• २५ वैशाख २०८१, मङ्गलबार

वाद्यवादनका श्रीजन

blog

श्रीजन सानैदेखि बाजागाजामा रुचि राख्थे । टोलमा बाक्लै भइरहने जात्रा तथा पूजाआजामा बाजा बजेको सुन्नासाथ उनी कुद्दै त्यहाँ पुगिहाल्थे । नाच हेर्दै अरूले बजाएको बाजामा थपडी बजाउन उनलाई रमाइलो लाग्थ्यो । पछि उनले विस्तारै बाजा बजाउने प्रयास र अभ्यास गर्न थाले । निरन्तरको प्रयास र अभ्यासबाट उनी तालिमबिनै मादल, हार्मोनियम, नगराजस्ता लोकबाजा बजाउन जान्ने भए । त्यति मात्र होइन, धिमे, धाँ, तँ, सिछ्या, भुछ्या जस्ता स्थानीय बाजा बजाउन पनि उनलाई कुनै कठिनाइ भएन । बाँसुरी, भोइलिन र पच्छिमा बाजा बजाउन भने उनले तालिमै लिए । विभिन्न बाजा बजाउने जान्ने भएकाले आजकल उनलाई कुनै जात्रा वा पूजाआजा हुने भयो कि, आफ्नै टोलबाट मात्र होइन, वल्लोपल्लो टोलबाट पनि निम्ता गरिन्छ । 

श्रीजनले सानै उमेरदेखि नै स्थानीयस्तरमा हुने विभिन्न साङ्गितिक प्रतियोगितामा भाग लिएर पुरस्कार पाएका हुन् । कक्षा ८ मा पढ्दा भक्तपुर नगरपालिकाले आयोजना गरेको नगरस्तरीय पच्छिमा बाजा प्रतियोगितामा भाग लिन पाएका अवसरलाई उनी विशेष ठान्छन् । भक्तपुरमा हरेक वर्ष दसैँतिहारको बिचमा ‘नेपाल भाषा साहित्य तँः मुज्या’ (नेवारी भाषा साहित्य ठुलो भेला/सम्मेलन) आयोजना हुने गर्छ । यो वर्ष आयोजित ४३ औँ तँः मुज्या अन्तर्गत सांस्कृतिक प्रतियोगितामा हार्मोनिक म्युजिक समूहबाट भाग लिएर प्रथम स्थान हासिल गरेपछि श्रीजन अझ हौसिएका छन् । 

कक्षा ७ सम्म माउन्ट भ्याली इङ्ग्लिस स्कुल, क्वाठण्डौँ (भक्तपुर) मा पढेका मिलनसार र सहयोगी स्वभावका श्रीजन हाल वागीश्वरी मावि च्याह्मासिंहमा कक्षा १० मा अध्ययनरत छन् । विद्यालयमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा वाद्य टोलीको नेतृत्व गर्ने उनी पढाइमा पनि ‘टप टेन’ भित्र पर्छन् । उनको भविष्यको योजना डाक्टर हुने भए पनि सङ्गीतलाई पनि सँगसँगै लाने बताउँछन् ।

प्रस्तुति : इन्द्रकुमार श्रेष्ठ