• ७ जेठ २०८१, सोमबार

आफूखुसी भाडा असुल्दै विद्युतीय गाडी व्यवसायी

blog

काठमाडौं, माघ १ गते । अहिले नेपालमा विद्युतीय सवारीको आयात बढ्दो छ । सडकमा विद्युतीय गाडीको सवारी बाक्लो नै देखिन्छ । तर सार्वजनिक रूपमा सञ्चालनमा आएको विद्युतीय सवारी साधनले आफूखुसी भाडा असुल्ने गरेको पाइएको छ । 

लामो दूरीमा समेत सञ्चालन हुँदै आएको विद्युतीय सवारीले पेट्रोलियम गाडीको भन्दा महँगो भाडादर असुल्ने गरेको सेवाग्राहीको गुनासो छ । यात्राका क्रममा पेट्रोलियम गाडीको भन्दा दुई हजार गुणासम्म सस्तो भएर गुड्ने गरे पनि भाडादरमा भने कमी आउन सकेको छैन । यता सरकारले विद्युतीय सवारीको आयातमा भन्सार सहुलियत दिएपछि आयात बढेको छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा तीन हजार ३८६ विद्युतीय कार,जिप र भ्यान आयात भएको छ । तथ्याङ्क अनुसार पेट्रोल र डिजेलबाट चल्ने दुई हजार ४४१ सवारी साधन तथा इन्जिन र पार्टस आयात भएको छ । तर यातायात व्यवस्था विभाग र अन्य सम्बन्धित निकायले समेत भाडादर कायम गर्न सकेको छैन । यसरी निकायहरू मौन हुँदा व्यवसायीहरूले आफूखुसी भाडादर असुल्दै आएका हुन् । 

पेट्रोलियम गाडीको तुलनामा विद्युतीय गाडीको आयातमा भन्सार शुल्क थोरै छ । पेट्रोलबाट चल्ने गाडीको तुलनामा विद्युतीय गाडीको सञ्चालन खर्च पनि सस्तो छ । 

विद्युतीय गाडीको एक पटक चार्ज गर्दा थोरै पैसा लाग्दछ । तर, पेट्रोलियम गाडी र विद्युतीय गाडीको भाडादर भने समान छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारीको तुलनामा विद्युतीय सवारीको भाडादर घट्नुपर्ने माग उठ्दै आएका छन् । 

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल पेट्रोलियम पदार्थबाट चल्ने र विद्युतीय गाडीको भाडादर फरक बनाउनका लागि छलफल भइरहेको बनाउनुहुन्छ । उहाँले भन्नुभयो, “पेट्रोलियम गाडी र विद्युतीय गाडीको भाडादर फरक बनाउने विषयमा विभागमा छलफल भइरहेको छ । तर कति फरक पर्छ भन्ने कुरा भने अहिले भनिहाल्न सकिन्नन् ।’ उहाँका अनुसार भाडादर कायम गर्दा धेरै कुरालाई विचार गर्नुपर्ने भएकाले एउटा मात्र फ्याक्टरले भाडादर घट्ने वा बढ्ने हुँदैन । 

महानिर्देशक रिजालले भन्नुभयो, “विद्युतीय गाडी र पेट्रोलियम गाडीको भाडादर निर्धारण गर्दा एउटा मात्र फ्याक्टरलाई आधार मानेर गर्न मिल्दैन । यसमा सवारीको लागत, आयु, बिग्रँदाको मर्मत खर्च र इन्जिनको अवस्थाको बारेमा अध्ययन गरेर मात्र भाडादर निर्धारण गर्नुपर्दछ ।” 

नेपालमा भर्खर मात्र विद्युतीय सवारीको प्रवेश भएकाले चार÷पाँच वर्ष पुगेपछि मात्र यसको अवस्था कस्तो हुन्छ भन्न सकिने उहाँ बताउनुहुन्छ । नेपाल जस्तो भौगोलिक विकटता भएको देशमा विद्युतीय सवारीको भविष्य राम्रो देखिएको छ । यस्तै यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर विद्युतीय र पेट्रोलियम पदार्थबाट चल्ने सवारीको भाडादर कायम गरे पनि त्यति ठुलो फरक नपर्ने बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “विद्युतीय सवारी र पेट्रोलियम पदार्थबाट चल्ने  सवारीको भाडादर अध्ययन गरेर परिवर्तन गर्दा पनि खासै फरक पर्दैन । विद्युतको चार्ज कम हुँदैमा मात्र भाडादर धेरै कम हुनुपर्छ भन्ने सोच्नुहुँदैन ।” 

विद्युतीय सवारीको ब्याट्री पाँच लाख किलोमिटर गुडेपछि बिग्रिने भएकाले यसको मर्मत वा नयाँ किन्नुपर्छ ग्यारेन्टी हुँदैन । त्यसैले मर्मत हुने वा नयाँ किन्नुपर्ने निश्चित नहुँदा यसको लागत पेट्रोलियम गाडीको तुलनामा धेरै पर्न जाने उहाँको भनाइ छ । 

पेट्रोलियम पदार्थबाट चल्ने गाडीको भाडादरमा ३५ प्रतिशत मात्र पेट्रोलको कारण हुने बाँकी ६५ प्रतिशत गाडीको स्थितिले निर्धारण गर्ने उहाँको भनाइ छ । 

त्यसैले भाडादर नयाँ कायम भए पनि बिजुलीबाट चल्ने सवारीको भने धेरै घट्ने सम्भावना नरहेको उहाँ बताउनुहुन्छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।