• २७ वैशाख २०८१, बिहिबार

नेपालमा जलवायु परिवर्तनसम्बन्धी लगानी भित्र्याउन सक्ने अवस्था छैन : मन्त्री महतो

blog

काठमाडौँमा आयोजना गरेको संयुक्त राष्ट्र सङ्घको जलवायु परिवर्तन सम्बन्धी २८ औँ सम्मेलन (कोप–२८) को समीक्षात्मक बैठकमा बोल्नुहुँदै वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो ।

काठमाडौं, पुस २० गते । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले नेपालमा जलवायु परिवर्तनसम्बन्धी लगानी भित्र्याउन सक्ने अवस्था नरहेको बताउनुभएको छ ।

नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि आएको बजेट खर्च गर्ने अवस्था आफ्नै मन्त्रालयमा नभएकाले सो सम्बन्धी थप बजेट ल्याउने अवस्था नभएको मन्त्री महतोको स्पष्टीकरण थियो । आफ्नै मन्त्रालयले शुक्रबार काठमाडौँमा आयोजना गरेको संयुक्त राष्ट्र सङ्घको जलवायु परिवर्तन सम्बन्धी २८ औँ सम्मेलन (कोप–२८) को समीक्षात्मक बैठकमा बोल्नुहुँदै मन्त्री महतोले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लगानी गर्न आफूले आग्रह गर्दा दाताले नेपालमा खर्च गर्नसक्ने क्षमता नै नभएकाले दिन नसकिने जवाफमा दिएको र त्यसले आफूलाई लज्जित बनाएको गुनासो समेत गर्नुभयो ।

उहाँले जलवायु परिवर्तनसम्बन्धी बजेट समयमै खर्च गर्न पनि सम्बन्धित मन्त्रालय र निकायहरूलाई सचेत गराउनु भयो । त्यसो भएमात्रै थप बजेट माग्न सकिने मन्त्री महतोको भनाइ थियो ।

मन्त्री महतोले कोप–२८ मा नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेको समस्याबारे विश्वलाई जानकारी गराउन सकेपनि त्यस्तो सहयोग परिचालन गर्न भने ध्यान दिनुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्नुहुँदै मन्त्रालयका सचिव डा. दीपककुमार खरालले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सम्बन्धित मन्त्रालय र सबै पक्षबिच सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनु भयो । उहाँले जलवायु परिवर्तनको असर सबै पक्ष, तह र वर्गमा पुगेकाले यसको असर न्यूनीकरणमा सबैले समान ढङ्गले चासो दिएर अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।

सचिव खरालले भन्नुभयो, ‘‘यो जलवायु परिवर्तनको विषय अहिले यति क्रमकटिङ इस्युको रूपमा आएको छ कि समाजको कुनै सेक्टर, कुनै पक्ष, कुनै तह र कुनै वर्ग अछुतो रहेको छैन । यदि यो छैन भनेदेखि यसलाई सम्बोधन गर्न पनि सबै उही रूपमा लाग्नुपर्ने हुन्छ । यो अर्थमा यहाँहरूले जुन सहभागिता जनाउनुपर्ने हो, नेपाल सरकारका सबै निकाय, पक्षहरू, मन्त्रालयहरू यसमा संलग्न हुनु भएको छ । यो कोप २८ मा सहभागी हुनका लागि हामीले प्रधानमन्त्रीज्यूको निर्देशन अनुसार काम गरेर यसमा सफलता हासिल गरेका हौँ ।’’

त्यस अवसरमा सचिव खरालले कोप–२८ लाई सफल बनाउने काममा सशक्त र प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति आधार व्यक्त गर्नुभयो ।