चन्द्र पन्दाक
ताप्लेजुङ, पुस २० गते । ताप्लेजुङका उद्योगी व्यवसायीले प्रहरी नियन्त्रणमा रहेका सहकर्मी व्यवसायीको रिहाइको माग राख्दै आन्दोलनको घोषणा गरेका छन् । प्रहरी हिरासतमा रहनुभएका सदरमुकाम फुङ्लिङका व्यवसायी भद्रवीर रेग्मीको रिहाइको माग गर्दै उद्योग–व्यवसायीले शनिबारदेखि आन्दोलनको घोषणा गरेका हुन् ।
ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग तथा व्यवसायी महासङ्घले शुक्रबार छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गर्दै बजार, पसल र यातायात बन्दसहित आन्दोलनको घोषणा गरेका हुन् । सामान्य घटनामा पक्राउ परेका व्यवसायी रेग्मीलाई एकसाता बित्दासमेत रिहाइ नगरिएकाले आन्दोलित बन्न बाध्य भएको व्यवसायीले जनाएका छन् ।
भोलि शनिबारदेखि बजार, पसल र यातायात बन्दको घोषणा गरिएको उद्योग वाणिज्य सङ्घले जनाएको छ । वाणिज्य सङ्घ र व्यवसायी महासङ्घले रेग्मीलाई विनाशर्त रिहाइ नगरे चरणबद्ध आन्दोलनमा उत्रनेसमेत विज्ञप्तिमार्फत चेतावनी दिएका छन् । यता व्यवसायी रेग्मीलाई पक्राउ गरेपछि व्यावसायिक नेतृत्व तथा उद्योग वाणिज्य सङ्घले पटक–पटक घटनाका विषयमा समन्वय र सहजीकरण गर्न खोज्दा समेत प्रहरी नेतृत्वले बेवास्ता गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सामान्य घटनालाई आपसी सहमतिको माध्यमबाट समाधान खोज्नुपर्नेमा जिल्लास्थित प्रहरी नेतृत्वले समझदारीको वातावरण बिगार्न र षड्यन्त्र गर्न खोजिएको आरोपसमेत व्यवसायीले लगाएका छन् । छिमेकीसँग भएको विवाद विषयलाई लिएर गत साताको बिहीबार रेग्मीलाई प्रहरीले पक्राउ गरेको थियो । रेग्मी फुङ्लिङ बजारका सक्रिय व्यवसायी हुनुहुन्छ भने ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका सदस्य तथा अलैँची व्यवसायी सङ्घका जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।