• १३ साउन २०८१, आइतबार

बाँकेका दुई पालिका सिकलसेल रोगको उच्च जोखिममा

blog

कोहलपुरमा सिकलसेलबारे विद्यार्थीहरुलाई जानकारी गराएर सचेतना फैलाईंदै ।

सिराज खान 

नेपालगन्ज, पुस २० गते । बाँके जिल्लाका थारु समुदायको बाहुल्यता भएका दुई वटा पालिका सिकलसेल रोगको उच्च जोखिममा रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार जिल्लाका थारु बाहुल्य कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिका सिकलसेल रोगको उच्च जोखिममा छन् । 

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले थारु समुदायमा जनस्वास्थ्य समस्याका रूपमा देखिएको सिकलसेलका बिरामीहरू कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकामा भेटिने क्रम बढ्दै गएको पाइएकोले ती दुवै पालिका उच्च जोखिममा रहेको बताउनुभयो । उहाँले कोहलपुर नगरपालिकामा हालसम्म करिब १३ हजार जनाको सिकलसेल एनिमियाको रक्त नमुना परीक्षण गरिएकोमा सय जना भन्दा बढीमा सिकलसेल रोग भेटिएको बताउनुभयो ।

सोही प्रकारले राप्तीसोनारी गाउँपालिकामा तीन हजार ३५० जनाको नमुना जाँच भएकोमा ५६ जना सिकलसेलका रोगी भेटिएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । उहाँले विगत केही समययता ती दुवै पालिकालाई प्राथमिकता दिएर थारु समुदायका नागरिकको रगत नमुना सङ्कलन र परीक्षण गर्ने अभियान सुरु गरिएको हुँदा दुवै पालिका जोखिममा रहेको पुष्टि भएको हो । 

कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले सिकलसेल पहिचानको अभियान चलाउँदा सय जना भन्दा बढी रोगी भेटिएपछि धेरैजना बिरामी अझैपनि हुन सक्ने भएकोले नियन्त्रण र पहिचान अभियाननै सञ्चालन गर्नुपर्ने देखिएको बताउनुभयो । यस्तै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले यो पालिका थारु बाहुल्य भएकोले यहाँ सिकलसेलको उच्च जोखिम रहेको कुरा हालसम्मकै परीक्षणबाट पुष्टि भएकोले यसलाई नियन्त्रण गर्न गम्भीर भएर लाग्ने बताउनुभयो ।

पहिचान र नियन्त्रणका लागि सहकार्यको सहमति               

यसैबिच थारु समुदायमा जनस्वास्थ्य समस्याको रूपमा देखिएको सिकलसेल रोग साझा समस्या भएको ठहर गर्दै पहिचान र नियन्त्रण गर्न कोहलपुर र राप्तीसोनारी पालिकाले सहकार्य गर्ने सहमति गरेका छन् । दुवै पालिकाका जनप्रतिनिधि र स्वास्थ्य कार्यालयका प्रतिनिधिबिच भएको बैठकपछि दुवै पालिकाबिच सिकलसेल एनिमिया रोगको पहिचान र नियन्त्रणमा समन्वय र सहकार्य गर्ने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरिएको छ । 

कोहलपुर नगरपालिकाका प्रमुख पुर्णप्रसाद आचार्य, उपप्रमुख सङ्गीता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल, प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा र स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठसम्मेलित बैठकपछि सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमति अनुसार अब राप्तीसोनारी गाउँपालिकाबाट सङ्कलन गरिएको रक्त नमुना कोहलपुर नगर अस्पतालमा रहेको सिकलसेल ल्याबमा परीक्षण गरिनेछ । रक्त नमुना जाँचका लागि नमुना सङ्कलनका आधारमा आवश्यक पर्ने केमिकल भने कोहलपुर नगरपालिकालाई राप्तीसोनारीले उपलब्ध गराउने भएको छ ।