• २५ वैशाख २०८१, मङ्गलबार

निःशुल्क उपचार गराउने नाममा रकम असुल्ने बिचौलिया पक्राउ

blog

भेरी अस्पतालमा निःशुल्क उपचार गराउने नाममा पक्राउ परेका गहतराज र भेरी अस्पताल । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, पुस २६ गते ।
भेरी अस्पतालमा निःशुल्क उपचार गराउने नाममा रकम असुली गर्दै आएका एक विचौलिया पक्राउ परेका छन् । पश्चिम नेपालका विभिन्न जिल्लाबाट उपचारका लागि आउने बिरामीसँग निःशुल्क उपचार गराउने नाममा रकम असुली गर्दै आएका बिचौलिया पदम गहतराजलाई प्रहरीले पक्राउ गरेको हो ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझीले अस्पताल परिसरमा बिचौलियाले बिरामीबाट पैसा असुल्ने गरेको गुनासो पटकपटक सुनिँदै आएकोमा अहिले गहतराजलाई रंगेहात पक्राउ गर्न सफल भएको बताउनुभयो ।

सुपरिटेन्डेन्ट रायमाझीका अनुसार दाङका अर्जुन सिजाली मगरबाट निःशुल्क उपचार गराउने भन्दै गहतराजले नौ हजार रुपियाँ असुल गरेको पाइएकाले उनलाई पक्राउ गरिएको हो ।

भेरी अस्पतालमा उपचारका लागि आउने बिरामी र उनका आफन्तसँग निःशुल्क उपचार गराउने नाममा गहतराजले रकम असुल गर्दै आएको पाइएको छ ।

अस्पताल प्रमुख डा.रायमाझीले भन्नुभयो, ‘‘बिरामीलाई निःशुल्क रूपमा सेवा, सुविधा दिलाउँछु भन्दै बिरामीलाई ललाई फकाई अस्पतालबाट लक्षित वर्गलाई दिने सुविधा बिरामीलाई उपलब्ध गराउने र त्यही बिरामीलाई निःशुल्क सेवा उपलब्ध गराए बापत पैसा असुल्ने व्यक्तिलाई पक्राउ गरेका हौँ ।’’

अस्पताल प्रशासनले केही दिनदेखि बिचौलियाको गतिविधिलाई नजिकबाट नियाल्दै आएको अवस्थामा फेला पारिएको डा. रायमाझीले जनाउनुभयो । उहाँले गहतराज आफ्नो कार्यकक्षमा पटकपटक बिरामीको निःशुल्क उपचारका सिफारिस पत्र लिएर आउने गरेको पनि बताउनुभयो ।

बिरामीका आफन्तबाट असुल गरिएको रकम गहतराजबाट फिर्ता गराइएको र अस्पताल परिसरमा अन्य बिचौलियाको पनि विशेष निगरानी बढाइएको भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले बताउनुभयो । 

पक्राउ परेका गहतराजले आफूलाई नेकपा (माओवादी केन्द्र)ले अस्पतालमा काम गर्न खटाएको जनाएका थिए । तर नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका सहसचिव अकलबहादुर बमले पैसा असुलेर काम गर्नु भनी आफ्नो पार्टीले कसैलाई पनि नखटाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘जनताको काममा सहजीकरण गरिदिन पार्टीले खटाउन सक्ला, तर कसैसँग पैसा लिएर काम गर्न हाम्रो पार्टीले खटाउँदैन, कुनै पनि पार्टीको नीति यस्तो हुँदैन ।’’