• १३ साउन २०८१, आइतबार

सरकार असफल भइसक्यो : महासचिव पोखरेल

blog

पत्रकार भेटघाट कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेल । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, माघ १ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकार असफल भइसकेकाले नेपाली जनताले असक्षम घोषणा गर्न मात्र बाँकी रहेको बताउनु भएको छ । 

प्रेस चौतारी नेपाल बाँकेले सोमवार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘हरेक दृष्टिकोणबाट यो सरकार असफल र असक्षम प्रमाणित भइसकेको छ, कुनै पनि क्षेत्रमा सरकारले राम्रो काम गर्न सकेन ।’

महासचिव पोखरेलले एकातिर परिवर्तनको मूल्य र मान्यता आधारमा सरकार अगाडि बढ्न नसकेको अवस्था रहेको उल्लेख गर्दै अर्कोतिर सरकारकै कमजोरीका कारण अतिवादी शक्तिले टाउको उठाउने मौका पाएको बताउनुभयो । 

उहाँले सरकारकै असक्षमताका कारण देश वैदेशिक शक्तिको चलखेल गर्ने नेपाल क्रिडास्थल बनेको आरोप लगाउनुभयो । महासचिव पोखरेलले थप्नुभयो, ‘भर्खरै भारतीय विदेशमन्त्री आएको बेला सरकारले एउटा परियोजनामा बजेटरी प्रणालीभन्दा बाहिर गएर २० करोडसम्म खर्च गर्न दिने भनी हस्ताक्षर गरेर आफू निरीह र असक्षम भएको प्रमाणित गरेको छ ।’ 

उहाँले गठबन्धनको संस्कृतिले देश अगाडि बढ्न नसक्ने जनाउँदै यो संस्कृतिकै कारण सबैभन्दा बढी जनादेश भएको पार्टी र दलले जनताको सेवा र देश विकास गर्न नपाउने अवस्था आउने गरेको बताउनुभयो । 

एमालेलाई सत्तामा जाने कुनै हतार र लोभ नरहेको प्रष्ट पार्दै महासचिव पोखरेलले एमाले सधैँ जनताको समस्या र देशको विकासका लागि चिन्तित हुने पार्टी भएको बताउनुभयो । 

मध्यपहाडी राजमार्गमा आयोजना भएको सङ्कल्प यात्रामा जनताले अभूतपूर्व रूपमा साथ र सहयोग दिएको उहाँले दाबी गर्नुभयो । नेता पोखरेलले अब छिट्टै हुलाकी राजमार्गमा पनि सङ्कल्प यात्रा निकाल्ने तयारी भइरहेको बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकीकरणबारे सोधिएको जिज्ञासामा उहाँले एक पटक गरिएको गल्ती फेरि गर्न नहुने बताउनुभयो । सो अवसरमा एमालेका पोलिटब्युरो सदस्यहरू सुजिता शाक्य र खेममान खड्का, केन्द्रीय सदस्यहरू मोहम्मद हारुन्, पशुपति दयाल मिश्र, शान्ति ढकाल र सूर्य ढकाल लगायतको उपस्थिति रहेको थियो ।