• २३ वैशाख २०८१, आइतबार

अभिनयमा अब्बल सुरज

blog

अहिले ११ वर्षको हुनुभयो सुरज पहाडी । उहाँ भक्तपुरको निस्ट स्कुलमा ६ कक्षामा अध्ययनरत हुनुहुन्छ । उहाँ पढ्नमा अब्बल हुनुहुन्छ । कक्षा नर्सरीदेखि नै प्रथम हुँदै आउनुभएका सुरजलाई विद्यालयले छात्रवृत्ति दिने गरेको छ । विद्यालयले कक्षामा प्रथम हुने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको छ । 

सानैदेखि अभिनयमा रुचि राख्ने सुरज विद्यालयमा हुने कार्यक्रममा नाटक प्रस्तुत गर्नुहुन्छ । विद्यालयले नै नाटक सिकाउने हुँदा उहाँलाई आफ्नो अभिनय तिखार्ने मौका मिल्यो । 

विद्यालयमा हुने कार्यक्रममा साथीसँग मिलेर प्रस्तुत गरेको नाटक अरूले मन पराउँदा खुसी मिल्ने गरेको सुरज बताउनुहुन्छ । ‘नाटक हेर्ने सबैले हाम्रो नाटकको खुलेर नै प्रशंसा गर्नुहुन्छ, “यसले झन् राम्रो गर्न प्रोत्साहन मिल्छ,” उहाँले भन्नुभयो ।  

विद्यालयमा नाटक प्रस्तुत गर्दा गर्दै उहाँलाई राष्ट्रिय बाल नाटक महोत्सवमा सहभागी भई सक्नुभएको छ, सुरज । उहाँले २०७९ सालमा सम्पन्न राष्ट्रिय बाल नाटक महोत्सवमा बेस्ट नेगेटिभ क्यारेक्टरको उपाधि जितिसक्नुभएको हो । उपाधिसँगै नगद पाँच हजार पुरस्कार पाएको सुरजले हामीलाई सुनाउनुभयो । 

नाट्य क्षेत्रमार्फत बालबालिकाको विकास, लुकेका प्रतिभा उजागर गर्न, बौद्धिक क्षमताको विकास गर्ने, सानैदेखि नेपालको कला संस्कृतिसँग बालबालिकालाई जोड्न शैली थिएटरले राष्ट्रिय बाल नाटक महोत्सव गर्दै आएको छ । पढाइका अलावा सुरज विद्यालयमा हुने विभिन्न अतिरिक्त क्रियाकलापमा पनि सहभागी हुनुहुन्छ । विद्यालयले आयोजना गर्ने फुटबल, बास्केटबलमा भाग लिदै आउनुभएको छ सुरज । फुटबल र बास्केटबलमा पनि सुरजले पुरस्कार जितिसक्नुभएको छ । 

प्रस्तुति : सिर्जना खत्री