• १६ भदौ २०८१, आइतबार

बारेकोटमा २१० अस्थायी आवास

blog

किर्डाकको सहयोगमा निमार्ण भएका अस्थायी आवास । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, माघ १ गते । 
गत कात्तिक १७ गते गएको भूकम्पमा परेका प्रभावित नागरिकहरूका अस्थायी आवास निमार्णमा गैरसरकारी संस्थाको अग्रसरता देखिएको छ । भूकम्प प्रभावितहरूका अस्थायी आवास निमार्णका लागि सरकारसँगै गैरसरकारी संस्थाले निर्माण गरेको अस्थायी आवास अन्तिम चरणमा पुगेको छ ।

जिल्लाको बारेकोट गाउँपालिकामा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालले २१० अस्थायी आवासको काम अन्तिम चरणमा पुर्‍याएको हो ।

विनाशकारी भूकम्पका कारण क्षति पुर्‍याएका प्रभावित क्षेत्रका नागरिकहरूका लागि आपत्कालीन सहयोगार्थ किर्डाक नेपालबाट भूकम्प प्रभावितका लागि समावेशी मानवीय प्रतिकार्य परियोजनाले अहिले निमार्णको काम गरिरहेको छ । बारेकोट गाउँपालिका–१ रामीडाडाँका विभिन्न बस्तीसँगै वडा नं ५ को तोलखान बस्तीमा अस्थायी आवासको काम भइरहेको छ ।

बयालाका ४२, सिनाकोटका २९ वटा, दलित आगरका ५४ माथि आगरका ४३ र तोलखानका ३२ घर गरेर दुई सय अस्थायी आवास निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ । बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले पुनर्निमार्णमा पनि किर्डाक जस्तै गैरसरकारी संस्थाको खाँचो रहेको बताउनुभयो ।

अस्थायी आवास निमार्ण गरेर त्रिपालमुनिको बासबाट मुक्त हुनुभएका दलित आगरका असारे कामीले आफ्ना लागि भगवान् फेला परेको बताउनुभयो ।

आवास निमार्णका लागि खटिनु भएका कार्यक्रम संयोजक गोबिन्द्र कठायतले पुरै निमार्ण गर्न केही दिन लाग्ने भए पनि ७६ प्रतिशत नागरिकले अस्थायी आवास निर्माण गरेर घरमा बसिसकेको सुनाउनुभयो । लाभग्राही कमला गिरीले चिसोबाट मात्र होइन हरेक असुरक्षाको सुरक्षा दिन यी अस्थायी आवास महत्त्वपूर्ण रहेको बताउनुभयो ।