• १३ साउन २०८१, आइतबार

‘रेड सी’ सङ्कटको सप्ताह

blog

दुबई, माघ ५ गते । विद्रोहीको कब्जामा रहेको यमनी क्षेत्रमा अमेरिका र बेलायतले गरेको हवाई आक्रमणले ‘रेड सी’ क्षेत्र वरपर तनाव बढेको छ । ‘रेड सी’ मा  जहाँ इरान समर्थित यमनी हुथी विद्रोहीहरूले इजरायलसँग सम्बन्धित मानिएको पानीजहाजमा आक्रमण गरिरहेका छन् ।

हमासविरुद्ध इजरायलको युद्धको विरोधमा हुथी आक्रमणले व्यापारिक रूपमा महत्त्वपूर्ण मार्गमा ढुवानीमा बाधा पुर्‍याएको छ । ‘रेड सी’ मार्ग हुँदै सामान्यतया विश्वव्यापी समुद्री व्यापारको लगभग १२ प्रतिशत कारोबारका लागि आवागमन हुने गर्छ ।

जनवरी १२ मा अमेरिकी र बेलायती सेनाले विद्रोहीको कब्जामा रहेको यमनका १६ स्थानमा ६० हुथी क्षेप्यास्त्र र राडारको लक्ष्यमा आक्रमण गरेको अमेरिकी सेनाले जनाएको छ ।

हुथी अधिकारीहरूका अनुसार उक्त आक्रमणमा पाँच जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएका थिए । त्यसको बदलामा हुथी विद्रोहीले क्षेप्यास्त्र प्रहार गरेका थिए तर कुनै पनि हतियार लक्ष्यमा प्रहार हुन नसकेको अमेरिकी अधिकारीले बताएका छन् । रातभरको आक्रमणपछि विद्रोहीहरूले अमेरिकी र बेलायती स्वार्थलाई ‘वैध निशाना’ को आक्रमण भनेका छन् ।

दोस्रो दिन अर्थात् जनवरी १३ मा हुथी विद्रोहीले ‘रेड सी’ मा रहेका जहाजमाथि आक्रमण जारी राख्ने चेतावनी दिएपछि अमेरिकी सेनाले राजधानी सानास्थित विद्रोहीको अल–दैलामी हवाइ शिविरमा अर्को अमेरिकी आक्रमण गर्ने जनाएको छ भने १४ जनवरी मा अमेरिकी सेनाले ‘यूएसएस लाबुन” क्षेप्यास्त्रमाथि प्रहार गरिएको हुथी क्रुज क्षेप्यास्त्र खसालेको छ ।

जनवरी १५ मा हुथी क्षेप्यास्त्रले रेड सीको दक्षिणमा रहेको एडेनको खाडीमा अमेरिकी स्वामित्वको मालवाहक जहाज जिब्राल्टर ईगललाई ठक्कर दिएको थियो भने १६ जनवरी मा अमेरिकाले हुथी नियन्त्रित यमनबाट प्रक्षेपण गर्न तयार पारिएका चार वटा जहाजभेदी ब्यालेस्टिक क्षेप्यास्त्र नष्ट गरेको थियो । यसको प्रतिक्रियामा हुथी क्षेप्यास्त्रले रेड सीमा चलिरहेको ग्रीसको स्वामित्वमा रहेको माल्टाको ध्वजावाहक जहाजलाई आक्रमण गर्दा जहाजमा सामान्य क्षति भएको तर कुनै पनि मानवीय क्षति भएको थिएन ।

जनवरी १७ मा हुथी ड्रोनले अमेरिकी स्वामित्वको जेन्को पिकार्डीमा आक्रमण गर्दा जहाजमा सामान्य क्षति भएको दावी आक्रमणकारी समूहले गरेको भए पनि अमेरिकी सेन्ट्रल कमाण्डले कुनै क्षति नभएको जनाएको थियो । त्यसपछि अमेरिकी सेनाले हुथी नियन्त्रित यमनबाट १४ वटा क्षेप्यास्त्र खसालेको थियो ।

जनवरी १८ मा हुथी विद्रोहीले एडेनको खाडीमा रहेको अमेरिकी मालबाहक जहाजमा ‘सिधा प्रहार’ भएको दाबी गरे पनि अमेरिकी सेनाले भने क्षेप्यास्त्र छुटेको दाबी गरेको छ । अमेरिकाले पनि रेड सीमा प्रक्षेपणका लागि तयार पारिएका दुई जहाजभेदी क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । रासस/एएफपी