• १५ मंसिर २०८१, शनिबार

माओवादीले लडाकु बिर्सियो, लडाकुले पनि पार्टी बिर्से

blog

पूर्व माओवादी लडाकु कुमार विक । तस्बिर : गोरखापत्र

बोमलाल गिरी

नवलपुर, पुस २२ गते । नवलपुरको हात्तिखोर तत्कालीन नेकपा माओवादीका सेनाले खडा गरेको शिविर हो । शान्तिप्रकिया सम्पन्न भएर सेना समायोजनपछि उक्त शिविरमा नेपाली सेनाको सेवादल गण बस्यो । अहिले उक्त गणलाई सुन्दर देखिने गरी सजावट गरिएको छ । रुख रोपिएको छ । रुखलाई आकर्षक देखिने गरी पेन्टिङ गरिएको छ । बिचबिचमा (वाक पथ) हिँड्ने बाटो बनाइएको छ । गण भित्रै खेल मैदान र कोर्टहरू बनाइएको छ । 

तर त्यही गणको गेट बाहिर एउटा बस्ती छ । जुन हेर्दैमा निक्कै टिठ लाग्दो देखिन्छ । टिनका छाना लगाएका दुई कोठो घरहरू लहरै छन् । पानीको पर्याप्तता छैन । सरसफाइमा ध्यान दिइएको छैन । केही घरहरूमा दुई चारवटा कुखुरा पालिएको छ । कुखुराले त्यस्तै फोहोर बनाएका छन् । सडक पिच छैन । कच्ची सडकभरी सालका पातलाई गाँसेर टपरी बनाउने कच्चा सामाग्री लहरै सुकाइएको छ । यो बस्ती हो सेना समायोजनपछि बाहिरिएका माओवादी लडाकुहरूको । 

शनिबार त्यो बस्तीमा पुग्दा ४५ वर्षीय कुमार बिक भेटिनुभयो । रोगले ग्रस्त भई राम्रोसँग बोल्न पनि नसक्ने अवस्थामा रहेका विक आफूहरूले निर्माण गरेको घर पारीको हात्तिखोर शिविर (सेवा दल गण) तिर नियाल्दै बसिरहनु भएको थियो । जिङरिङ्ग परेको कपालमाथि क्याप, रातो टिसर्टबाहिर पुरानो हाफ ज्याकेट अनि मैलो ट्राउजर लगाएका विकका खुट्टाका नङ नकाटेको पनि धेरै भइसकेको जस्तो देखिन्थ्यो । 

छेवैमा धागो काट्ने चर्खा थियो । उहाँ बिरामी परेपछि चर्खा पनि चलेको छैन । त्यसैले चर्खा मक्किसकेको छ । ‘के बिरामी पर्नु भयो ?, मैले सोधेँ । 

‘खै थाहा छैन ।’ उहाँको छोटो जवाफ थियो ।

‘चेक गराउनु भएको छैन ?’ एक चोटि त नवलपुर अस्पताल गएर गराको हो । त्यसपछि फेरी जाने पैसा भएन । त्यसैले गराको छैन, उहाँले मन लाई–नलाई जवाफ दिनुभयो ।

‘के हुन्छ तपाईँलाई ? मलाई फेरि सोध्न मन लाग्यो, ‘चक्कर आउँछ ।’ छोटकरीमा जवाफ फर्काउनुभयो । 

नाम सोध्ने बित्तिकै उहाँले आफूलाई सिस्टम भनेर परिचित गराउनुभयो, जुन उहाँको पार्टीले राखिदिएको नाम थियो । उहाँ माओवादी लडाकुको सेक्सन कमाण्डर हुनुहुँदो रहेछ । रोल्पाका विक सेना समायोजन पछि पाएको पाँच लाख रुपियाँले केही जग्गा र सानो टहरो बनाएर हात्तिखोरमै स्थायी बसोबास गरिरहनु भएको छ । 

‘तपाई अहिले पनि माओवादी हो ?’ त्यत्रो वर्ष माओवादी भएर बिताएका विकको राजनीतिक आबद्धता बुझ्न मन लग्यो । ‘होइन, छैन’ नाक कोट्याउँदै उहाँको छोटो जवाफ आयो । खारा, होलेरी, चित्रेभञ्ज्याङ लगायत थुपै लगाइमा सहभागी भएका कुमार विक पाल्पा आक्रमणमा भने बालबाल बच्नु भएको थियो । 

‘किन त त्यत्रो वर्ष युद्ध गरेर आएको पार्टीको माया लाग्दैन ?’ मैले थप बुझ्न चाहे । 

‘माया त लाग्छ, फर्म भर्न आउँदैन । पार्टीका मान्छे कोही आउँदैन । हामीसँगै युद्ध लगेका कोही साथी कहाँ पुगे, आफू त यस्तै भैयो’ नैराश्य प्रकट गर्दै विकले भन्नुभयो । 

‘तपाईँसँगैका अरू साथीहरू अहिले माओवादीमा आबद्ध छन् कि छैनन् ?’ उहाँको मुखबाट फ्याट्ट जवाफ निस्क्यो, ‘छैनन् कोही पनि, सबैले छोडिसके ।’

उहाँसँगको छोटो भेटपछि सँगै रहेको अर्को घरमा पुगे म। त्यो घर अर्का माओवादी लडाकुको रहेछ- पर्वतका दलबहादुर नेपालीकाे । उहाँ हाल तीन वर्षदेखि साउदी अरबमा हुनुहुन्छ । घरमा एक छोरा र उहाँकी श्रीमती भेटिनुभयो । श्रीमती घरमै चटपटेको व्यापार गरिरहनुभएको छ । नयाँ मान्छे देखेर होला म पत्रकारभन्दा पनि उहाँकी श्रीमती सरिता खुलेर बोलिरहनु भएको थिएन । 

‘पार्टीले राखिदिएको तपाईँको श्रीमानको नाम के हो नि ?’ ‘खै थाहा छैन’ मेरो प्रश्नमा सरिताको जवाफसँगै सँगै रहेका छोराको जवाफ आयो ‘आक्रोश’ ।

‘तपाईँको श्रीमान् अहिले पनि माओवादी हुनुहुन्छ ?’ यो प्रश्नको जवाफ पनि छोरोले नै दिए, ‘हुनुहुन्न’ ।

उहाँहरूसँगको छोटो भलाकुसारी पछि बाटोमै भेटिनुभयो श्यामलाल मगरातीकी श्रीमती दिलमाया मगराती । श्यामलालले लामो समय माओवादी लडाकु भएर काम गर्नुभयो । नराम्रोसँग बिरामी परेका उहाँ तीन लाख रुपियाँ खर्च गरेपछि अहिले केही निको हुनु भएको छ । तर अहिले पार्टीमा उहाँको आबद्धता छैन । 


पूर्व लडाकु दिलमाया मगराती । तस्बिर : गोरखापत्र 

‘मरेर बाँचेको मान्छे, अहिले त बुढो पनि हुनु भयो । लेखापढी पनि छैन । पार्टीमा लागेर मात्र के गर्नु भनेर अहिले त कतै लाग्नु भयो, दिलमायाले भन्नुभयो, ‘जति पाटी पाटी भने पनि आफ्नो दुःख आफैँसँग हुँदो रहेछ । बलियाबांगा, पाटीमा चल्नेहरू माथि पुगे, हामी त जहाँको त्यहीँ, जस्ताको तस्तै ।’

श्यामलालको घरसँगै जोडिएको छ अर्का लडाकु दाङका सरोज विकको । उहाँको घरमा पुग्दा ताला लागेको थियो । मैले सबै घरमा पुगेर सबै लडाकुको अवस्थाको बारेमा बुझ्न खोजेको थिएँ । तर बिरामी परेका कुमार विक बाहेक कोही भेटिएन । समय मध्यान्हको १२ बज्दै थियो । अलि माथिका छिमेकीहरू भन्दै  थिए कोही विदेश पसे, कोही पहाड तिर उक्ले, केही थला परेका छन् अनि बाँकी रहेका केही प्रार्थना गर्न चर्चमा गएका छन् । 

शान्ति प्रक्रियापछिको पहिलो संविधान सभा चुनावमा नेकपा माओवादी सबैभन्दा ठुलो दल थियो । हतियार बिसाए पनि सेनामा समायोजन भएका बाहेक प्रमुख चुनावी हतियार तिनै लडाकु थिए । दोस्रो संविधान सभामा केही खुम्चिएको माओवादी अहिले झनै खुम्चिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार पार्टी यसरी खुम्चिनुको प्रमुख कारण पार्टीका सिपाहीहरूलाई यसरी नै बेवास्ता गर्नु हो । उनीहरूको दुःख सुखमा साथ नदिने, फर्केर नहेर्ने, सङ्गठित गर्न नसक्ने प्रवृत्ति हो ।  


चटपटे ब्यापारी सरिता नेपालीको घर ।  तस्बिर : गोरखापत्र 

तर नेकपा माओवादी केन्द्र नवलपुरका इन्चार्ज अमर तमु यसमा पार्टीको स्थानीय नेतृत्वले ध्यान दिन नसकेको स्वीकार गर्नुहुन्छ । ‘म इन्चार्ज भएर आएको धेरै भएको छैन । त्यसैले मलाई त्यहाँको अवस्थाका बारेमा धेरै थाहा छैन । फेरि पनि पार्टीमा सल्लाह गरेर उहाँहरूलाई परेको दु:ख, सुखमा पार्टीले पक्कै पनि ध्यान दिन्छ ।’