• २१ वैशाख २०८१, शुक्रबार

सुदूरपश्चिममा गठबन्धन र एमालेबाट उम्मेदवारी दर्ता

blog

नेपाली कांग्रेससहितका उम्मेदवार उम्मेदवारी दर्ताको क्रममा । तस्बिर : प्रकाश विक्रम शाह

धनगढी, पुस २३ गते । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार बनेका उम्मेदवारहरुले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । 

यस्तै, गरेर नेकपा (एमाले) का उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छन् । धनगढीस्थित निर्वाचन आयोगको प्रदेश निर्वाचन कार्यालय धनगढीमा सत्तारुढ गठबन्धन र एमालेका उम्मेदवारको उम्मेदवारी दर्ता भएको हो । 


नेकपा (एमाले)का उम्मेदवार उम्मेदवारी दर्ताको क्रममा । तस्बिर : प्रकाश विक्रम शाह

निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टका अनुसार सत्तारुढ गठवन्धनबाट काँग्रेसले अन्यबाट कञ्चनपुरका बलदेव बोहरा र अपाङ्ग तथा अल्पसंख्यक कैलाली कांग्रेसका सभापति नारायणदत्त भट्टले उम्मेदवारी दर्ता गर्नुभएको छ  ।

बोहरा कांग्रेसका कञ्चनपुर सभापति, जिल्ला विकास समितिका सभापति र संविधान सभा सदस्य पनि भइसक्नु भएको छ । यस्तै, कैलालीका भट्ट दोस्रो जनआन्दोलनबाट घाइते भएर अपाङ्गता हुनुभएको छ ।

यस्तै, सत्ता गठबन्धनबाटै महिलाबाट माओवादी केन्द्रका रेनु चन्दले उम्मेदवारी दर्ता गर्नुभएको छ । चन्द २०६४ सालको संविधान सभा सदस्य पनि हुनुहुन्छ । 

एमालेबाट अन्यबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल, महिलाबाट कैलालीकी सावित्री घिमिरे र  अपाङ्ग तथा अल्पसंख्यक कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवारी दर्ता गर्नुभएको छ । 

खरेल केन्द्रीय लेखा आयोग सदस्य हुनुहुन्छ भने घिमिरे अनेमसङ्घ कैलालीकी पूर्वअध्यक्ष हुनुहुन्छ । जोशी एमालेको भ्रातृ सङ्गठन अपाङ्ग संघका केन्द्रीय सदस्य हुनुहुन्छ ।

सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यका सदस्यहरु नेकपा (माओवादी केन्द्र) का हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा (एमाले) का ईन्दु कडरियाको पदावधि सकिन लागेको हो ।