• १३ साउन २०८१, आइतबार

ग्रान्डमास्टर महर्जन अन्तर्राष्ट्रिय रेफ्रीको प्रथम श्रेणी ‘एस’ वर्गमा पदोन्नति

blog

ग्रान्डमास्टर दिवाकर ’डान’ महर्जन ।

काठमाडौँ, माघ ६ गते । ग्रान्डमास्टर दिवाकर डान’ महर्जन विश्व तेक्वान्दो मुख्यालय (डब्लुटी) अन्तर्राष्ट्रिय रेफ्रीको प्रथम श्रेणी एस’ वर्गमा पदोन्नति हुनुभएको छ ।

तेक्वान्दोको हेडक्वाटर दक्षिण कोरियाद्वारा अन्तर्राष्ट्रिय रेफ्रीलाई प्रदान गरिएको यो सबैभन्दा विशिष्ट श्रेणी हो । महर्जन करिब तीन दशक देखि अमेरिकाको ओरिगन राज्यको पोर्टल्याण्ड ‘युएस वल्डक्लास तेक्वान्दो हलिउड’ स्कुल सञ्चालन गर्दै आउनुभएको छ । अमेरिकामा तेक्वान्दो स्कुल स्थापना गर्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ ।

तेक्वान्दोमा डब्लुटीको मान्यता प्राप्त अन्तर्राष्ट्रिय रेफ्री प्रथम श्रेणी एस वर्ग (विशेष श्रेणी) मा पदोन्नति हुन कम्तीमा १० वर्ष निरन्तर यो क्षेत्रमा काम गरेको हुनुपर्छ । यसैगरी कम्तीमा १५ पटक रिफ्रेसर कोर्स पुरा गर्नु पर्ने हुन्छ ।

सन् १९९५ देखि अमेरिकामा तेक्वान्दो प्रशिक्षक रहँदै आएका महर्जन सन् १९९९ एडमन्टन क्यानडामा पहिलो पटक अन्तर्राष्ट्रिय रेफ्री बन्नुभएको थियो । नेपालमा भने उहाँले सन् १९८८ देखि राष्ट्रिय रेफ्रीको भूमिका निर्वाह गर्नुभएको थियो ।

सन् २०२३ मा महर्जनले तेक्वान्दोमा दोहोरो आठौँ डान प्राप्त गर्नुभएको थियो  उहाँ दोहोरो आठौँ डान पाउने पहिलो नेपाली हुनुहुन्छ । कोरियाको तेक्वान्दो मुख्यालय कुक्किवानबाट आठौँ डान तेक्वान्दो ब्ल्याक बेल्ट, कोरियाली मार्सल आर्ट्स फेडेरेसन कोरियाबाट हाप्किडोमा आठौँ डान ब्ल्याक बेल्ट र लाइफ टाइम अचिभमेन्ट प्राप्त गर्नुभएको थियो ।

उनी अघिल्लो वर्ष अमरेकी राष्ट्रपतिद्वारा आआफ्नो क्षेत्रबाट समाजलाई उल्लेख्य योगदान प्रदान गरे बापत दिइने प्रेसिडेन्ट अवार्डबाट सम्मानित हुनुभएको थियो । यसैगरी सन् २०१५ मा प्यानम ओपन च्यापियनसिपमा बेष्ट रेफ्रि अवार्ड पाउनुभएको थियो ।

महर्जन गैर नाफामूलक संस्था अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को संस्थापक तथा बोर्ड निर्देशक पनि हुनुहुन्छ । महर्जनले निरन्तर तेक्वान्दोमा आफ्नो कर्म गरिरहेकोले सायद आज त्यसैको प्रतिफल पाएको हुँ, भन्नुभएको छ ।