• १३ साउन २०८१, आइतबार

लहानमा नगर बस पुनः सञ्चालनमा

blog

डेढ वर्षदेखि बन्द रहेको लहान नगरपालिकाको नगरबस माघी उत्सवको अवसरमा नगर प्रमुख महेश प्रसाद चौधरीद्वारा पुनः सञ्चालनमा ल्याईंदै । तस्बिरः सन्तोष सुवेदी

सन्तोष सुवेदी

सिरहा, माघ १ गते । डेढ वर्षभन्दा बढी समयदेखि बन्द रहेको लहान नगरपालिकाको नगरबसको सेवा सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । नगरबस सेवा पुनः सञ्चालनमा आएपछि नगरको ग्रामीण क्षेत्रमा पर्ने १ देखि २४ नं. वडा क्षेत्रका सर्वसाधारणलाई प्रत्यक्ष रूपमा राहत पुग्ने भएको छ । 

नगरबस सेवा पुनः सञ्चालनको पहिलो दिन सोमबार बसमा यात्रा गर्ने सबै नगरवासीलाई निःशुल्क गरिएको लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले जानकारी दिनुभयो । मङ्गलबारदेखि बसमा यात्रा गर्ने भिन्न क्षमता भएका व्यक्ति र ज्येष्ठ नागरिक बाहेकलाई जतिसुकै दुरीको भए पनि २५ रुपियाँ भाडामा बसबाट गन्तव्यमा पुग्न सकिने बताइएको छ । 

नगरबसले दुई वटा रुटमा दैनिक पडरिया, बस्तीपुर, भदैया, ढोढना, तरेगना, गोविन्दपुरसम्म र ब्रह्माण गोर्छारी, मलहन्मा, मोतीपुर, बथनाहा, छर्रापट्टी हुँदै लहानसम्म नगरवासीहरूलाई सेवा दिने लहान नगरपालिकाका प्रवक्ता रमेश गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त भाडा दर नगरपालिकाको मुख्य बजारदेखि उत्तर र दक्षिणतिरबाट काम विशेषले लहानसम्म आउने नगरवासीले तिर्दै आएको भाडादारको तुलनामा आधाभन्दा पनि सस्तो हो । नगरपालिकाको विभिन्न ग्रामीण क्षेत्रमा पुग्न सिटी रिक्सा र टेम्पोले प्रति यात्री ५० रुपियाँदेखि एक सय रुपियाँसम्म लिने गरेका छन् । 

लहान नगरपालिका अन्तर्गत पर्ने ग्रामीण भेगका बासिन्दालाई लहान आवतजावत गर्न सहजताका लागि नगरपालिकाको स्वामित्वमा २०७८ चैतमा खरिद गरिएको दुई वटा बसमार्फत् नगर बस सेवा सञ्चालन गरिएको भए पनि कोरोना सङ्क्रमणको प्रभावका कारण बजेट अभाव देखाउँदै नगरपालिकाले २०७९ जेठदेखि उक्त सेवा बन्द गरेको थियो । बन्द भएको ती दुवै वटा बस स्थानीय सामुदायिक क्याम्पस जेएस मुरारका बहुमुखी क्याम्पसले विद्यार्थी बोक्न जिम्मा लिएको थियो । तर उक्त क्याम्पसले बस फिर्ता गरेपछि नगरपालिकाले माघी पर्वको अवसर पारेर सोमबारदेखि पुनः सञ्चालनमा ल्याएको हो । 

पुनः सञ्चालनमा ल्याएको दिन र स्थानीय माघी पर्वलाई दृष्टिगत गरेर सोमबार एक दिनका लागि नगर बस निःशुल्क सञ्चालन गरिएको बताइएको छ । बन्द भएको नगरबस सेवा पुनः सञ्चालनमा ल्याइएकाले ग्रामीण भेगका सर्वसाधारणलाई राहत भएको छ ।