• १९ असार २०८१, बुधबार

सन्दर्भ: पृथ्वी जयन्ती

पृथ्वीनारायणकालीन इतिहास बोध

blog

इतिहास बोधका लागि इतिहासप्रति सचेत हुनु आवश्यक हुन्छ । विश्वास तटस्थतामा होइन, पक्षधरताका आधारमा बन्छन् र भत्कन्छन् । दृष्टिले नायक र खलनायक किटान हुन्छन् । इतिहास र पृथ्वीनारायण शाह पनि यस्तै विषय बने । आजको आवेगमय नजरिया र पक्षधरताले त्यस बखतको साँगापश्चिम र चन्द्रागिरि पूर्वको राजनीतिक भूगोलमा समेटिएको नेपालको कल्पना गर्नै सकिँदैन । इतिहासले समयसँगै ऊर्जा, सपना, इच्छाशक्ति दिन्छ र इतिहासका चिहानहरू खोतलिन्छन् । 

के साँच्चै कम्युनिस्ट, जनजाति, उपेक्षित समुदायले पृथ्वीनारायणलाई ‘साम्राज्यवादी’, ‘विस्तारवादी’ अतिक्रमणकारी भन्नु ठिक छ ? समयसँगै इतिहासलाई कसरी बुझ्ने ? इतिहास अणु पनि हो, परमाणु हो । इतिहासबाट ऊर्जा लिन सकिन्छ भने इतिहासमै घृणाको औजार बनाउन पनि सकिन्छ । इतिहास बनिसकेको कुरा पक्षधरताका आधारमा सकारिन्छन् । इतिहासको व्यवस्थापन पक्षधरतामा हुने गर्छ । भोक्ताले स्वीकार वा अस्वीकार जे गरे पनि इतिहासलाई भने कुनै फरक पर्दैन । उसले यात्रा त तय गरिसकेको हुन्छ । उपहार दिएर वा घाउ पारेका प्रसङ्ग विम्ब, प्रतीक र पक्षधरता लेखन वा अनुभूतिमा भइरहन्छन् ।

इतिहासको विवेकपूर्ण वाचनका लागि तत्कालीन अवस्थाबारे आग्रहविहीन सोच चाहिन्छ । सभ्यता विकासमा द्वन्द्व भइरहन्छन् । जहिले पनि समाजमा तीन प्रवृत्ति रहिरहन्छ । यथास्थिति, अग्रगमन र पश्चगमन । ती प्रवृत्ति र प्रवृत्तिवाहकबिच द्वन्द्व भइरहन्छन् । नयाँ बन्न चाहे पनि मान्छे एकै पटक नयाँ बन्न सक्दैन । सोच फेर्नु भनेको फलामको चिउरा चपाउनु हो । सत्ता चिन्तन यथास्थिति चाहन्छ, समाज परिवर्तन चाहन्छ र केही शक्ति पश्चगमन । कुनै समयको प्रगतिशील पक्ष अर्को समयमा प्रतिव्रिmयावादी पनि देखिन सक्छ । 

परिवर्तन सहज हुँदैन । समाजले परिवर्तन पहिले सहजै स्विकार्दैनन्, पछि बिस्तारै स्वीकार्न विवश हुन्छन् र कालान्तरमा जीवन पद्धति बनेर इतिहासमा फेरिन्छ । को, कहाँ, कुन सोचमा उभिएको छ ? त्यसैले सबै निर्धारण गर्छ । कतिपय अवस्थामा समाजमा झडप पनि देखा पर्छन् । यथास्थिति वा पश्चगमन पक्षधरले भने नयाँ सोच राख्नु पर्छ भन्ने सोचसमेत सोच्न आतङ्कित हुन्छन् । समाजमा अण्डा नफुटाली अम्लेट खान चाहने वा रगत देख्न नचाहने तर सेकुवा खान चाहने तप्का हुन्छ ।  

हिटलरी सेनाले सोभियत रुसको भित्री भाग लेनिनगार्डमा अपरेसन बारबरोसा बाह्रौँ शताब्दीका रोमन सम्राट् फ्रेडरिक बारबरोसाका नाममा चलायो । जर्मन सेनालाई परास्त गर्न सोभियत नेता जोसेफ स्टालिनले पनि रुसी राष्ट्रवाद जगाउन पिटर द ग्रेटको बखान गरे । जर्मनीले फाँसीवादी ‘गौरव’ अभियानमा एकीकरणका प्रणेता बिस्मार्कको याद गरायो । माओले “संसारको इतिहास त पढ तर चीनको इतिहास अझ गम्भीर भएर पढ” भने । राष्ट्रवादका लागि इतिहासका गौरवको आवश्यकता पर्छ । नेपाली कम्युनिस्ट पनि द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका अनुयायी भए, ऐतिहासिक चरणको विकासलाई द्वन्द्ववादी भएर अध्ययन गर्दै धारणा बनाए ।

पृथ्वीनारायणको कालखण्ड र तत्कालीन अवस्था

आजको चेतले तीन सय वर्षअघिको अवस्था अध्ययन गर्न सकिँदैन । वस्तु वा पात्रमा भएका गुण–दोषको मर्म द्वन्द्ववादी भएर मात्रै खुट्याउन सकिन्छ । बुझाइको घेरा सीमित नपारौँ । बाह्र सय घरधुरी रहेको गोर्खामा पृथ्वीनारायण बिस वर्षको उमेरमा राजा भए र त्रिपन्न वर्षको उमेरमा सन् १७७५ मा नुवाकोटमा बिते । तीन दशकभन्दा लामो समयसम्म निरन्तर युद्धरत रहे । अमेरिका स्वतन्त्र नहुँदै (४ जुलाई १७७६), फ्रान्समा राज्य क्रान्ति (१७८९–९९) भएर आधुनिक युग आरम्भ नहुँदै पृथ्वीनारायण राजा भइसकेका थिए । कार्ल माक्र्स जन्मिँदा पृथ्वीनारायणको निधन भएकै त्रिचालीस वर्ष भइसकेको थियो ।

हाम्रो भूगोलमा बेलायती उपनिवेशवादी क्रुर दृष्टि परेको थियो भने बङ्गाल र बिहारका नबाब मिर कासिमको आक्रमणलाई परास्त गर्नु परेको थियो । त्यस बेलासम्म पुनर्जागरणकाल (युरोपेली जातिहरूले कला, साहित्य, ज्ञान, विज्ञान, धर्म, दर्शन आदिमा अभूतपूर्व प्रगति गरेको अवधि चौधौँदेखि सत्रौँ शताब्दीसम्म) र प्रबोधनकाल (सत्रौँ–अठारौँ शताब्दीको युरोपेली बौद्धिक–दार्शनिक आन्दोलन) का झिल्काहरूसमेत यहाँसम्म आइपुगिसकेका थिएनन् । पुँजीवादको गन्ध पनि नआएको त्यो सामन्तवादी युग थियो ।

हेमिल्टनका अनुसार पृथ्वीनारायण अत्यन्त महत्वाकाङ्क्षी थिए; निर्णय क्षमता, साहस र निरन्तरको क्रियाशीलतामा असाधारण प्रतिभा थियो । उनको मृत्युको दुई दशकपछि मात्रै कर्णेल कर्क प्याट्रिक नेपाल आए । उपनिवेशवादी बेलायतलाई टक्कर दिने मात्रै होइन, पराजितै गर्ने र इसाई मिसिनरीलाई देशनिकाला गर्ने, तिब्बत व्यापारमा नाका सुविधा नदिनेलाई उनीहरू राम्रो मान्नै सक्दैनथे । इतिहासका कुशल व्यवस्थापकहरू हित अनुसारको विश्लेषण गर्छन् नै, पक्षधरता लिन्छन् नै, त्यसैले बीभत्स कथा रचे । जुनसुकै युद्ध यसै पनि आदर्श र सुन्दर नभएर त्यसमा शक्तिको दमन, हत्या, प्रतिशोध हुन्छ । 

युद्ध रक्तपातपूर्ण राजनीति हो भने राजनीति रक्तपातविहीन युद्ध । पिछडिएको गोर्खासँग फौज र रणकौशल भए पनि विद्वत् समूह थिएन, पराजित र उपनिवेशवादीसँग इतिहास व्यवस्थापकहरू थिए । कालान्तरमा विकास भएको अभिजात वर्गले पृथ्वीनारायणको एकीकरणको महिमामण्डन गर्दा उनमा रहेको युद्ध उन्माद र ज्यादती भने छिपाउन चाह्यो । पृथ्वीनारायणकै कुरा गर्दा इतिहासमा मान्छेको भूमिका र कामको चर्चा गरिनु पर्छ । इतिहासको सम्बन्ध मान्छेसँगै, अतीतसँगै भएकाले घटना, पात्र र प्रवृत्तिबारे विवाद उठ्नु स्वाभाविकै हो । विगतबारे धारणा र व्याख्यामा एकमत नहुन सक्छ । चेतनशील मान्छेको अतीत वर्तमानको ज्ञानको स्रोत हो । मान्छेका काममा उसका मनोवृत्ति, विचार, रुचि, स्वार्थ, वर्गचेतना जोडिएका हुन्छन् । त्यसैले हिजोलाई नियाल्दा विवाद पैदा भएर मान्छे त्यसैको सिकार बन्न पनि सक्छ ।

इतिहासको द्वन्द्ववादी अध्ययन

विज्ञानका अन्य शाखा झैँ इतिहासका पनि आफ्नै गति, लय, अनुशासन, सामाजिक सङ्केत र सन्देश हुन्छन् । पक्कै हो, इतिहासका भाष्य र तर्कमा वर्चस्वशाली तप्काकै रजाइँ हुनाले भुइँमान्छेको प्रतिरोधी आन्दोलन र इतिहास निर्माणमा रहेको उनीहरूको भूमिका प्रायः उल्लेख गरिँदैन । भारतका प्रसिद्ध इतिहासकार डा. लालबहादुर बर्मा भन्छन्, “इतिहास मानव जातिको विकासको कथा मात्रै होइन, प्रमाण पनि हो । मानव समाज बुझ्ने मात्रै होइन, त्यसलाई फेर्ने अनिवार्य उपकरणसमेत भएकाले सभ्यता प्रगति यात्राको नायक-खलनायकबेगरको तथ्य र मिथकमिश्रितसानदार महाकाव्य पनि हो ।”

माक्र्सले प्रकृतिको द्वन्द्वात्मकता देखि द्वन्द्वात्मक भौतिकवादसम्म पुग्दै इतिहासमा लागु गरेर ऐतिहासिक भौतिकवादसम्मको व्याख्या गरे; इतिहास गतिमान छ भनी अथ्र्याए । सामाजिक परिवर्तनका नियमहरूका आधार उत्पादनका साधन र सम्बन्धमा परिवर्तन सिद्ध गरे । इतिहासको क्रमभङ्गतामा वर्गसङ्घर्ष निर्णायक र अनिवार्य माध्यम रहेको बताए । उनले भविष्यवाणी गरे– सामन्तवादलाई पराजित गरी पुँजीवाद विकसित भएर ध्वंस हुन्छ । इतिहास प्रयोगशाला हो; जसमा मानवकृतिको लेखाजोखा सुरक्षित भएर त्यसै आधारमा सामाजिक परिवर्तनको वस्तुगत नियम सम्झिन सकिन्छ । अतीतलाई बुझ्न, वर्तमानलाई चिन्न र भविष्यप्रति धारणा बनाउन सकिन्छ । समाजका सन्दर्भमा इतिहासको भूमिका मान्छेको स्मृति जस्तै हो । डा. बर्मा भन्छन्, “स्मृति विगतको सम्झना हो । जब कुनै मान्छेले वैज्ञानिक अध्ययनमार्फत स्मृतिको संयोजन गर्दै लिपिबद्ध गरेर पुनर्संरचना गर्छ, तब इतिहास जन्मन्छ । इतिहासको लेखन पनि आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक जीवन र परिवेशमा विश्वास र अभ्यास भएको मान्छेले नै गर्छ ।” फ्रान्सिसी विचारक रेमो आरोंका शब्दमा “मान्छे एकैसाथ इतिहासको कर्ता र पात्र दुइटै बनिरहेको हुन्छ ।” पृथ्वीनारायण पनि त्यस्तै थिए जस्ता इतिहासका हरेक पात्र हुन्छन् ।

जतिसुकै निष्पक्ष रहेको दाबी गरे पनि इतिहासकारहरू अतीतको यथार्थ चित्रण गर्न सक्दैनन् । पूर्वाग्रहबाट मुक्ति पाउन नसके पनि वर्तमानको उपयोगी बन्ने तिनको हैसियत भने हुन्छ । इतिहासलाई समग्र विज्ञान नबनाए त्यसको महìव रहँदैन । परिस्थिति कुनै नायकको नियन्त्रणमा हुँदैन । फेरि पनि भन्नै पर्छ, “समाज विकास क्रममा कुनै बेला प्रगतिशील देखिएको सामाजिक वा राजनीतिक शक्ति पनि परिस्थति फेरिएसँगै प्रतिगामी बन्न सक्छ । इतिहास बोधले नै समय र समाजलाई चिनेर युगलाई हस्तक्षेप गर्न सक्छ ।”

कम्युनिस्टको वर्गचेतमा दुस्मन वा मित्र मात्रै हुने गर्छन् तर समाजमा सेतो र कालो मात्रै होइन, अन्य रङ पनि हुन्छन् । इतिहास र मिथक फरक हुन् । इतिहासको द्वन्द्ववादी अध्ययन नगरेकाले देश, राष्ट्र र राज्यको भूमिकाबिच फरक छुट्याउन नसक्दा, द्वन्द्ववादी भनिए पनि नेपाली कम्युनिस्टहरू पृथ्वीनारायणको मूल्याङ्कन गर्न चुके । बुर्जुवाहरूले कम्युनिस्टबाट धेरै कुरा सिकेर लागु पनि गरे तर अफिसियल कम्युनिस्टहरू न द्वन्द्ववादी बने न त भौतिकवादी । इतिहासको अध्ययनमा द्वन्द्ववादी नभएपछि शक्ति सन्तुलन, समाज विकास, देशको संवेदनशीलता, सामन्तवादी समयका प्रतिनिधि पात्रको चरित्र खुट्याउनमा चुके भन्दा हुने नै भयो । 

देश, राष्ट्र र राज्यका चरित्र र अवस्थाको बुझाइमा कमजोर हुँदा उनीहरूले भौगोलिक एकीकरण गरेर उपनिवेशवाद परास्त गर्ने पृथ्वीनारायणलाई राष्ट्रवादी देख्न सकेनन् । टुक्रा सामन्ती व्यवस्थाका महासामन्त पृथ्वीनारायणको शासनकाल अभिजात र वर्चस्वशालीको शासन पद्धति पक्कै थियो तर त्यस बेला उनको अभियान नभएको भए आजको नेपालको अवस्था के हुन्थ्यो ? भुरेटाकुरे राजाहरू बेलायती उपनिवेशसामु टिक्न सक्थे ? देशको भूगोलको एकीकरण गरे पनि उनले देशको नामकरण ‘गोर्खा’ बनाउन सक्ने आधार थियो तर ‘नेपाल’ बनाएर जनताको मनोविज्ञान जिते ।

पात्र, घटना, परिवेशलाई द्वन्द्ववादी भएर अध्ययन गरे मात्रै सबल र दुर्बल पक्ष देख्न सकिन्छ । इतिहासलाई ऊर्जा बनाएर मात्र जडताबाट उम्कन सकिन्छ । भूगोल केन्द्रीकरण र आधुनिक नेपाल बनाउन पृथ्वीनारायणको भूमिका प्रगतिशील सामन्तवादीको थियो, जसले सार्वभौम भौगोलिक एकाइ निर्माण गर्यो तर असल हिन्दुस्थान र चार वर्ण छत्तीस जातको मनुवादी अभ्यासले भने राष्ट्र र राज्यको मर्म ओगट्न सकेन । समाज विकासको हरेक चरणका सीमा भए झैँ सामन्तवादका पनि हुन्छन् । उनमा पनि थियो नै ।

इतिहासबारे धारणा बनाउनुअघि तत्कालीन समाज, चेतना र सांस्कृतिक अवस्था, उत्पादनका साधनस्रोत र स्वामित्व, आन्तरिक र बाह्य शक्ति सन्तुलन बुझ्नु पर्छ । आजका सन्दर्भमा पृथ्वीनारायणको सामन्ती चिन्तन र मनुवादी अभ्यासलाई निरन्तरता दिनु जति अभिजात वर्गको इतिहासको सन्देश नबुझ्नु हो, त्यति नै भौगोलिक एकीकरणमा उनको देन बुझ्न नसक्नु कम्युनिस्ट र अन्यको पनि कमजोरी हो ।

Author

नरेन्द्रजङ्ग पिटर