फडिन्द्र अधिकारी
लेखनाथ, पुस २६ गते। अहिले पोखरा महानगरको सडक किनारमा ठाउँ ठाउँमा फोहोर थुप्रिएको छ। समयमै रकम नपाएको भन्दै फोहोर व्यवस्थापनको जिम्मा लिएका ठेकेदारले काम रोक्दा फोहोर उठ्नै छाडेको हो। फोहोर नउठ्दा दुर्गन्ध फैलिन थालेको छ।
महानगरले पोखरा-३२ मा अस्थायी रूपमा फोहोर व्यवस्थापन गर्दै आएको छ। त्यहाँको अस्थायी ल्यान्डफिल साइट व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान गुरुङले प्रयोग भएको एक्स्काभेटर भाडा र इन्धनको रकम नपाएको भन्दै काम रोक्नुभएको छ।
महानगर सरसफाइ शाखाले गुरुङलाई करिब १२ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ।
पोखरा-३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले स्थानीय रूपमा अरू समस्या नरहेको तर समयमै रकम भुक्तानी नहुँदा फोहोर व्यवस्थापनमा समस्या भएको बताउनुभयो।
पोखरा महानगरका प्रवक्ता मोतीराज तिमिल्सिनाले प्रक्रियागत रूपमा जाँदा भुक्तानी दिन ढिलाइ भएको र चाँडै समस्या सुल्झिने बताउनुभयो। पोखरा १४ को बाच्छेबुडुवामा रहेका ल्यान्डफिल साइट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण हटाउनुपरेपछि महानगरले अस्थायी रूपमा फोहोर व्यवस्थापनको स्थान खोजेको हो।
स्थानीय बासिन्दासँग १६ बुँदे सहमति गरेर सेती किनारमा फोहोर फाल्ने सम्झौता भए पनि दजनौं पटक फोहोर व्यवस्थापनमा अवरोध भइसकेको छ। पोखरा ३३ मा महानगरले आधुनिक फोहोर प्रशोधन केन्द्र बनाउँदै छ।