• १३ साउन २०८१, आइतबार

रगत सङ्कलन गर्न घुम्ती बस

blog

धरान समाचारदाता 

धरान, माघ ४ गते । गैरआवासीय नेपालीले कोशी प्रदेश सरकारलाई रगत सङ्कलन घुम्ती बस सेवा हस्तान्तरण गरेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले कोशी प्रदेशलाई लक्षित गर्दै नेपाल रेडक्रस सोसाइटी धरान सुनसरीबाट प्रदेशभरि सञ्चालन हुने गरी बस उपलब्ध गराएको हो । सङ्घका अध्यक्ष डा. बद्री केसीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई बसको साँचो हस्तान्तरण गर्नुभएको हो ।

बुधबार नेपाल रेडक्रस सोसाइटी सुनसरीले धरानमा आयोजना गरेको कार्यक्रममा कोशी  प्रदेशका मुख्यमन्त्री कार्कीले यस्तो आधुनिक सेवा उपलब्ध गराएकोमा गैरआवासीय नेपाली सङ्घ (एनआरएन) लाई धन्यवाद दिँदै कोशी प्रदेशको  सबै जिल्लामा लागु हुने गरी बसको सही सदुपयोग गर्ने आग्रह गर्नुभयो । रगत सङ्कलन घुम्ती बस सेवामा बाटोमा जाँदाजाँदै पनि रक्तदान गर्न सकिन्छ भने आवश्यक भएकालाई रगत चढाउन पनि सकिने उहाँले बताउनुभयो । उहाँले अहिले केही नेपाली रहर र केही बाध्यता विदेशिने गरेको भन्दै विदेशमा बसेर नेपालीलाई चन्दा दिनुभन्दा स्वदेशमा लगानी गरेर उद्यम सिर्जना गर्न आग्रह गर्नुभयो ।

‘एक घर, एक रक्तदाता’ भन्ने मूल नाराका साथ घुम्ती बसमार्फत रक्तदाताको घरमै गएर रगत सङ्कलन गर्ने जनाइएको छ । बसभित्र दुई वटा श-या रहेका छन् । रक्तदाताहरूले आफू भएकै क्षेत्रमा बस बोलाई रक्तदान गर्न सक्ने छन् । अहिलेसम्म रक्तदाता रक्तसञ्चार केन्द्रमा पुगेर वा विभिन्न सङ्घ-संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा गएर रक्तदान गर्थे । 

सङ्घका अध्यक्ष केसीले देश छोडेर विदेशी भूमिमा बस्नु आफूहरूको बाध्यता भए पनि आफूहरूको पसिनाको एक एक पैसा भए पनि संसारभर रहेको गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले जम्मा गरेर यो बस सहयोग गरेको अध्यक्ष केसीले बताउनुभयो । नेपालका सात वटै प्रदेशमा यो बसको सेवा पु-याउने लक्ष्य रहेकाले अब अन्य प्रदेशमा समेत हस्तान्तरण गर्ने उहाँले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जीविकोपार्जनका लागि वैदेशिक रोजगारमा गएर दुःख गरे पनि देशलाई माया गरेर देशको अभावलाई बुझेर सहयोग गरेकोमा गैरआवासीय नेपाली सङ्घ (एनआरएन) प्रति आभार प्रकट गर्नुभयो ।