• ७ जेठ २०८१, सोमबार

कोरोना बिमा बापतको भुक्तानी अनिश्चित

blog

काठमाडौं, पुस २६ गते । कोरोना बिमा बापतको दाबी भुक्तानी प्रक्रिया अनिश्चित भएको छ । सरकारले कोरोना बापतको रकम निकासा नगर्दा कोरोना बिमा बापतको दाबी भुक्तानी अनिश्चित भएको हो । गत वर्ष सरकारले एक अर्ब रकम निकासा गरेपनि अरू थप रकम निकासा हुन नसक्दा बाँकी दाबीकर्ताले कहिले भुक्तानी पाउँछन् ? भन्ने यकिन छैन ।

गत वर्षको भदौमा सरकारले एक अर्ब रुपियाँ रकम निकासा गरेको थियो । तर उक्त रकम १० हजार व्यक्तिले मात्र प्राप्त गरे । बिमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार सरकारले निकासा गरेको एक अर्ब रुपियाँलाई ५५ प्रतिशत मानी बाँकी ४५ प्रतिशत रकम बिमा प्राधिकरण र बिमा कम्पनीले सङ्कलन गरी १० हजारलाई वितरण गरिएको हो ।

उहाँका अनुसार पहिले दाबी गर्ने सर्वसाधारणले पहिलो चरणमा बिमा बापतको रकम पाएका छन् । सरकारले बनाएको मापदण्ड अनुसार पहिलो चरणमा आमसर्वसाधारणलाई वितरण गरिएको हो ।

उहाँले भन्नुभयो, “सरकारले गत वर्ष निकासा गरेको एक अर्ब रुपियाँमा बिमा प्राधिकरण र बिमा कम्पनीले केही रकम थप गरी पहिलो चरणमा सर्वसाधारणलाई वितरण गरेका थियौँ । पहिलो दाबी गर्ने दाबीकर्तालाई प्राथमिकता दिएर नै वितरण गरेका हौँ ।’’ 

अब अर्थ मन्त्रालयबाट रकम निकासा नभएसम्म कोरोना बिमाको रकम भुक्तानी गर्न समस्या हुने उहाँ बताउनुहुन्छ ।

कुल १७ लाख ५८ हजार ३४३ जना बिमितले कोरोना बिमा गरेका थिए । जसमध्ये एक लाख ६५ हजार ५९ जना बिमितबाट १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रुपियाँ बराबरको दाबी परेको थियो ।

अर्थ मन्त्रालयले स्वीकृत गरेको कोरोना बिमा मार्गदर्शन अनुसार सुरुको तीन अर्ब ५० करोड रुपियाँसम्मको दाबी भुक्तानी बिमा कम्पनी, नेपाल पुनर्बिमा कम्पनी र बिमा प्राधिकरणले गर्ने उल्लेख छ ।

त्यसपछि बाँकी रहने दायित्व भने नेपाल सरकारले व्यहोर्ने उल्लेख छ । सोही अनुसार बिमा कम्पनीहरूले तीन अर्ब ५० करोडसम्मको दाबी भुक्तानी गरेर पनि थप एक अर्ब ४८ करोड १४ लाख ८८ हजार २३५ रुपियाँ बराबरको दाबी भुक्तानी बिमा कम्पनीले गरेका थिए । तर नेपाल सरकारले कोरोना बिमा बापतको रकम निकासा नगर्दा बिमा कम्पनीले दाबी भुक्तानी रोकेका थिए ।

अहिलेसम्म करिब ६५ हजार हाराहारीले मात्र कोरोना बिमा बापतको भुक्तानी पाएका छन् । बाँकी एक लाख जनाको १० अर्बकाे हाराहारी रकम भुक्तानी हुन बाँकी रहेको छ ।

सरकारले रकम निकासा नगरेसम्म बाँकी एक लाखले कोरोना बिमा बापतको दाबी रकम भुक्तानी पाउने सम्भावना नहुने उहाँ बताउनुहुन्छ । 

'कोरोना बिमालाई रकम छुट्याइएको छैन'

यस पटकको बजेट भाषणमा नै कोरोना बिमाका दाबीकर्तालाई भुक्तानी दिनका लागि रकम निकासा गर्ने कुरा उल्लेख छैन । तसर्थ यो वर्ष पनि दाबीकर्ताले भुक्तानी पाउने सम्भावना नरहेको अर्थ मन्त्रालयले जनाएको छ ।

यो वर्षमा कोरोना बिमा बापतको भुक्तानी रकमका लागि बजेट विनियोजन हुने आधार नरहेको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका उपसचिव गौरीशङ्कर उपाध्यायका अनुसार अहिले लक्ष्यअनुसार राजश्व सङ्कलन नभएको र बजेटको स्रोत नै नभएकाले रकम निकासाको सम्भावना छैन ।

उहाँले भन्नुभयो, “अहिले लक्ष्य अनुसारको राजश्व पनि सङ्कलन भएको छैन, बजेटको स्रोत पनि नभएकाले यो वर्ष कोरोना बिमा बापतको रकम पाउने सम्भावना छैन ।”

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।