• १३ साउन २०८१, आइतबार

दुर्गमका बासिन्दालाई एम्बुलेन्स सुविधा

blog

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स ।

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ ६ गते । ताप्लेजुङको दुर्गम भेगका बासिन्दाले पछिल्लो समय गाउँगाउँबाट एम्बुलेन्स सेवा पाउन थालेका छन् । सम्बन्धित स्थानीय तहको पहलमा एम्बुलेन्स खरिद हुन थालेपछि दुर्गम भेगका बासिन्दा वा बिरामीले आफ्नै गाउँबाट एम्बुलेन्स सुविधा पाउन थालेका हुन् ।

स्थानीय तहहरूले गाउँगाउँमा एम्बुलेन्स भित्र्याएपछि बिरामीलाई जिल्ला अस्पताल पुर्‍याउन र अन्यत्र उपचारमा लैजानका लागि दुर्गमका बासिन्दालाई सहज भएको छ । यसै क्रममा भर्खरै यहाँको मिक्वाखोला गाउँपालिकाले पनि दुई वटा एम्बुलेन्स खरिद गरेको छ । गाउँपालिका अन्तर्गत निर्माणाधीन मध्यमेवा जलविद्युत आयोजना र सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत एम्बुलेन्स खरिद गरिदिएका हुन् ।

करिब २४ लाख रुपियाँ दरको लागतमा दुई वटा एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार खरिद गरिएको एम्बुलेन्स गाउँपालिकामा ल्याइसकिएको र शनिबारदेखि औपचारिक रूपमा सेवा प्रवाह गर्न सुरु गरिएको गाउँपालिकाले गरेको छ । 

गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको थलङस्थित साँवा स्वास्थ्य चौकी र वडा १ स्थित खोक्लिङ स्वास्थ्य चौकीमार्फत एम्बुलेन्स सञ्चालनमा ल्याउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । जलविद्युत आयोजनाको सहयोगमा खरिद गरिएको एम्बुलेन्सहरूको इन्स्योरेन्सको खर्च भने गाउँपालिकाले ब्यहोरेको गाउँपालिका अध्यक्षका स्वकीय सचिव थापाले जानकारी दिनुभयो ।

यसअघि जिल्लाकै दुर्गम स्थानीय तहको रूपमा रहेका फक्ताङ्लुङ गाउँपालिकाले पनि केही समय अघिमात्र दुई वटा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको छ । त्यस्तै सिदिङ्वा गाउँपालिका, मैवाखोला गाउँपालिका, मेरिङ्देन गाउँपालिका, पाथीभरा याङ्वरक गाउँपालिका लगायतका स्थानीय तहहरूले पनि एम्बुलेन्स खरिद गरी गाउँगाउँबाट सेवा सञ्चालनमा ल्याएका छन् ।