• १३ जेठ २०८१, आइतबार

पोखरेलीको धारामा चाँडै सफा पानी

blog

फडिन्द्र अधिकारी 

लेखनाथ, माघ २ गते । पोखरा खानेपानी सुधार आयोजनाको काम ९५ प्रतिशत सकिएको छ । चाँडै पोखरेलीको धाराबाट पहिलेभन्दा सफा पानी झर्ने पक्का भएको छ । 

यसअघि करिब १२ किलोमिटर टाढाको मर्दीखोलाको पानी सिधै धारामा आउँथ्यो । हिलो, फोहोरसमेत नछानी आएको खानेपानीबारे पोखरेलीले बारम्बार गुनासो गर्थे । करिब साढे चार अर्ब लागतको यो खानेपानी आयोजना मेलम्चीपछि देशको दोस्रो ठुलो हो । आयोजनाले पानीको चुहावट घटाउने, आपूर्तिको प्रेसर व्यवस्थापन, आम्दानी नहुने पानीको अनुपात घटाउने, सङ्कलन बढाउने र आपूर्ति प्रभावकारी बनाउने लक्ष्य लिएको छ । 

आयोजना प्रमुख इन्जिनियर आशिष कार्की मर्दीमा प्रशोधन प्लान्ट बनेपछि पोखरामा आउने पानीमा पहिलेभन्दा ८० प्रतिशत हिलो, माटो कम भइसकेको बताउनुहुुन्छ । गएको डिसेम्बरसम्म म्याद रहेको आयोजनाको अवधि छ महिना थपिँदै छ । थपिने समयभित्रै सबै काम सकिने कार्कीको भनाइ छ । 

उहाँले भन्नुभयो, “सामान आउनेबित्तिकै १०/१५ दिनमै काम सकिने अवस्था छ । करिब दुई किमी पाइपलाइन विस्तार, रोड काटिएका ठाउँमा पिच गर्न बाँकी छ ।” आयोजना बनिसकेपछि छ महिना परीक्षण गरिने छ । परीक्षणपछि आयोजना खानेपानी संस्थान पोखरा शाखालाई हस्तान्तरण हुने छ । 

खानेपानी भण्डारण गर्न २० लाख लिटरका तीन वटा ट्याङ्की निर्माण गर्ने योजना थियो । फूलबारी र पस्र्याङमा ठुला ट्याङ्की बनिसकेका छन् भने कोलपाटनमा बन्दै गरेको काम भने रोकिएको छ । यो ट्याङ्की नबन्दा पोखराका चार वडाको खानेपानी वितरण प्रभावित हुने जोखिम छ ।

सन् २०२५ भित्रै दैनिक साढे चार करोड लिटर पानी पोखरामा वितरण गर्ने लक्ष्य छ । यसका लागि मुख्य र भित्री सडकमा गरी १११ किलोमिटर लामो पाइपलाइन विस्तार भएको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका) ले नेपाल सरकारलाई अनुदानमा बनाइदिएको यो आयोजनाको रकम खानेपानी संस्थानले भने ऋणका रूपमा सरकारलाई तिनु पर्छ । २०७६ साल जेठ २८ मा शिलान्याश भएको यो आयोजना तीन वर्षमा सक्ने लक्ष्य राखिएको थियो ।  प्रशोधन प्लान्ट निर्माण, वितरण प्रणाली सुधार, चुहावट नियन्त्रणमा ध्यान दिइए पनि मुहान संरक्षणका लागि अझै काम भएको छैन । मर्दीको खानेपानी मुहानभन्दामाथि अहिले पनि खोलाबाटै गाडी वारपार गर्छन् । गाईवस्तु आहाल बस्ने, फोहोरसमेत फाल्ने गरिएको यो क्षेत्रमा हिउँदमा नदीजन्य पदार्थ उत्खननसमेत हुन्छ । 

खानेपानीको गुणस्तर सुधार्न मुहान सार्न, आवश्यक सुरक्षाका उपाय अपनाउन सरोकारवालाले आवाज उठाइरहेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको अगुवाइमा छ स्थानमा शव दहन स्थल बनाएपछि खोलैमा शव दहन भने रोकिएको छ । सङ्घबाट यसको नेतृत्व गर्नुभएका यदुनाथ अधिकारी खानेपानीको मुहान बस्तीबाटमाथि नसार्दासम्म सफा पानी आपूर्ति नहुने बताउनुहुन्छ । यता, मुहान रहेको स्थानको माछापुच्छ्रे गाउँपालिकाले पानी प्रयोगबापत निश्चित राजस्व पाउनुपर्ने माग राख्दै आएको छ ।