• १३ साउन २०८१, आइतबार

तुलसी–चन्द्र पुरस्कार प्रदान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ५ गते । तुलसीराम पाण्डे र चन्द्रकला पाण्डेको स्मृतिमा स्थापना गरिएको तुलसी–चन्द्र सम्मान र पुरस्कारबाट बिहीबार दुई स्रष्टालाई राजधानीमा सम्मान गरिएको छ । तुलसी–चन्द्र स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा खगेश्वर गौतमद्वारा रचित ‘महर्षि पाणिनि काव्य’ लाई पन्ध्र हजार रुपियाँसहित तुलसी–चन्द्र पुरस्कार र   गायक/सङ्गीतकार, निर्माता नारायण रायमाझीलाई तुलसी–चन्द्र सम्मानसहित नगद दस हजार रुपियाँ प्रदान गरियो । प्रतिष्ठानका सचिव हेमराज पाण्डेले आफ्ना हजुरबुवा तुलसीराम र हजुरआमा चन्द्रकलाको पुण्य स्मृतिमा अक्षयकोषसहितको प्रतिष्ठान स्थापना गरी सो पुरस्कार प्रदान गरिँदै आएको छ । 

कार्यव्रmममा प्राडा भागवत ढकालले सम्मानित र पुरस्कृत व्यक्तित्वद्वयको चर्चा गर्दै खगेश्वर गौतमले नेपाली व्याकरणका प्रणेता मानिने पाणिनिको जीवनी, अर्घाखाँचीको सिङ्गो परिवेशको विभिन्न छन्दमा लेखेर पाणिनि र अर्घाखाँचीलाई पुनः चर्चामा ल्याउन सफल भएको बताउनुभयो । 

सम्मानित व्यक्तित्व नारायण रायमाझीले रहरै रहरमा लोकगीत, सङ्गीतको क्षेत्रमा लाग्दा आफूले यसरी सम्मान पुरस्कार पाउँछु भन्ने नसोचे बताउनुभयो । उहाँले प्राप्त गर्नुभएको सम्मान राशि दस हजार रुपियाँ सो प्रतिष्ठानको अक्षयकोष वृद्धिका लागि पुनः प्रतिष्ठानलाई नै प्रदान गर्नुभयो ।  

त्यसै गरी पुरस्कृत कृति महर्षि पाणिनि काव्यका रचनाकार खगेश्वर गौतमले पुरस्कारस्वरूप प्राप्त रकम पन्ध्र हजार रुपियाँ तुलसी–चन्द्र प्रतिष्ठानको आजीवन सदस्य लिन पुनः प्रतिष्ठानलाई नै हस्तान्तरण गरेको जानकारी दिनुभयो । 

कार्यक्रममा प्राडा होमनाथ भट्टराईले काव्यमा पाणिनि अर्घाखाँचीमै आएर तपस्या गरेको लगायतका प्रसङ्गलाई प्रमाणित गर्न तथ्यसहितको प्रसङ्ग उल्लेख गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका अध्यक्ष युवराज पाण्डेले पाणिनिले अर्घाखाँचीमै तपस्या गरेको तथ्य योगी नरहरिनाथले रचना गर्नुभएको पुस्तक देश–दर्शनमा प्रसङ्ग उल्लेख गरिएको भेटिएको चर्चा गर्नुुभयो ।