• १५ वैशाख २०८१, शनिबार

राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारका विरूद्ध उजुरी दिन सकिने

blog

काठमाडौँ, पुस २४ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनमा १९ पदका लागि सात वटै प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार (आज) उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ । यसरी परेको उजुरीमाथि निर्वाचन अधिकृतको कार्यालयले बिहीबार जाँचबुझ गरी निर्णय गर्नेछ । 

गोरखापत्रका विराटनगर समाचारदाता शशिधर पराजुलीका अनुसार कोशी प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलबाट दुई जना र अन्य समूहका लागि तीन राजनीतिक दलबाट तीन जना गरी जम्मा पाँच जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ । कोशीमा नेकपा (एमाले) बाट रुक्मिणी कोइराला र नेकपा (माओवादी केन्द्र) बाट चम्पादेवी कार्की तथा अन्यतर्फ नेकपा (एमाले) बाट पर्शुराम अधिकारी, नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उद्धव पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

जनकपुर समाचारदाता धीरेन्द्रप्रसाद साहका अनुसार मधेश प्रदेशमा महिलातर्फ दुई र अन्यतर्फ तीन जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । महिलातर्फ नेकपा (एमाले) बाट उषादेवी थरुनी र जनता समाजवादी पार्टीबाट पूजा चौधरी र अन्यतर्फ नेकपा (एमाले) बाट कुमारी विजेता झा, नेपाली कांग्रेसबाट आनन्दप्रसाद ढुङ्गाना र जनमत पार्टीबाट रामशङ्कर महासेठले उम्मेदवारी दिनुभएको छ । मधेशबाट एक महिला र एक अन्य गरी दुई जना निर्वाचित हुने छन् । 

मकवानपुर समाचारदाता राममणि दाहालका अनुसार बागमती प्रदेशमा नेकपा (एमाले) बाट रोचकुमारी चौलागाईं, नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बालकुमारी डल्लाकोटी र नेपाल मजदुर किसान पार्टीबाट कृष्णलक्ष्मी दुवालले उम्मेदवारी दर्ता गराउनुभएको छ । दलिततर्फ नेकपा (एमाले) बाट ध्रुवराज विश्वकर्मा, नेकपा (एकीकृत समाजवादी) बाट घनश्याम रिजाल र नेपाल मजदुर किसान पार्टीबाट सङ्गीता नेपालीले उम्मेदवारी दिनुभएको छ । 

अपाङ्गता भएका वा अल्पसङ्ख्यक समूहतर्फ नेकपा (एमाले) बाट विवेक देवकोटा, नेकपा (माओवादी केन्द्र) बाट श्रीकृष्णप्रसाद अधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भरतमणि भट्ट र नेपाल मजदुर किसान पार्टीबाट हिमालेश्वरलाल मुलले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

सोही प्रदेशमा अन्य समूहतर्फ एक पदका लागि चार जनाको उम्मेदवारी परेको छ । अन्य समूहतर्फ नेकपा (एमाले) बाट त्रिलोचन निर्मल पौडेल, नेपाली कांग्रेसबाट जितजङ्ग बस्नेत, राप्रपाबाट हेमजङ्ग गुरुङ र नेमकिपाबाट श्रीकृष्ण महर्जनले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

बागमतीबाट महिला, अन्य, दलित र अपाङ्गता भएका वा अल्पसङ्ख्यक समूहबाट एक एक जना गरी चार जना निर्वाचित हुने छन् । सो प्रदेशबाट कुल १५ जनाको उम्मेदवारी परेको छ । 

पोखरा समाचारदाता रमेश पौडेल र लेखनाथ समाचारदाता फडिन्द्र अधिकारीका अनुसार गण्डकी प्रदेशमा महिलातर्फ नेकपा (एमाले) बाट सम्झना देवकोटा, नेकपा (माओवादी केन्द्र) बाट मनरूपा शर्मा र राप्रपाबाट गौमाया श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । अपाङ्गता भएका वा अल्पसङ्ख्यकतर्फ नेकपा (एमाले) बाट हेमन्द्र शेरचन र नेपाली कांग्रेसबाट पदमबहादुर परियारले उम्मेदवारी दिनुभएको छ । गण्डकीमै अन्य समूहतर्फ नेकपा (एमाले) बाट चव्रmबहादुर पराजुली, नेपाली कांग्रेसबाट किरणबाबु श्रेष्ठ र राप्रपाबाट रोमबहादुर भण्डारीले उम्मेदवारी दिनुभएको छ ।  गण्डकीमा तीन जना सदस्य निर्वाचित हुने छन् । जसका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

घोराही समाचारदाता लीलाधर वलीका अनुसार लुम्बिनीमा महिला समूहतर्फ नेकपा (एमाले) बाट तुलसाकुमारी केसी, नेपाली कांग्रेसबाट विष्णुकुमारी सापकोटा र राप्रपाबाट विजयालक्ष्मी सिंहले उम्मेदवारी दर्ता गराउनुभएको छ । लुम्बिनीमै अन्य समूहतर्फ चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा (एमाले) बाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, नेकपा (माओवादी केन्द्र) बाट झक्कुप्रसाद सुवेदी, राप्रपाबाट निरञ्जनकुमार थापा र जनमत पार्टीबाट बालगोविन्द चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

लुम्बिनी प्रदेशमा महिला र अन्यतर्फ एक एक जना गरी दुई जना निर्वाचित हुने छन् । दुई पदका लागि सात जनाको उम्मेदवारी परेको छ । 

काँक्रेबिहार समाचारदाता नवीन शाहीका अनुसार कर्णाली प्रदेशमा महिलातर्फ नेकपा (एमाले) बाट विमलाकुमारी शाही, नेकपा (एस) बाट सावित्री मल्ल, दलिततर्फ नेकपा (एमाले) बाट हिक्मत विक र नेकपा (माओवादी केन्द्र) बाट विष्णुबहादुर विश्वकर्मा र अन्यतर्फ नेकपा (एमाले) बाट डिल्लीप्रसाद भट्ट र नेपाली कांग्रेसबाट कृष्णबहादुर रोकायले उम्मेदवारी दिनुभएको छ ।  

कर्णाली प्रदेशमा तीन समूहबाट तीन जना निर्वाचित हुने छन् । आयोगका अनुसार सो प्रदेशबाट छ जनाको उम्मेदवारी परेको छ । 

कैलाली समाचारदाता प्रकाशविक्रम शाहका अनुसार सुदूरपश्चिम प्रदेशमा महिलातर्फ नेकपा (एमाले) बाट सावित्रादेवी घिमिरे र नेकपा (माओवादी केन्द्र) बाट रेनु चन्दले उम्मेदवारी दिनुभएको छ । अपाङ्गता भएको वा अल्पसङ्ख्यकतर्फ नेकपा (एमाले) बाट रामचन्द्र जोशी र नेपाली कांग्रेसबाट नारायणदत्त भट्टले उम्मेदवारी दिनुभएको छ । अन्यतर्फ नेकपा (एमाले) बाट ईश्वरीप्रसाद खरेल र नेपाली कांग्रेसबाट बलदेव बोहराले उम्मेदवारी दिनुभएको छ । सुदूरपश्चिम प्रदेशमा तीन जना निर्वाचित हुने छन् । तीन पदका लागि छ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय सभाको निर्वाचन आउँदो माघ ११ गते हुने छ ।