• १३ साउन २०८१, आइतबार

२० हजार बढी सवारी साधन कारबाहीमा

blog

जिल्ला ट्राफिक प्रहरी कार्यालयको प्रशासनिक भवन । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा, माघ १ गते । कपिलवस्तुमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ट्राफिक नियमको उल्लङ्घन गर्ने २० हजार ८९९ सवारी साधनलाई कारबाही गरिएको छ । 

छ महिनाको अवधिमा सवारी साधन कारबाहीबाट १ करोड ५३ लाख राजस्व सङ्कलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार साउनदेखि पुस मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने १० हजार ७ सय ६ ट्रक,  १ हजार १४४ बस, ४ हजार ६३७ जिप, कार भ्यान, ३ सय ४१ ट्याक्टर, ३ हजार ८४३ मोटरसाइकल, र २ सय २८ टम्पो कारबाहीमा परेका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनीश भण्डारीका अनुसार मालवाहक सवारी साधनले क्षमताभन्दा बढी समान बोक्ने, जिप कारले क्षमताभन्दा बढी यात्रु राख्ने, लाइसेन्स नबोक्ने र जथाभाबी पार्किङ गर्ने सवारी धनीहरूलाई कारबाही गरिएको बताउनुभयो । 

कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दैआइरहेको उहाँको भनाइ छ । 

ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष ०७७–७८ मा २८ हजार ७ सय ८८ सवारी साधन कारबाहीबाट १ करोड ७८ लाख ६३ हजार राजस्व सङ्कलन गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७८–७९ मा २९ हजार ४३ सवारी साधन कारबाहीबाट १ करोड ८७ लाख ७४ हजार र आर्थिक वर्ष २०७९–८० मा २५ हजार ९ सय ५२ सवारी साधन कारबाहीबाट १ करोड ७७ लाख ११ हजार राजस्व सङ्कलन गरिएको कार्यालयले जनाकारी दिइएको छ ।