• १४ मंसिर २०८१, शुक्रबार

एकजुट भई गठबन्धनका उम्मेदवार जिताऔँ : नेता सिटौला

blog

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य चम्पादेवी कार्की मनोनयन दर्ता गर्नुहुँदै । तस्बिर : शशीधर पराजुली

काठमाडौँ, पुस २३ गते । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा उम्मेदवार छनोट प्रक्रियामा भएका कमजोरीलाई थाँती राखेर गठबन्धनका उम्मेदवार जिताउन लाग्नुपर्ने बताउनुभएको छ । 

राष्ट्रिय सभा चुनावका लागि कोशी प्रदेशमा सोमबार मनोनयन दर्ता गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कांग्रेसले राष्ट्रिय सभा उम्मेदवार छनोट गरेको बारेमा आफूलाई पूरा जानकारी नरहेको र अब सबै एकजुट भएर गठबन्धन उम्मेदवार जिताउन लाग्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘राति अबेर निर्णय भयो कसरी भयो थाहा छैन, मैले सही कुरा बुझ्न पाएको छैन । आजको दिनमा गठबन्धनबाट नेपाली कांग्रेससहित गठबन्धनका साथीहरूले एकजुट भई उम्मेदवारी दर्ता गराएका छौँ । हामी गठबन्धन एक भएर निर्वाचनमा लड्छौँ । उम्मेदवार छनोट गर्दा निर्णय प्रक्रियामा जे जति भएका छन्, त्यसलाई थाँती राखेर गठबन्धनका उम्मेदवार जिताउन लाग्नेछौँ ।’’

सिटौलाको प्रस्तावकमा प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की रहनुभएको छ ।