• १७ असार २०८१, सोमबार

नगद अनुदानले बढ्यो कृषिजन्य उत्पादन

blog

राधाकृष्ण डुम्रे

वालिङ ,पुस २२ गते । स्याङ्जाको फेदीखोला गाउँपालिकामा स्थानीय कृषि उत्पादन बढेको छ । कृषिजन्य उत्पादन गरी बेच्ने किसानलाई गाउँपालिकाले उत्पादन तथा बिक्रीको आधारमा १५ प्रतिशत नगद अनुदान दिँदै आएको पालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो । 

उहाँका अनुसार कृषिमा आकर्षण बढाउन न्यूनतम समर्थन मूल्य २६ वटा कृषिजन्य वालिमा व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो, “अनुदानको कारणले नै पालिकाका नागरिकहरू यसतर्फ आकर्षित भइरहेका छन् ।” नगद अनुदानका कारण कृषक उत्साहित छन्, हामी यसलाई नियमित गराउन दीर्घकालीन योजना बनाएर काम गरिरहेका छौँ ।

यस्तै, वार्षिक रूपमा ३० करोडको कृषि जन्य उत्पादन बिक्री वितरण हुने तथा पालिकाका एक हजार सात सय रोपनीभन्दा धेरै क्षेत्रफलमा कृषि खेती भइरहेको उहाँको भनाइ छ । कृषि पेसालाई पालिकाले सहयोग गरेकै कारण आफूहरू व्यावसायिक बन्दै गएको कृषक सावित्री विकले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पालिकाले हामीलाई अनुदान दिन्छ, राम्रो गरे थप पुरस्कार पनि दिन्छ, बालीमा क्षति पुगे क्षतिपूर्ति पनि दिन्छ, बिक्री नभए बजारीकरण गरिदिन्छ, हामीले राम्रो उत्पादन गरे मात्रै पुग्छ ।”

पालिकाले कृषि क्षेत्रको आकर्षण बढाएसँगै एक हजार दुई सय कृषक र एक सय ४४ कृषि फार्म सूचिकृत भएका पालिकाले जनाएको छ । कृषि क्षेत्रको विकास गर्न आकर्षण गर्न वार्षिक रूपमा कृषि मेला गरेर उनीहरूलाई पुरस्कृत गर्ने व्यवस्था समेत मिलाएको छ । भर्खरै पालिकाले गरेको मेलामा ३४३ जना प्रतिस्पर्धा भएको ८० जना उत्कृष्ट कृषकले पुरस्कार समेत पाएका छन् । 

विदेशबाट फर्किएर स्वदेशमा नै उद्यमी बन्न चाहनेलाई पालिकाले बिना धितो ५ लाखसम्म ऋणका लागि सहजीकरण गर्दै आएको अध्यक्ष सुवेदीले बताउनुभयो । कृषि उत्पादनको सहज बजारीकरणका लागि फेदीखोलामा साप्ताहिक कृषि हाटबजार सञ्चालन गर्दै आएको छ । आँधीखोला गाउँपालिकाको सर्केटारीमा हुने हाटबजारमा स्थानीय उत्पादनको बिक्री वितरण हुन्छ । यसलाई दिगो बनाउन फेदीखोला साना किसान कृषि सहकारी संस्थालाई पालिकाले सहयोग गरेको छ ।