• १३ साउन २०८१, आइतबार

एउटै वडामा सात करोडको सुन्तला

blog

राधा लुइटेल

फिदिम, माघ ८ गते । पाँचथरको फाल्गुनन्द–७ का लीलावल्लभ नेपालले १४ रोपनीमा चार सय बोट सुन्तला रोप्नुभएको छ । त्यसमध्ये यस वर्ष २५० बोटमा फलेका सुन्तलाबाट साढे नौ लाख रुपियाँ आम्दानी भएको उहाँले बताउनुभयो ।

यस वर्ष उत्पादनसँगै मूल्य पनि बढेको उहाँ सुनाउनुहुन्छ । वर्षौंदेखि सुन्तला खेती गर्दै आउनुभएका मचिन्द्र आङ्देम्बे पनि पालिकाले वडालाई पकेट क्षेत्र घोषणा गरेर किसानलक्षित कार्यक्रम सुरु गरेपछि झनै हौसिनुभएको छ । एक पटक रोपेपछि २० देखि ३० वर्षसम्म फल्ने भएकाले रोग, किराको उपचार र सामान्य गोडमेल गर्दा राम्रो आम्दानी लिन सकिने उहाँ बताउनुहुन्छ । 

लीलावल्लभ र मचिन्द्र जस्तै यो वडाका प्रत्येक घरपरिवारले व्यावसायिक रूपमा सुन्तला रोपेर बिक्री गर्दै आएका छन् ।

अनुकूल वातावरण र हावापानी रहेका कारण गाउँपालिकाले वडा नम्बर ७ लाई सुन्तला पकेट क्षेत्र घोषणा गर्दै किसानलक्षित अभियान सुरु गरेपछि ऊर्जा थपिएको किसान बताउँछन् ।

सुन्तला पकेट क्षेत्र घोषणा गरेको गाउँपालिकाले यहाँका सबै वडामा माटो र पानी सुहाउँदो अन्न र तरकारी बाली प्रवर्धनको नीति ल्याएको छ । जसमा किसानलाई बिउ पुँजी र प्राविधिक ज्ञान हस्तान्तरणसँगै उत्पादन भण्डारण गर्ने सुविधा उपलब्ध गराउनेसम्मका कार्यक्रम समेटिएको गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे बताउनुहुन्छ ।

कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार पाँचथरमा ९५९ हेक्टरमा सुन्तला खेती हुन्छ । जसको एक तिहाइभन्दा धेरै हिस्सा फाल्गुनन्द गाउँपालिकाले लिएको छ । फाल्गुनन्दको वडा नम्बर ७ बाट मात्रै यो वर्ष साढे सात करोड रुपियाँको सुन्तला खरिद गरेको व्यवसायी निर्मल अधिकारीले बताउनुभयो ।

सुन्तला पाकेर यतिबेला बगान पहेँलपुर छन् । यहाँको एउटै वडामा दुई सयभन्दा धेरै किसानले फलाएका सुन्तला झापाको बिर्तामोड, सुनसरीको इटहरी हुँदै काठमाडौँसम्मका व्यापारीले बगैँचा नै कबुलेर खरिद गर्ने भएकाले बजारको समस्या नरहेको किसानको टिप्पणी छ ।