• १५ वैशाख २०८१, शनिबार

राष्ट्रिय सभा निर्वाचन : हेटौँडामा ३३७ मतदाता कायम

blog

हेटौँडा ५ स्थित निर्वाचन अधिकृतको कार्यालय । फाइल तस्बिर

राममणि दाहाल
हेटौँडा, पुस २० गते ।
 हेटौँडामा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने क्रममा आज शुक्रबार यहाँ सर्वदलीय बैठक बसेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको सर्वदलीय बैठकमा आगामी माघ महिनामा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने बारेमा छलफल भएको हो ।

बैठकमा उम्मेदवार मनोनयनका लागि राजनीति दलहरूलाई उपलब्ध गराउने समयका बारेमा छलफल गरी तय गरिएको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौँडाका निमित्त निर्वाचन अधिकारी ताराप्रसाद आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसारमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि भएको दल दर्ताका आधारमा नै दलहरूले उम्मेदवारी मनोनयन गर्ने गरी तय भएको छ ।

यसैबिच, राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रम अनुसार आज शुक्रबार मतदाता नामावली प्रकाशन गरिएको छ ।

प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौँडाका निमित्त निर्वाचन अधिकारी आचार्यले ३३७ जना मतदाताको नामावली प्रकाशन गरेको बताउँदै मतदाता नामावलीमाथि दाबी विरोध गर्ने समय आजलाई रहेकोमा कसैको पनि दाबी विरोध नपरेको बताउनुभयो ।

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यका लागि आगामी माघ ११ गते मतदान कार्यक्रम तय गरेको छ । साथै राष्ट्रिय सभा सदस्यका लागि यही पुस २३ गते उम्मेदवार मनोनयन गर्ने गरी निर्वाचन कार्यक्रम तय भएको छ ।