• ६ जेठ २०८१, आइतबार

सुन्तला बेचेर कृषकले कमाए ३० करोड रुपियाँ

blog

तनहुँको सदरमुकाम दमौलीमा बिक्रीका लागि राखिएका सुन्तला । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, माघ १ गते । तनहुँका कृषकले यस वर्ष सुन्तला बेचेर ३० करोड रुपियाँ आम्दानी गरेका छन् । सुन्तला खेती विस्तार र उत्पादन वृद्धि भएकाले गत वर्षभन्दा चार करोड रुपियाँले बढी सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी किरण परियारले बताउनुभयो । 

खेतीबाट राम्रो आम्दानी हुन थालेपछि सुन्तला खेतीतर्फ आकर्षित हुन थालेकाले जिल्लामा सुन्तला उत्पादनमा वृद्धि हुँदैगएको परियारले बताउनुभयो । परियारले भन्नुभयो, ‘गत वर्ष कृषकले २६ करोड रुपियाँ आम्दानी गरेका थिए । यस वर्ष चार करोड वृद्धि भएर ३० करोडको बिक्री गरेका छन् ।’ 

जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात भएको छ । काठमाडौँ, पोखरा, चितवन, विराटनगर लगायतका ठुला सहरमा सुन्तला निर्यात हुनेगरेको केन्द्रले जनाएको छ । 

जिल्लामा आर्थिक वर्ष २०७९–८० मा एक हजार छ सय ८७ हेक्टरमा खेती गरिएकोमा नौ हजार ८ सय छ मेट्रिक टन सुन्तला उत्पादन गरी २६ करोड आम्दानी गरेको यो वर्ष तथ्याङ्क सङ्कलनका क्रममा चार करोड रुपियाँ आम्दानीमा वृद्धि भएको पाइएको सूचना अधिकारी परियारले बताउनुभयो । 

आव २०७८–७९ मा नौ हजार पाँचसय दश मेट्रिक टन सुन्तला उत्पादन भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मनग्य आम्दानी हुन थालेपछि कृषक सुन्तला खेतीमा आकर्षित हुँदैगएका छन् । जिल्लाका आठ हजार पाँचसय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ । 

केन्द्रले सुन्तला खेती कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दैआएको छ । कृषकलाई प्रोत्साहन गर्न बगैँचामै पुगेर पनि आवश्यक परामर्श दिइने गरिएको छ ।  देवघाट गाउँपालिका–२ र ३, आँबुखैरेनी गाउँपालिका–५, म्याग्दे गाउँपालिका–४, व्यास नगरपालिका–७, १३ र १४, भिमाद नगरपालिका–८ र ९, बन्दीपुर गाउँपालिका–३, ऋषिङ गाउँपालिका–३ र घिरिङ गाउँपालिकामा सुन्तला खेती विस्तारको सम्भावना छ । 

सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेकाले विक्रीको लागि कुनै समस्या नरहेको म्याग्दे गाउँपालिका–२ उमाचोक कृषक निर्मल अधिकारीले जानकारी दिनुभयो । कृषकलाई उत्साहित बनाउन बगैँचा व्यवस्थापनमा मद्दत गरिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपालप्रसाद लामिछानेले जानकारी दिनुभयो ।