• ८ असार २०८१, शनिबार

शरणार्थी च्यालेन्ज कप फागुनमा

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, माघ ६ गते । राइजिङ ब्रदर्स सुजना छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता-२०२४ फागुन १० गतेदेखि हुने भएको छ ।

प्रतियोगिता मोरङको पथरीशनिश्चरे १० स्थित प्रस्तावित नगर रङ्गशालामा हुनेछ । युवा मैत्री केन्द्र पथरीशनिश्चरे १० र शरणार्थी शिविर व्यवस्थापन समितिको संयुक्त आयोजनामा हुने प्रतियोगितामा कोशी प्रदेशका उत्कृष्ट नौ र भारतको एउटा गरी १० टिमले सहभागिता जनाउने छन् । 

फुटबल टिम व्यवस्थापन समितिका संयोजक दीपक राईका अनुसार पश्चिम बङ्गाल भारतको कञ्चनजङ्घा फुटबल क्लब, बेलबारी फुटबल क्लब, बिर्तामोड युनाईटेड झापा, फेयर क्लब धरान सुनसरी, वीवाइसी वेलडाँगी दमक, पथरी फुटबल क्लब, रारा क्लब धनकुटा,  डाँगीहाट फुटबल क्लब मोरङ, सशस्त्र प्रहरी बल पकली सुनसरी र वाइएफसी पथरीले प्रतियोगितामा भाग लिनेछन्  ।

प्रतियोगिताका  विजेताले  २ लाख १ रुपियाँ सहित च्यालेन्ज कप प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद १ लाख १ हजार रुपियाँसहित प्रमाणपत्र प्राप्त गर्नेछ । हरेक खेलमा म्यान अफ दी म्याच घोषित हुने खेलाडीलाई ३ हजार रुपियाँ प्रदान गरिनेछ । 

यसैगरी फाइनल खेलको दिन गोल्डेन बुट, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरर्वाड, उत्कृष्ट मिडफिल्डरलाई जनही ५ हजार रुपियाँ प्रदान गरिनेछ । फुटबल खेलको राइजिङ ब्रदर्स र सुजना डान्स सेन्टरले प्रायोजन गर्ने भएका छन् ।

फुटबल खेल सम्पन्न गर्न २२ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । शरणार्थी र स्थानीय बासिन्दाबिच सम्बन्ध स्थापना गर्न हरेक वर्ष विभिन्न सङ्घ संस्थाले मोरङको पथरीशनिश्चरे र झापाको दमकमा फुटबल खेल हुँदै आएको छ ।