• १३ साउन २०८१, आइतबार

मुकाम तोक्न सकस

blog

अमरगढी समाचारदाता

डडेलधुरा, माघ २ गते । भारतसँग सीमा जोडिएको भागेश्वर गाउँपालिकाले सदरमुकाम तोक्न सकेको छैन । गाउँपालिकाको मुकाम कहाँ राख्ने भन्ने विषयमा टुङ्गो लगाउन नसक्दा जनप्रतिनिधिको आलोचना बढ्दै गएको छ । 

मुकामको नै टुङ्गो लगाउन नसक्ने पालिकाका जनप्रतिनिधिले अरू विकासका काम कसरी गर्न सक्लान् र भनेर स्थानीयले चर्काे आलोचना गरेका छन् । गाउँको सिंहदरबार कहाँ स्थापना गरेर सेवा दिने भन्ने सङ्घीयता लागु भएको सात वर्षसम्म पनि टुङ्गो नलाग्दा भागेश्वर गाउँपालिकावासीमा अन्योल रहेको स्थानीयको गुनासो छ । 

तत्कालीन तीन वटा गाउँ विकास समिति बगरकोट, भागेश्वर र रुपाललाई गाभेर भागेश्वर गाउँपालिका स्थापना गरिएको थियो । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि भागेश्वर गाउँपालिका–४ मा परेको बगरकोटलाई नै अस्थायी मुकाम बनाई हालसम्म कार्यसम्पादन गरिँदै आएको छ । 

सदरमुकामबारे छलफल गर्न वडा नम्बर ४ को कार्यालय बगरकोटमा गरिएको छलफलमा मुकाम सार्ने विषयमा भएका पटक पटकका छलफल बैठकमा स्थानीयले ढुङ्गामुढासमेत प्रहार भएको घटना स्थानीय मानबहादुर ठकुराठीले सम्झिनुभयो । विसं २०७५ पुस १३ गते तत्कालीन गाउँ सभाले गाउँपालिकाको मुकाम तीन वटै गाउँपालिकाको सिमाना जोडिएको क्षेत्र टप्वा वा गुवाडीमा तोक्ने निर्णय भएको जानकारी स्थानीय दीपक महताले बताउनुभयो । 

भागेश्वरका सबै क्षेत्रका स्थानीयको पायक पर्ने क्षेत्र सो क्षेत्र नै भएकाले गाउँ सभाले गरेको निर्णय कार्यान्वयन गर्न उहाँले हालका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । सोही विषयमा भएको एक छलफल कार्यव्रmममा वडा नम्बर १, २, ३ र ५ का स्थानीयले गाउँ सभाले निर्णय गरेको टप्वा र गुवाडी क्षेत्रमा मुकाम तोक्ने भनेर गरेको निर्णय लागु गर्नुपर्ने मत राखेका छन् । 

वडा नम्बर ४ का स्थानीयले भने सो क्षेत्रमा जङ्गल भएकाले सेवासुविधा प्रवाह गर्न नसकिने भन्दै मुकाम तोक्न सकिने मापदण्डको पालना गर्नुपर्ने सुझाव राख्नुभयो । सुरक्षा, खानेपानीलगायतका अन्य सेवासुविधाको ख्याल गरेर गाउँपालिकाको मुकाम तोकिनुपर्ने वडा नम्बर ४ वासीको भनाइ थियो । स्थानीय रामबहादुर ठकुराठीले चुनावका वाचा र गाउँ सभाले गरेको निर्णय लागु गर्नुपर्ने बताउनुभयो । हाल गाउँपालिकामा नेपाली कांग्रेसको स्पष्ट बहुमत रहेको उल्लेख गर्दे उहाँले राय सुझाव, छलफल गर्नुभन्दा पनि चाँडो मुकामको टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।