• १३ मंसिर २०८१, बिहिबार

डडेलधुरा प्रशासनमै छैनन् कर्मचारी

blog

जिल्ला प्रशासन कार्यालय डडेलधुरा। तस्बिरः पुष्कर भण्डारी।

पुष्कर भण्डारी

डडेलधुरा, पुस १७ गते। जिल्ला प्रशासन कार्यालय डडेलधुरामा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ। दरबन्दी अनुसारका कर्मचारी नहुँदा कार्यालयले नियमित रूपमा सम्पादन गर्नुपर्ने काममा ढिलाइ भएको हो।

कार्यालयका नायब सुब्बा चन्द्रबहादुर रोकायाका अनुसार कार्यालयमा २० जनाको दरबन्दी रहेको छ। ‘‘२० जनाको दरबन्दी रहेकोमा अहिले १४ जना कर्मचारी मात्रै कार्यरत छौँ,’’  उहाँले भन्नुभयो, ‘‘बाँकी ६ जनाको दरबन्दी रिक्त हुँदा सेवा प्रवाहमा निकै समस्या भइरहेको छ।

जिल्ला प्रशासन कार्यालय डडेलधुरामा सहसचिव स्तरको एकजना प्रमुख जिल्ला अधिकारी, उपसचिव स्तरको एकजना सहायक प्रमुख जिल्ला अधिकारी, अधिकृत स्तरका दुई जना प्रशासकीय अधिकृत, ४ जना नायब सुब्बा तथा अन्य खरिदार, कार्यालय सहयोगी र सवारी चालक गरी २० जनाको दरबन्दी रहेको छ। तर सहायक प्रमुख जिल्ला अधिकारी, दुई जना प्रशासकीय अधिकृत र तीन जना नायब सुब्बाको दरबन्दी लामोसमयदेखि रिक्त छ। 

प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने पनि दरबन्दीअनुसार सहसचिव स्तरका होइनन्।  सहायक प्रमुख जिल्ला अधिकारी, दुई जना प्रशासकीय अधिकृत र तीन जना नायब सुब्बाको दरबन्दी रिक्त हुँदा कार्यालयले नियमित रूपमा सम्पादन गर्नुपर्ने काममा ढिलाइ हुने गरेको छ। 

सेवाग्राहीले लामो समय सम्म लाइनमा बसेर सेवा लिनुपर्ने बाध्यता छ। सेवा प्रवाहमा समस्या भइरहेको नायब सुब्बा रोकायाले बताउनुभयो। दसैँ अगाडिसम्म प्रशासकीय अधिकृतमा जितेन्द्र ओझा कार्यरत हुनुहुन्थ्यो। हाल उहाँ अजयमेरु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा जानुभएको छ।

 ओझाको अजयमेरु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएपछि जिल्ला प्रशासन कार्यालयमा एकजना प्रशासकीय अधिकृत छैनन्। कार्य सम्पादनमा निकै समस्या भएपछि जिल्ला निर्वाचन कार्यालय डडेलधुराका निर्वाचन अधिकारी करुणाकर अवस्थीलाई काजमा खटाएर अहिले दोहोरो जिम्मेवारी दिइएको छ।

प्रमुख जिल्ला अधिकारी न्यौपाने जिल्लाबाहिर गएपछि अवस्थीलाई नै निमित्त प्रमुख जिल्ला अधिकारीको पनि जिम्मेवारी दिइँदै आएको छ। सेवाग्राहीको भीड हुने कार्यालयमै दरबन्दीअनुसार कर्मचारी नभएपछि सेवा प्रवाहमा समस्या भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी अवस्थीले बताउनुभयो।

जिल्ला प्रशासन कार्यालयमा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र बनाउनका लागि दैनिक सेवाग्राही पुग्ने गरेका छन्। बजार अनुगमन, विपद् व्यवस्थापनको जिम्मेवारी पनि प्रशासन कार्यालयकै छ।