• १४ मंसिर २०८१, शुक्रबार

पाँच दिने धरान उत्सव सुरु

blog

धरान उत्सवमा सहभागी विशिष्ट अतिथि काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र शाह, धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राईलगायत ।

निशा राई

धरान, पुस २० गते। धरान स्थापना भएको १२३ औँ वर्षको अवसरमा पाँच दिने धरान उत्सव सुरु भएको छ। 

शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार, बहुसांस्कृतिक आवासीय समृद्ध सहर भन्ने नारासहित शुक्रबार पब्लिक स्कुलको खेल मैदानमा प्रमुख अतिथि ज्येष्ठ नागरिक चन्द्रमाया कट्वाल (१०२ वर्ष) ले पानसमा बत्ती बालेर धरान उत्सवको उद्घाटन गर्नुभएको थियो। 

उहाँले विशिष्ट अतिथि काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र शाह, धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राई र उपप्रमुख आइन्द्रविक्रम बेघालाई माला लगाई स्वागत तथा धन्यवाद दिनुभएको थियो।

धरानमा पहिला भन्दा हाल धेरै विकास भएको देखेर खुशी लागेको भएको विशिष्ट अतिथि काठमाडौं महानगरपालिकाको प्रमुख बालेन्द्र शाहले बताउनुभयो। धरान काठमाडौं भन्दा संस्कार, संस्कृति, कलाको क्षेत्रमा धेरै अगाडि रहेको उहाँले बताउनुभयो। पछिल्लो समय धरानले गरेको श्रमसंस्कृतिको विकास सबैले सिक्न जरुरी रहेको प्रमुख शाहले बताउनुभयो। 

राष्ट्रिय गानले भने जस्तै सयौं थरीका फूलका साझा एउटा मालाको रुपमा धरान रहेका नगर प्रमुख हर्कराज राईले बताउनुभयो। धरानमा हरेक कार्यक्रमहरुमा विभिन्न जातजातिका झाँकी र्याली सहितको संस्कार, संस्कृतिले धरान एक साझा मालाको रुपमा बाँचेको उहाँले भन्नुभयो। संस्कार संस्कृतिलाई दर्शाउने झाँकी र्यालीले विविधता भित्रको एकता धरानमा रहेको नगर प्रमुख राईले बताउनुभयो। 

जबसम्म एकले अर्कालाई सम्मान गर्दैनौ तबसम्म शान्ति आउँदैन, तसर्थ एकले अर्कालाई सम्मान गरेपटि सामाजिक सद्भाव रहने र शान्ति आउने र शान्तिपछि समृद्धि आउने नगर प्रमुख राईले बताउनुभयो। 


धरानमा सबै जाति सबै धर्मलाई सम्मान गर्दै आएको धरानका उपप्रमुख आइन्द्रविक्रम बेघाले बताउनुभयो। धरान काठमाडौँ पछिको सांस्कृतिक जातजातिको बाहुल्यता भएको ठाउँ रहेको उहाँले बताउनुभयो। धरान १२३ वर्ष अगाडि १९५७ सालमा चन्द्र शमशेरले बस्ती बसाएको उपप्रमुख आइन्द्र बेघाले बताउनुभयो। 

धरान उपमहानगरपालिकाले हरेक वर्ष पुस २० गतेलाई धरान स्थापना दिवसको रूपमा धरान उत्सवको आयोजना गर्दै आएको छ।  यो वर्ष धरान स्थापना भएको १२३ औँ वर्ष पुगेको छ। उत्सवको उद्घाटन समारोहमा धरानको सबै वडाबाट विभिन्न सङ्घ संस्था, सबै विद्यालयले पनि उक्त समारोहमा भाग लिएका थिए। 

सबै सहभागीले धरान उत्सवको ब्यानर बोकेर नगर परिक्रमा गरेका थिए। त्यसै गरेर धरानका विभिन्न जातीय संस्थाको पनि सांस्कृतिक झाँकी र्‍यालीसहित सहभागिता रहेको थियो। 

धरान उत्सवमा यो सालदेखि रोटे पिङ तथा बालबालिकाको लागि मनोरञ्जनको गाडी, नाउहरु राखिएको छ। उत्सव उद्घाटन समारोहमा धरानलाई उत्कृष्ट कर बुझाएकोमा पाँच जनालाई  र  सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न सङ्घसंस्था, पत्रकार, गायकहरूलाई पनि सम्मान गरिएको थियो। 

उत्सव उद्घाटन समारोहलाई प्रदेश १ का प्रतिनिधि सभा सदस्य रमेशकुमार बस्नेत, विजयकुमार राई, भगिनी सम्बन्ध रहेको पोखरा महानगरपालिकाको प्रतिनिधि मोतीलाल तिम्सिना लगायतले सम्बोधन गर्नुभएको थियो।