• १३ साउन २०८१, आइतबार

लखन थापालाई राष्ट्रिय विभूति बनाउने मागप्रति सहमत छु : प्रधानमन्त्री प्रचण्ड

blog

टुँडिखेलमा आयोजित मगर समुदायको माघे संक्रान्ति २०८० कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौं, माघ १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति बनाउने मागप्रति आफू सहमत रहेको बताउनुभएको छ ।  नेपाल मगर सङ्घले आइतबार माघी पर्वको अवसर पारेर काठमाडौँको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

उहाँले आफू सोचेजस्तो सफल हुन अझै नसकेकाले प्रयास जारी रहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले पूर्वी नेपाललाई किरात प्रदेश बनाउने आफ्नो लक्ष्य पनि निर्वाचनमा पार्टीको हैसियत कमजोर हुँदा पूरा हुन नसकेको बताउनुभयो । 

उहाँले नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति बनाउने मागप्रति आफू सहमत रहेको चर्चा गर्नुभयो । त्यसमा पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । देशभक्तिको पक्षमा, जनताको परिवर्तन मुद्दाको पक्षमा, निरङ्कुशताका विरुद्ध, लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण सहीदहरुप्रति उच्च सम्मान रहेको उहाँले बताउनुभयो । नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरूको पनि सम्मान हुने भएकाले पनि नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने कुरामा आफूले पहल गरिरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै विविधतामा एकता हासिल गर्नु हाम्रो राष्ट्रिय कार्यभार हो । नेपालको लोकतान्त्रिक आन्दोलनमा मगर समुदायको भूमिका अग्रणी रहेको कुरा इतिहास सिद्ध छ ।’ 

आज पहिचान र अधिकारसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिकमा रहेको उहाँले बताउनुभयो । नेपालका प्रथम सहिद लखन थापालगायतका क्रान्तिकारी योद्धाहरूको बलिदान महत्त्वपूर्ण रहेकाले उचित मूल्याङ्कन हुनुपर्ने उहाँले बताउनुभयो । यही विद्रोहको जगमा उठेको राजनीतिक चेतनाले राणा शासनको अन्त्य भएको उहाँले चर्चा गर्नुभयो । नेपालको क्रान्तिकारी आन्दोलनमा लखन थापाको विरासतलाई हामीले उच्च सम्मानका साथ स्मरण गर्नै पर्छ उहाँले भन्नुभयो । 

देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताविरुद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण सहिदप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरूको पनि सम्मान हुन्छ भन्ने मेरो विश्वास छ उहाँले भन्नुभयो, “यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक पहल भइरहेको र पहल गरिने विश्वास पनि म तपाईँलाई दिलाउन चाहन्छु । म जति सफल हुनुपर्ने हो, अझै भएको छैन । यो कुरा साँचो हो । मैले पूर्वलाई किरात प्रदेश बनाउनुपर्छ भनेर अन्तिमसम्म प्रयास गरेकै हो ।’ 

प्रधानमन्त्री प्रचण्डले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको कामलाई सरकारले राष्ट्रिय कार्यभारको रूपमा अघि बढाएको पनि उहाँले बताउनुभयो । 

सम्बोधनको पूर्णपाठ

सबैभन्दा पहिले नेपालमा बसोबास गर्ने विविध जाति एवं जनजातिहरूले आ–आफ्नै ऐतिहासिक मान्यता र संस्कृतिअनुसार फरक–फरक रूपमा मनाउने माघे सङ्क्रान्ति र माघी पर्वको सुखद् अवसरमा यहाँहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । 

प्रकृतिवादी समुदाय हुनुको नाताले मगर समुदायका आफ्ना गतिविधि, परम्परा र संस्कृति प्रकृतिमा आधारित रहने गर्दछन् । माघी पर्व, उँधौली–उभौली जस्ता संस्कृतिहरू मगर समुदायले ऐतिहासिक परम्परा र जीवनवृत्तिमा आधारित छन् । यस अर्थमा यो पर्व सांस्कृतिक विशेषता र विविधतायुक्त मात्र नभएर वैज्ञानिक मान्यतामा समेत आधारित छ । प्रकृतिको सम्मानस्वरूप पूजापाठ गर्ने, आफ्नो पितृहरूलाई सम्झने–पुज्ने र चेलीबेटीहरूलाई आफ्नो घर बोलाएर मिष्ठान भोजन खुवाउने प्रचलन मगर समुदायमा रहिआएको छ ।

माघी पर्व सिकारी युगबाट कृषि युगमा प्रवेशको संक्रमणपूर्व प्रकृतिमा पाइने तरुल, भ्याकुर, कन्दमूल जस्ता परिकारहरू खुवाउने, आशीर्वाद दिने जस्ता कार्यहरू हुने भएकाले माघे सङ्क्रान्ति मगर जातिको राष्ट्रिय सांस्कृतिक पर्व हो । यसै यथार्थलाई सम्बोधन गर्न मेरो नेतृत्वको सरकारले माघी पर्वमा राष्ट्रिय बिदा दिने निर्णय गरिएको पनि म यहाँ स्मरण गर्न चाहन्छु ।

भौगोलिक रूपले यति सानो मुलुकमा हामीले जातीय, भाषिक, सांस्कृतिक रूपमा जुन विविधता प्राप्त गरेका छौँ, यो नेपालको मात्र नभएर मानव जातिकै गौरव र साझा सम्पत्ति हो । माघे सङ्क्रान्ति पर्व खस–आर्य, मगर, राई, थारु, लिम्बु, नेवार, गुरुङ, मैथिली, कुमाल लगायतका जाति जनजातिहरूको आ–आफ्नै संस्कृति र विशेषतामा आधारित विशेष पर्व हो । यस अर्थमा पनि माघे सङ्क्रान्ति र माघी पर्वले हाम्रो सांस्कृतिक पहिचान र विविधताका साथै विभिन्न जाति जनजातिमा रहेको जातीय पहिचान, परम्परागत संस्था र प्रथाजन्य कानुन, सांस्कृतिक बहुलताको सहअस्तित्व र राष्ट्रिय एकतालाई राम्रोसँग प्रमाणित गर्दछन् ।

नेपाली जनताको सात दशक लामो न्यायपूर्ण सङ्घर्षको बलमा जनताका प्रतिनिधिहरूको सामूहिक विवेकद्वारा निर्मित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानले देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई आत्मसात गर्दै विभिन्न जातजाति, भाषाभाषी, संस्कृतिको आन्तरिक राष्ट्रियता सुदृढ गर्दै स्वाधीनतासहितको समृद्ध नेपालको परिकल्पना गरेको छ । तसर्थ, संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै विविधतामा एकता हासिल गर्नु हाम्रो राष्ट्रिय कार्यभार हो ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा मगर समुदायको अग्रणी भूमिका र योगदान रहँदै आएको छ । आज हामीले पहिचान र अधिकारसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक प्रणाली प्राप्त गरेका छौँ, त्यसको पृष्ठभूमिमा नेपालका प्रथम सहिद लखन थापा लगायतका क्रान्तिकारी योद्धाहरूको बलिदान महत्त्वपूर्ण छ । 

यही विद्रोहको जगमा उठेको राजनीतिक चेतनाले १९९७ सालको शहादतसँगै २००७ सालमा राणा शासनको अन्त्य गरायो । त्यस्तै सङ्घर्षहरू २०२७, २०३६ र २०४६ साल हुँदै देश जनयुद्धमा होमियो र २०६२-६३ को बृहत् आन्दोलनले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग बसाल्यो । यो महान् जनताहरूको बलिदानको प्रतिफल थियो तर प्रेरणाको स्रोत भने उही बुङ्कोटको ऐतिहासिक विद्रोह नै थियो । विगतलाई हेर्दा पनि २००७ सालमा नेपाली कांग्रेसले र १० वर्षे जनयुद्धमा नेकपा माओवादीले अख्तियार गरेको युद्ध नीतिहरूमा बुङ्कोट विद्रोहकै स्पष्ट प्रभाव छ । तसर्थ, नेपालको क्रान्तिकारी रूपान्तरणको प्रक्रियामा लखन थापाको विरासतलाई हामीले उच्च सम्मानका साथ स्मरण गर्नैपर्छ ।

शासकवर्गको कठोर निरंकुशताविरूद्ध लड्न जनस्तरबाट उठेका एक क्रान्तिकारी नेता लखन थापालाई राष्ट्रिय विभूति बनाउनुपर्छ भन्ने तपाईँहरूको मागप्रति म पूर्ण रूपमा सहमत छु । यसले देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताको विरुद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण सहिदहरूप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरूको सम्मान हुनेछ । यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक पहल गर्ने विश्वास पनि म तपाईँहरूलाई दिलाउन चाहन्छु ।

माघी पर्वका निम्ति सङ्घीय सरकारको तर्फबाट तपाईँहरूले सहयोगको अपेक्षा गर्नुभएको छ, जुन स्वाभाविक पनि छ । पछिल्लोसमय देशको अर्थतन्त्रले चुनौतीपूर्ण अवस्थाको सामना गर्नुपरेकाले तपाईँहरूले उठाउनुभएका कतिपय विषयहरू सम्बोधन गर्न नसकिएको यथार्थ हो । तर, मेरो नेतृत्वको सरकारले अर्थतन्त्रमा सुधार ल्याउन गरेको लगातारको प्रयासले अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको छ । आगामी वर्ष अर्थतन्त्रमा गुणात्मक सुधार आउनेछ । त्यसले तपाईँहरूले उठाउनुभएको माग सम्बोधन गर्नसमेत सहज हुने मैले विश्वास लिएको छु ।

अन्त्यमा, यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा आमन्त्रण गरी आफ्ना विचारहरू राख्ने अवसर दिनुभएकोमा आयोजकहरूप्रति हार्दिक आभार प्रकट गर्दछु ।