ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ १ गते । म्याग्दीका चार जना उत्कृष्ट महिलालाई सम्मान गरिएको छ । दशौँ माघे सङ्क्रान्ति मेलाको अवसर पारेर विभिन्न क्षेत्रमा उत्कृष्ट बन्न सफल चार जना महिलाहरूलाई सम्मान गरिएको हो ।
म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गत रहेको महिला उद्यम विकास समितिको मूल आयोजनामा सञ्चालन भएको माघे सङ्क्रान्ति मेलामा उद्यमशीलता, कलाकारिता र राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउन सफल महिलाहरूलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरूमा सिलाइ कटाईतर्फ दीप कमल टेलरिङका सञ्चालक कमला गिरी, बेनी नगरपालिका–२ का अगुवा कृषक पवित्रा कार्की, अग्रज लोकदोहोरी गायिका धनकुमारी थापा र पूर्वमन्त्री थममाया थापा रहनुभएको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा, प्रदेश सभा सदस्यद्वय हरि भण्डारी, विमला गौचन, महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठ लगायतले अबिर, दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गर्नुभएको थियो ।
माघे संक्रान्ति पर्वको रूपमा परम्परागत रूपमा बेनीमा आयोजना हुने मेलालाई जगेर्ना गर्दै कला, संस्कृति र परम्पराको संरक्षण तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने लक्ष्य सहित महिला उद्यम विकास समितिले तीन दिने मेला आयोजना गरेको हो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य गर्वुजाले महिलाहरूको आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरणले समाजमा परिवर्तन र आत्मनिर्भरता सम्भव रहेकोमा जोड दिनुभयो ।