• २२ वैशाख २०८१, शनिबार

बढेन तेजपातको मूल्य

blog

तेजपात । फाइल तस्बिर

बेलबारी (मोरङ), पुस २० गते । मूल्यलगातार घटेपछि तेजपात उत्पादक किसान निराश भएका छन् । उत्पादन बढे पनि अघिल्लो वर्षको तुलनामा कम मूल्य पाएको किसानको गुनासो छ । तेजपात पूर्वी नेपालको व्यापार घाटा कम गर्न सहयोगी बन्दै आएको निर्यातजन्य कृषि उत्पादन हो ।

मोरङको केराबारी गाउँपालिका-२ सिंहदेवीका नगेन्द्रकुमार खाण ठकुरीले एक सयभन्दा बढीको सङ्ख्यामा तेजपातका झाङ लगाउनुभएको छ । वर्षमा एक पटक मात्र काट्न मिल्ने तेजपातको उत्पादनका हिसाबले कम मूल्य पाएको उहाँले बताउनुभयो । ठकुरीले करिब १४ वर्षअघि लगाउनुभएको उक्त झाङले चार वर्षअघिदेखि उत्पादन दिन थालेका हुन् ।

तीन वर्षसम्म प्रतिकेजी ५० मा बिक्री गरेको तेजपात गत वर्ष ४० मा बिक्री गरिएको ठकुरीले जानकारी दिनुभयो । “एउटा रुखमा १५ देखि २० किलोसम्म सुकेको तेजपात उत्पादन हुन्छ,”उहाँले भन्नुभयो, “सय रुखबाट वार्षिक ५० हजारसम्म कमाउन सकिन्छ ।” ठकुरी जस्तै केराबारी-२ का देवीबहादुर ठकुरी र अटल सिंह राईले पनि तेजपातको व्यावसायिक खेती गर्दै आउनुभएको छ ।

यहाँ उत्पादित तेजपात केराबारी, लेटाङ बजार र सुनसरीको धरानमा बिक्री हुने गरेको राईले बताउनुभयो । विगत दश वर्षयता तेजपातको खरिद-बिक्री गर्दै आउनुभएका लेटाङका लोकबहादुर लिम्बूले भन्नुभयो, “नेपालमा प्रशस्त मसला उद्योग खुलेकाले तेजपातको भारततर्फ निकासी घटेको छ । भारतीय व्यापारीको तुलनामा नेपाली व्यापारीले कम मूल्य दिने गरेकाले किसानले उपयुक्त मूल्य नपाएका हुन् ।” नेपाली तेजपातको माग स्थानीय बजारमा उच्च रहेको उहाँको भनाइ थियो ।

मोरङका उत्तरी भेगका पहाडी पालिका र धनकुटा, पाँचथर र इलाम जिल्लाका दक्षिणी गाउँको सम्पूर्ण उत्पादन लेटाङमा सङ्कलन हुने गरेको छ । लेटाङसँग पहाडी गाउँको सडक सञ्जाल जोडिएपछि तेजपातका व्यापारी मोरङको लेटाङ र केराबारी बजारमा काँटा थापेर बसेका छन् । तेजपात नेपालका मसला उद्योग र भारततर्फ निकासी हुने गरेको छ । केराबारी-२ सिंहदेवीमा तेजपात सङ्कलन गरी लेटाङ बजारमा बिक्रीका लागि आउनुभएका देवी ठकुरीले तेजपातको व्यावसायिक उत्पादन हुन थालेको बताउनुभयो । 

उत्तरी मोरङका धेरै किसानले खेतबारीमा तेजपात लगाएका उहाँको भनाइ थियो । “एक वर्ष राम्रो बाली दिएको बोटले अर्को वर्ष आम्दानी खासै दिँदैन । पहिले दाउराका लागि रोपिने तेजपात किन्न गाउँगाउँमा व्यापारी पुग्न थालेपछि किसानले बारीमा थप बिरुवा रोप्न थालेका छन्”, उहाँले भन्नुभयो ।विराटनगर भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा विराटनगर भन्सार कार्यालयबाट आठ करोड ५७ लाख ३० हजार मूल्य बराबरको एक हजार दुई सय ७५ मेट्रिक टन तेजपात भारत निकासी भएको थियो । 

चालु आर्थिक वर्षको मङ्सिरसम्ममा दुई करोड ८१ लाख छ हजार मूल्य बराबरको चार सय मेट्रिक टन तेजपात निर्यात भएको छ । नेपालको महाभारत पर्वतीय शृङ्खलामा समुद्री सतहबाट एक सय मिटरदेखि दुई हजार पाँच सय मिटर उच्च क्षेत्रमा तेजपातको रूख हुने गरेको छ । यो एक सदाबहार ठुलो झ्याम्म परेको रुख हो । यसको पातको माथिल्लो सतह चिल्लो, चम्केको र तल्लो सतह फुस्रो हुन्छ । यसको वर्षमा एक पटक असोजदेखि चैतसम्म रूखको हाँगाहरू भाँचेर झिकिन्छ । हरेक हाँगाबाट तेजपात सङ्कलन गरिन्छ । रासस