• २३ वैशाख २०८१, आइतबार

बाल लेखिका सोइना

blog

सोइना दाहाल भानुभक्त मेमोरियल स्कुल, पानीपोखरीमा कक्षा ८ मा पढ्छिन् । सानै उमेरमा सोइनाले बालसाहित्यको क्षेत्रमा उत्कृष्ट कार्य गरिरहेकी छिन् । उनी अत्यन्तै राम्रो बोल्ने, भाषण कलामा प्रखर छिन् । उनका धेरै प्रस्तुति हामीले युट्युबमा पनि हेर्न सक्छौँ । बालसाहित्यका विधिध आयाम समेटिएका उनका केही उत्कृष्ट पुस्तक बालबालिकाका लागि अति नै उपयोगी छन् । बालसाहित्यिक सामग्रीको बजारमा खोजी गर्दा सोइनाको बालकथा सङ्ग्रह अति नै पठनीय छन् । मेरा दृष्टिमा एक्काइस बालकथा (बालसमीक्षा, २०७७), कथाको खोजी (बालकथा सङ्ग्रह, २०७९) उनका बालबालिकाले अति नै मन पराएका प्रकाशित कृति हुन् । 

बालसाहित्यका केही पुस्तकमा उनले गरेका समीक्षात्मक टिप्पणी ठूला साहित्यकारका लागि समेत प्रेरणादायी लाग्ने गर्छ । यसका अतिरिक्त उनी विभिन्न विषयमा लेखनसँगै चित्र बनाउन पनि सिपालु छिन् । सानै उमेरमा उनले गरेका प्रशंसनीय कामकै कारण सोइनाले धेरै पुरस्कार पाएकी छिन् । नइ देरुनीखपू बाल बहुआयामिक पुरस्कार (२०७७), नेबासास जयपृथ्वी बालप्रतिभा पुरस्कार (२०७९), राकुपा बाल वाङ्मय बालसाहित्य पुरस्कार (२०८०) बाट सम्मानित सोइना नेपाली बालासहत्यिको क्षेत्रमा चम्किलो नक्षत्र हुन् । आफूभित्रको बलियो आत्मविश्वास नै आफ्ना लागि सफलताको स्रोत बताउने सोइनाको मनमा केही गर्छ भन्ने कुनै पनि कामप्रतिको दृढ सङ्कल्प भयो भने कुनै पनि काम असम्भव नहुने बुझाइ छ । उनी अत्यन्तै मेहनती स्वभावकी छिन् । शिक्षकका अनुसार सोइना विद्यालयमा पनि अत्यन्तै, मेहनती, जेहेनदार र अनुशासित छात्रा हुन् ।

प्रस्तुति : लक्ष्मी खतिवडा