

लाखौँ खर्चेर बनाइएको संरचना प्रयोगविहीन

blog

तिलाचन पाण्डे

तम्घास, माघ ८ गते । गुल्मीमा ६० लाखको लगानीमा निर्माण भएको थ्रिडी पार्क प्रयोगविहीन बनेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति गुल्मीअगाडि रहेको पार्क प्रयोगविहीन बनेको हो । पार्क निर्माण भएको तीन वर्षसम्म पनि पार्क प्रयोगमा नआउँदा सरकारी लगानी बालुवामा पानीसरह नै बन्न पुगेको छ ।

रेसुङ्गा नगरपालिका र लुम्बिनी प्रदेशको ५०/५० प्रतिशत साझेदारीमा ५५ लाखको लागतमा पार्क निर्माण भएको तीन वर्ष हुँदासमेत प्रयोगविहीन बनेको छ ।  पार्क प्रयोगविहीन हुँदा संरचना बिग्रिएका कारण नगरपालिकाले थप पाँच लाखमा संरचना मर्मत गरेको थियो । पार्कको संरचनामा अहिले बालबालिकाको मनलाग्दी रजाइँ चलेको छ ।

पार्कको संरचनामा बालबालिकाले तोडफोडसमेत गरेका छन् । पार्क प्रयोगविहीन हुँदा र पार्कका संरचनामा तोडफोड हुँदासमेत नगरपालिकाले कुनै चेष्टा दिएको छैन । यसका साथै सरोकारवालाले पनि देखेको नदेख्यै जस्तै गरेका छन् ।

पहिले लाँकुरी मञ्चको नाममा चिनिने सो स्थलको पहिचान नै अहिले गुमेको छ । लामो समय पार्कले आफ्नो पहिचान स्थापित गर्न नसक्नु र संरक्षणमा ध्यान नदिनु दुःखद पक्ष भएको नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले बताउनुभयो । विभिन्न सङ्घ संस्था, सङ्गठन र दलले सरकारको अगाडि उभिएर सरकारलाई नै खबरदारी गर्ने वर्षौंको इतिहास बोकेको लाँकुरी मञ्च भत्काएर नौटङ्की गरिएको आरोप पाण्डेले लगाउनुभयो । पाण्डेले पार्कलाई पहिलेकै लाँकुरी मञ्चमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

 जसले पार्कको परिकल्पना गरेको हो त्यो नै जवाफदेही हुनुपर्ने उहाँको तर्क छ । रेसुङ्गा नगरपालिकाका योजना अधिकृत विनोद मरासिनीले पार्क सञ्चालनको जिम्मा निजी क्षेत्र वा व्यक्तिलाई दिने गरी तयारी गरेको बताउनुभयो । पार्कको अहिलेको अवस्था देख्दा आफूलाई पनि दुःख लागेको बताउँदै उहाँले केही समयभित्रै पार्क सञ्चालनमा ल्याउने बताउनुभयो ।