• १३ साउन २०८१, आइतबार

गेटा आँखा अस्पतालमा उपचारमा आउने ६० प्रतिशत भारतीय नागरिक

blog

कैलालीको गोदावरी नगरपालिका–५ स्थित गेटा आँखा अस्पताल । तस्बिर : गोरखापत्र

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), पुस २२ गते । कैलालीको घोडाघोडी नगरपालिका-४ सुन्दरपुरका नन्दकली सापकोटाले एउटा आँखा धमिलो हुँदै गएपछि उपचारका लागि गेटा आँखा अस्पताल जानुभयो ।

४८ वर्षीय सापकोटाको आँखाको नानीमा चोट लागेर भित्रभित्रै पाकेको र शल्यक्रिया गर्नुपर्ने चिकित्सकको सुझावपछि उहाँले दुई महिना अगाडी शल्यक्रिया गर्नुभयो । नन्दकली भन्नुहुन्छ, “सामान्य भनेर उपचारमा नगएको भए मेरो त आँखाको दृष्टीनै जाने रैछ , धन्न समयमै गए, अप्रेसन भयो, अहिले आँखाले राम्रोसँग देख्न थालेको छु ।”

गेटा आँखा अस्पतालमा उपचारमा आएका भारतको पलिया खिरीका रामदास गुप्ता दोस्रो पटक अस्पताल आउनु भएको हो । पहिला उपचारमा सुधार आएपछि अहिले फेरी डाक्टरलाई पूर्ण सुधार भएको छ कि छैन देखाउन खाएको गुप्ताले बताउनुभयो ।

नन्दकली र रामदास जस्तै आँखाको विभिन्न समस्या लिएर गेटा आँखा अस्पताल जाने नेपाली भन्दा भारतीय नागरिकको सङ्ख्या बढ्दै गएको छ । नेपाल नेत्र ज्योति सङ्घद्वारा २०३८ सालमा स्थापना भएको गेटा आँखा अस्पताल सुदूरपश्चिम प्रदेशका नागरिकको मात्र नभई भारतीय नागरिकको लागि आँखा उपचारमा वरदान साबित भएको बताइन्छ । 

कैलाली जिल्लाको गोदावरी नगरपालिका ५ गेटामा अवस्थित गेटा आँखा अस्पताल स्थापना भएको चारदशक बढी भैसकेको छ । उक्त अस्पतालमा नेपालीले मात्र नभई भारतीय नागरिकको समेत आँखाको विभिन्न समस्याको उपचार गराउँदै आएका छन् । 

अस्पतालका निर्देशक डाक्टर सुरेशराज पन्तले अस्पतालमा आउने आँखाका बिरामी मध्ये ओपिडीमा ३३ प्रतिशत र अप्रेसनमा ६० प्रतिशत भारतीय नागरिक रहेको जानकारी दिनुभयो । सुरुमा समस्या भएपछि गुणस्तरीय सेवा दिँदै आएको अस्पतालमा दातृ निकायको सहयोग हुन थालेपछि अहिले अस्पतालको विकाससँगै गुणस्तरीय सेवाको चर्चा हुन थालेको छ ।

नेपाल सरकारले अस्पताल सञ्चालनका लागि दिएको दश बिगाहा क्षेत्रफलमा फैलिएको आँखा अस्पतालमा गैरसरकारी संस्था, स्थानीय, प्रदेश सरकार र भारतीय दूतावासको सहयोगमा भौतिक संरचना निर्माण तथा उपकरण जडान भएपछि आँखाका बिरामीको उपचारमा थप सहज भएको निर्देशक डाक्टर पन्तले बताउनुभयो । 

उहाँले अस्पतालमा हाल १६० जना जनशक्ति कार्यरत रहेको जनाउँदै १५ जना नेत्र विशेषज्ञ रहेको बताउनुभयो । गैरसरकारी संस्था अन्तर्गत सञ्चालित आँखा अस्पताल भएपनि हरेक वर्ष नौ जिल्लामा निःशुल्क आँखा शिविर सञ्चालन गर्नुका सार्थै मोतीविन्दुको शल्यक्रिया गर्दै आएको छ । गत वर्ष स्थानीय सरकारसँग समन्वय गरेर अस्पतालले ५० वटा निःशुल्क आँखा शिविर सञ्चालन गरेको डाक्टर पन्तले जनाउनुभयो ।

बिरामीबाट लिने शुल्क नै मुख्य आम्दानी भएको जनाउने अस्पतालले वार्षिक करिब ३० करोडको आम्दानी गर्दै आएको छ । डडेलधुरा, टिकापुर र महेन्द्रनगरमा विशेषज्ञ सेवा सहितको शाखा अस्पताल सञ्चालनमा रहेको र नौ जिल्लाका विभिन्न स्थानीय तहमा स्थानीय सरकारको समन्वयमा १८ वटा आँखा उपचार केन्द्र स्थापना भएको अस्पतालका निर्देशक डा.पन्तले बताउनुभयो ।

सुरुमा मोतिविन्दुको मात्र उपचार हुने उक्त आँखा अस्पतालमा विशेषज्ञ, उपकरणको व्यवस्था भएसँगै आँखाको नाली, पर्दा, नानी, जलबन्दी, ट्युमर, गाँठागुठी लगायत आँखासँग सम्बन्धित सबै समस्याको उपचार हुँदै आएको निर्देशक डा. पन्तले बताउनुभयो ।