• १८ असार २०८१, मङ्गलबार

जिल्लामा सञ्चालित प्रदेशका आयोजना अलपत्र

blog

नवराज श्रेष्ठ 

रामेछाप, माघ २ गते । रामेछापको मन्थली नगरपालिका र जिल्लामा सञ्चालित प्रादेशिक तथा सङ्घीय कार्यालयबिच आयोजनाहरूमा दोहोरोपना हुन नदिने गरी विभिन्न निर्णय गरिएको छ । नगरपालिकाले जिल्लामा सञ्चालनमा रहेका प्रादेशिक तथा सङ्घीय कार्यालयसँग विकास आयोजनाको सञ्चालन र निर्माणको विषयमा जानकारी पनि लिएको छ । 

प्रादेशिक र सङ्घीय कार्यालयमार्फत सञ्चालन हुने विकास आयोजनाका बारेमा जानकारी लिई आयोजनामा दोहोरोपना आउन नदिन विभिन्न निर्णय गरिएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईंले बताउनुभयो । 

जिल्लाका सबै प्रादेशिक र सङ्घीय कार्यालय र नगरपालिकाबिच आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कार्यक्रम छनोट गर्नुपूर्व समन्वय बैठक बसी कार्यक्रमको दोहोरोपना हुन नदिन र आवश्यकतालाई प्राथमिकता गरी कार्यक्रम छनोट गर्ने पद्धतिको विकास गर्ने सहमति भएको समेत उहाँले बताउनुभयो, “उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिने आयोजनाको उपभोक्ता समिति गठन गर्नुपूर्व नै आयोजनाका बारेमा प्रादेशिक र सङ्घीय कार्यालयले नगरपालिकालाई औपचारिक रूपमा जानकारी गराउने सहमति भएको छ,” उहाँले भन्नुभयो ।

मन्थली नगरपालिकामा बागमती प्रदेश सरकारको विभिन्न आयोजना अलपत्र अवस्थामा छन् । मन्थली नगरपालिका–२, भुत्याहा खोला किनारमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको छ करोड ५७ लाख ९२ हजार ८८० रुपियाँको लगानी रहेको बहुउद्देश्यीय कभर्डहल लामो समयदेखि अलपत्र अवस्थामा छ । २०७८ पुस महिनामै निर्माण सम्पन्न भई हस्तान्तरण हुनुपर्ने कभर्ड हलको काम लामो समयदेखि बन्द छ । 

मन्थली नगरपालिका–१, सानीमदौमा झन्डै चार वर्षअगाडि निर्माण सुरु भएको चिस्यान केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन । प्रदेश सरकारको पाँच करोड र मन्थली नगरपालिकाको दुई करोड १० लाख रुपियाँको साझेदारीमा निर्माण भएको यो चिस्यान केन्द्र पाँच सय मेट्रिक टन क्षमताको छ । निर्माण सम्पन्न भई परीक्षणसमेत भइसकेको यो चिस्यान केन्द्र सञ्चालन भने हुन सकेको छैन । 

सदरमुकाम मन्थली–८ बाट चिसापानी र वडा नं ९ पुरानागाउँ जोड्ने मन्थली–चिसापानी–पुरानागाउँ सडक कालोपत्रेको काम पनि लामो समयदेखि भद्रगोल अवस्थामा छ । यो सडक २०७८ पुस २५ गते कालोपत्रे सम्पन्न गर्ने गरी कान्छाराम कन्स्ट्रक्सनले २०७७ साल असार २६ गते ठेक्का सम्झौता गरेको थियो । 

प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको १७ करोड ८८ लाख ६१ हजार ८८० रुपियाँ लगानीबाट मन्थली नगरपालिका–८ को जखनीटारदेखि मन्थली नगरपालिका–९, पुरानागाउँ जोडिने कुल ७.३६ किलोमिटर सडकको नालासहित कालोपत्रे गर्ने ठेक्का कान्छाराम 

कन्स्ट्रक्सनले पाएको थियो । निर्माण कम्पनीले गत आव २०७९/८० को अन्तिममा यो सडकमा कालोपत्रे गर्ने काम थालेको थियो । निर्माण कम्पनीले वडा नं ८ चिसापानीको साबिक वडा नं ३ देखि वडा नं ५ चिसापानीसम्मको सडकमा कालोपत्रे गरेपछि गत वर्ष रोकिएको काम अझै सुरु हुन सकेको छैन । 

नगरपालिकाभित्र समयमै काम सम्पन्न नहुँदा अलपत्र अवस्थामा रहेका प्रदेश सरकारद्वारा सञ्चालित ठुला योजनाका बारेमा नगरपालिकाले सम्बन्धित निकायमा ताकिता गरिरहेको मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “सदरमुकाममै यसरी आयोजना अलपत्र पर्नु दुःखद कुरा हो । 

यस विषयमा नगरले आफ्नो तर्फबाट ताकिता गरिरहेकै छ । प्रदेश सरकार र नगरपालिकाको ६०-४० प्रतिशत साझेदारीमा निर्माण भएको चिस्यान केन्द्रलाई ६०-४० प्रतिशतकै लागत साझेदारीमा सञ्चालन गर्न प्रदेश सरकारलाई पुनः अनुरोध गर्ने निर्णय भएको छ ।” 

गत वर्षबाट काम रोकिएको सदरमुकाम मन्थलीबाट वडा नं ८ चिसापानी र वडा नं ९ पुरानागाउँ जोड्ने मन्थली–चिसापानी–पुरानागाउँ सडक कालोपत्रे योजना चाँडो सक्ने बारेमा निर्माण कम्पनीसँग कुराकानी भइरहेको र काम सुरु गर्ने प्रतिबद्धता आएको उहाँको भनाइ छ । 

नगरपालिकाभित्र सञ्चालन हुने योजनालाई गुणस्तरीय रूपमा समयमै सम्पन्न गर्न पछिल्लो समय जिल्लामा रहेको प्रादेशिक र सङ्घीय कार्यालयबिच कार्यक्रमहरू छनोटको चरणदेखि सम्पन्न नभएसम्म नगरपालिका-वडासँग समन्वय गरेर कार्यक्रम कार्यान्वयन गर्ने सहमति भएको उहाँको भनाइ छ ।