• १७ असार २०८१, सोमबार

कोलोनीका २५० बालबालिकाको पढाइ प्रभावित

blog

शशिधर पराजुली
विराटनगर, पुस २५ गते । 
सुनसरीको खनारमा रहेको धागो उद्योगको कोलोनी (आवास)मा बस्दै आएका २५० भन्दा बढी बालबालिकाको पठनपाठनमा समस्या भएको छ । विद्युत आपूर्ति बन्द भएका कारण कोलोनीमा बस्दै आएका बालबालिकाहरूको पढाइ तीन सातादेखि अवरुद्ध भएको हो ।

नेपाल विद्युत प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्सको विद्युत लाइन काटिदिएपछि उद्योग बन्द भएको छ भने दुई हजार पाँच सय जनाभन्दा बढी मजदुर तथा कर्मचारीहरू बस्दै आएको कोलोनी अन्धकार बनेको छ । विद्युत आपूर्ति ठप्प भएपछि साँझ बिहान बालबालिकाहरूले पढ्ने र गृहकार्य गर्ने कामसमेत गर्न नसक्ने अवस्था छ ।

कोलोनीमा २० वर्षदेखि बस्दै आएका मजदुर अमरलाल यादवले भन्नुभयो, ‘‘बिजुली नभएर कोलोनीको अवस्था दयनीय बनेको छ, हामी हजारौँ कामदार कोलोनीमा बस्छौँ तर न पानी आउँछ न बिजुली बाल्न पाइन्छ, हाम्रा बालबालिकाहरूको पढाइमा नराम्रो प्रभाव परिसकेको छ, यसमा सबैले बोलिदिनुपर्‍यो ।’’

यादवका अनुसार मजदुर कोलोनीमा झण्डै दुई हजार व्यक्तिहरू बसोबास गर्दै आएका छन् भने त्यहाँबाट एक सयजनाभन्दा बढी बालबालिकाहरू नियमित विद्यालय जाने गरेका छन् । त्यस्तै स्टाफ कोलोनीबाट १५० भन्दा बढी बालबालिकाहरू नियमित विद्यालय जान्छन् । दिउँसो स्कुल गएर फर्केका बालबालिकाहरूले राति कोठामा पढ्न र अभ्यास गर्न पाइरहेका छैनन् ।

‘‘हामी त जसोतसो चलाउँथ्यौँ तर बालबालिकाको पढाइ नै बिग्रिने भयो, उनीहरू पढ्नै पाउँदैनन्,’’ यादवले भन्नुभयो, ‘‘साँझमा जेनेटर चलाएर एक घण्टा बिजुली आउँछ त्यतिबेलै पानी थाप्नु पर्छ, जे गर्ने हो त्यतिबेला गर्नुपर्दा बच्चाको पढाइमा धेरै बाधा भएको छ ।’’

पछिल्लो समस्या विद्युतको समस्या समाधान हुँदै गएपछि रिलायन्स स्पिनिङ मिल्समा भएका ठुला जेनेटर चलेका छैनन् भएका पुराना जेनेटर पनि बिग्रेका कारण चल्ने अवस्थामा नरहेको मिल्सका प्रबन्धक महेश पोखरेलले बताउनुभयो । सानो क्षमताको एउटा जेनेटर एक दुई घण्टा चलाएर खानेपानी र साँझको समयमा विद्युतको आपूर्ति मिलाइरहेको भए पनि पूरा समय चलाउन सक्ने अवस्था नरहेको पोखरेलले भन्नुभयो ।

प्राधिकरणले विद्युत लाइन विच्छेद गरिदिएपछि कोलोनीमा बस्दै आउनुभएका कामदारहरूले चार दिन जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएर हजारौँ कामदार कर्मचारी बस्ने कोलोनीमा बत्ती बाल्नका लागि मात्रै भए पनि विद्युत जडान गरिदिन माग गर्नुभएको थियो ।

त्यसबेला प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कोलोनीमा विद्युत जडान गर्न पहल गर्ने जवाफ दिएको भए पनि विद्युत नजोडिएको मजदुर यादवले बताए ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले रिलायन्सको कोलोनीभित्र बस्दै आएका कामदार कर्मचारीको बालबालिकाको पढाइमा समस्या भएको बारेमा आफूलाई जानकारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बिजुली काटिएपछि बालबालिकाको पढाइमा समस्या भएको छ भन्ने कुरा मसम्म आएपछि मैले कोलोनीमा विद्युत जडान गरिदिन प्राधिकरणलाई भनेको छु, कोलोनीका कामदारहरूले प्राधिकरणमा निवेदन दिनेबित्तिकै लाइन जोडिन्छ ।’’ प्रजिअ आचार्यले कोलोनी तर्फ छुट्टै लाइन जडान गरी खानेपानी र बत्ती बाल्न बिजुली उपलब्ध गराउने विषयमा आफू संवेदनशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘उद्योग र कोलोनीमा बस्दै आएका मानिसहरूको विषयमा फरक ढङ्गले हेर्नुपर्छ, उहाँहरूबाट निवेदन आउनासाथ विद्युत जोडिन्छ ।’’

डेडिकेटेड र ट्रक लाइन प्रयोग गरेबापत नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने नियमितबाहेकको महसुल नबुझाएको भन्दै प्राधिकरणले पुस ६ गते साँझ ६ः३० बजे उक्त उद्योगको लाइन काटिदिएको थियो । त्यसयतादेखि उद्योग बन्द छ । उद्योगमा चार हजारभन्दा बढी कामदारहरू कार्यरत रहेका थिए ।