• १३ साउन २०८१, आइतबार

सूचना अधिकारी व्यवस्था गर्न निर्देशन

blog

बनेपा समाचारदाता

बनेपा, माघ २ गते । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित सबै सेवाप्रदायक कार्यालयमा सूचना अधिकारीको व्यवस्था गर्न तदारुकता देखाएको छ । जिल्लास्थित कार्यालयले सूचना अधिकारीको व्यवस्था नगरेको गुनासो आएपछि यस्तो व्यवस्था गर्न लागिएको जनाइएको छ ।

जिल्लास्थित कार्यालयका सूचना अधिकारीको आइतबार आयोजित बैठकमा सूचना अधिकारी नतोकिएका कार्यालयलाई तत्काल सूचना अधिकारी तोक्ने निर्देशन दिने निर्णय गरिएको छ । सूचना अधिकारीको बैठकले सूचनाको हकसम्बन्धी ऐनले तोकेको सार्वजनिक निकायको दायित्वबमोजिम नियमित रूपमा प्रकाशन गर्नुपर्ने सूचना सार्वजनिक गर्न कार्यालयलाई निर्देशन दिएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलका अनुसार सबै निकायले सूचना मागको र सूचना प्रवाहको विवरण छुट्टै अभिलेख राखी त्रैमासिक÷वार्षिक रूपमा प्रतिवेदन तयार गरी प्रशासन कार्यालयमा पठाउन निर्देशन दिने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार सूचना अधिकारीको व्यवस्था, सम्पर्क नम्बर, सूचना मागको विवरणलगायत सूचनाको हक कार्यान्वयनको अवस्था एक साताभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पठाउन निर्देशन दिइएको छ । सार्वजनिक निकायमा रहेका सूचनामा नागरिकको पहुँचलाई सहज र सरल तथा प्रभावकारी बनाउन सबै सूचना अधिकारीले प्राथमिकता दिएर काम गर्नसमेत निर्देशन दिइएको छ । स्थानीयस्तरबाट स्थानीय तहको वेबसाइटमा सबै वडाध्यक्ष र वडा सचिवको समेत सम्पर्क नम्बर राख्न स्थानीय तहलाई अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शर्माले सञ्चार माध्यम तथा सञ्चारकर्मीले सूचना माग गरेको खण्डमा कानुनले दिन मिल्ने भनेर उल्लेख गरिएका सूचना तत्काल रूपमा उपलब्ध गराउन निर्देशन दिनुभयो ।

बैठकमा उपस्थित सञ्चारकर्मीले कुनै विषयको सन्दर्भमा स्थानीय तह तथा सार्वजनिक सेवाप्रदायक कार्यालयमा सूचना माग गर्दा सूचना दिनका लागि सूचना अधिकारीले आलटाल गर्ने, थाहा नभएको जवाफ दिने, कार्यालय प्रमुखसँग सोध्नुपर्छ जस्ता जवाफ दिने गरेको गुनासो गरेका थिए । 

सञ्चारकर्मीले अधिकांश सेवाप्रदायक कार्यालयको वेबसाइड नभएको, भएका कार्यालयको वेबवाइड अद्यावधिक नगरिएको, तीन-तीन महिनामा प्रकाशन गर्नुपर्ने प्रगति विवरण सार्वजनिक नगरेको बताएका थिए । रोसी गाउँपालिकाका सूचना अधिकारी इन्जिनियर प्रकाश पौडेलले कतिपय सञ्चार माध्यमले २०७४ साल असार २४ गते सबैभन्दा बढी रकम लिने संस्था, सञ्चार माध्यमको विवरण माग गर्ने गरेको बताउनुभयो । 

उहाँले कतिपय सञ्चार माध्यमले बार्गेनिङ गर्ने मनसायले समेत सूचना माग गर्ने गरेको आरोप लगाउनुभयो । बैठकमा बेथानचोक गाउँपालिकाका सूचना अधिकारी इन्जिनियर ज्ञानप्रसाद तिमल्सिनाले गाउँपालिकामा तीन-चार वर्षपहिलेका जनप्रतिनिधिको इन्धन, गाडी मर्मतलगायतको खर्चको सूचना माग गर्ने गरेको र उक्त सूचनाका बारेमा जानकारी दिन खोज्दा लेखाले फाइल अडिट गरेर कता परेको भन्दै जवाफ दिने गरेको बताउनुभयो ।