• ११ मंसिर २०८१, मङ्गलबार

किन हराउँछन् बालबालिका ?

blog

नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको प्रतिवेदन अनुसार गएको मङ्सिर महिनामा मात्र ६२६ बालबालिका हराएकोमा ३५६ जना फेला परेका छन् भने २७० जनाको खोजतलास जारी छ । कात्तिक महिनामा ३७० बालबालिका हराउँदा ११९ जना फेला परेका छन् भने १७१ जनाको खोजी कार्य भइरहेको देखिन्छ । दिनदिनै बालबालिका हराइरहेका छन्, विभिन्न संयन्त्रमार्फत खोजी गर्दासमेत केही सम्पर्कमा आए पनि सबै बालबालिका भेटिएका छैनन् ।

बालबालिका हराउनुको प्रमुख कारण पारिवारिक संरक्षणको अभाव हो । परिवारमा असल अभिभावकत्व प्राप्त गर्न नसकेका बालबालिकाले जोखिम आकलन नगरी घर छोडेर हिँड्ने गरेको पाइन्छ । घरेलु हिंसा भएको, अभिभावकले अर्को विवाह गरेको, पारिवारिक द्वन्द्व, कलह भएको तथा मादक पदार्थ सेवन हुने परिवारमा बालबालिकाले उचित हेरचाह र संरक्षण पाइरहेका हुँदैनन् । छोराछोरीको उज्ज्वल भविष्य र सुरक्षाप्रति संवेदनशीलताको अभाव जहाँ रहन्छ, निश्चय पनि त्यस्तो परिवेशमा हुर्केका बालबालिका विभिन्न जोखिममा पर्ने गर्दछन् ।

सामाजिक सञ्जालमा बालबालिकाको पहुँच बढेसँगै यसले पारेका नकरात्मक असर पनि देखा पर्न थालेका छन् । अपरिचित व्यक्तिसँग चिनापर्ची गर्ने, सम्बन्ध विस्तार गर्ने, पारिवारिक गोप्य विवरण प्रदान गर्ने र ललाइफकाइमा पर्ने गरेका कैयौँ उदाहरण हाम्रो समाजमा भेटिन्छन् । कहिल्यै नदेखेको मानिसले सञ्जालमै गरेका कुराकानीका आधारमा परिवारका सदस्यलाई थाहै नदिइकन घर छोडेर भारतसम्म एक्लै यात्रा गरी कष्ट भोगेको घटना समाचार माध्यमबाट बाहिर आएका छन् । यसबाट बालबालिका अरूको कुरामा छिटै विश्वास गर्ने, अभिभावकले छोराछोरीलाई अनावश्यक मोबाइल इन्टरनेटको पहुँच दिलाउने, पारिवारिक रूपमा अभिभावक र सन्तानबिच छलफल तथा संवाद गर्ने वातावरणको अभाव रहेको कुरालाई पुष्टि गर्दछ ।

समाजमा सम्बन्ध विच्छेदका मुद्दा बढेसँगै बालबालिकाले बाबुआमा दुवैको माया, ममता र हेरचाहको वातावरण पाउन सकेका छैनन् । सम्बन्ध विच्छेदपश्चात् विवाह गरेमा समेत अगावै जन्मिएका बालबालिकाले उचित संरक्षण प्राप्त गर्न सकिरहेका हुँदैनन् । दम्पतीमध्ये कुनै एकको मृत्यु र अर्कोले पुनः विवाह गर्दा पनि बालबालिकाले पारिवारिक रूपमा अपमान, दुव्र्यवहार, तिरस्कार, हिंसा सहन नसकेर घर छोडेर भाग्ने गरेका छन् । दोस्रो विवाह गर्दा साथमा राख्न नसकेका कतिपय सन्तान आफन्तकोमा राख्दा बालबालिकाले आफ्नोपनको महसुस गर्न नसकी बसेको घर छोडेर हिँड्ने गर्छन् । 

अझै पनि हाम्रो समाजमा गरिब तथा विपन्न परिवारका अभिभावकले छोराछोरीलाई शिक्षामा भन्दा कमाउनका लागि श्रममा जोड दिन्छन् । व्यापारी पनि बालबालिकालाई सस्तो ज्यालामा अधिकतम उपयोग गर्न पाउने भएकाले कानुनविपरीत बाल श्रमिक प्रयोग गर्दछन् । अभिभावकसँगको समझदारीमा श्रममा रहेका बालबालिकाले कार्यस्थलमा हिंसा, दुव्र्यवहार, अपमान सहन नसकेमा कार्यस्थलबाट भाग्ने र घरपरिवारको समेत सम्पर्कमा नआउने गर्दछन् । यसले पनि हराएका बालबालिकाको सङ्ख्यामा वृद्धि हुने गरेको छ ।

वैदेशिक रोजगारीका कारण एकल अभिभावकले बजारमा बच्चा पढाउन बस्ने परिपाटी बढ्दै गएको छ । सामाजिक रीति, चालचलन, संस्कार, रहनसहन, अनुशासन, व्यावहारिक सिप तथा ज्ञान आर्जन गर्ने अवसरबाट बालबालिका वञ्चित भएका छन् । परिवारसँगै बसेर घरायसी कामकाज, आयआर्जनका क्रियाकलाप साथै सामाजिक रूपमा दुःखसुखमा सहभागी भएर अनुभव बटुल्न पाएका छैनन् । यस्ता कोठे जीवन व्यतीत गर्ने, मोबाइल, ल्यापटप, टिभी र ट्याबमा अधिकांश समय व्यतीत गर्ने बालबालिकालाई कडा स्वरले बोल्दा मात्र पनि झर्किने र रिसाउने गर्दछन् । कुनै कष्ट, पीडा वा अभावको सामना गर्न सक्ने क्षमताको विकास भएको हुँदैन । यस्ता बालबालिका पनि सामान्य समस्या आइपरेमा घर छोडेर हिँड्ने गर्दछन् ।

समस्या आइपरेपछि समाधान गर्न खोज्ने हाम्रो परिपाटीले पनि बालबालिका जोखिममा परिरहेका छन् । बाबुआमाले कार्यव्यस्तताका कारण बालबालिकालाई भुलाउन वा खाना खुवाउन पनि मोबाइलको सहारा लिनुले उनीहरूमा नराम्रोसँग नशा लाग्ने गरेको छ । छोराछोरी हुर्किंदै बढ्दै जाँदा उनीहरूको मानसिक, संवेगात्मक विकाससँगै अध्ययनप्रतिको निष्ठा कमजोर देखेपछि अभिभावकले मोबाइल र इन्टरनेटको पहुँच एक्कासि छुटाउँदा पनि बालबालिका आक्रोसित भई परिवारबाट अलग बस्न खोज्ने र भाग्ने गर्दछन् ।

हाम्रो समाजमा व्यक्तिगत वा पारिवारिक रिसइबीको मारमा बालबालिका पनि पर्ने गरेका छन् अर्थात् अभिभावकसँगको दुस्मनीको निसानामा छोराछोरीलाई राख्ने गर्दछन् । कहीँकतै आर्थिक प्रलोभनमा समेत बालबालिकालाई प्रयोग गरेका घटना पनि नघटेका होइनन् । बालबालिकालाई अपहरण गर्ने, फिरौती माग्ने र नदिएमा हत्यासमेत गरिदिने भनी परिवारका सदस्यलाई धम्क्याउने गर्दछन् । यस्ता अपहरणकारीले आर्थिक लाभका लागि या प्रतिशोधको बदला लिन बालबालिकालाई बन्धक बनाउने जस्ता आपराधिक व्रिmयाकलापले पनि हराउने बालबालिकाको तथ्याङ्क बढिरहेको छ ।

बालबालिकामा परिवारमा भन्दा बाहिरी परिवेशमा रमाउने प्रवृत्ति भएकाले पनि हराउने बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । अनुशासनमा बस्न मन नपराउने तथा कुलतमा लागेका बालबालिका स्वतन्त्र रूपमा घरबाहिरै बस्न चाहन्छन् । होटेलमा काम गर्ने, गाडीमा हिँड्ने, कवाडी सङ्कलनमा लाग्ने, सामान बेचबिखन गर्नेलगायतका कार्यबाट आर्थिक उपार्जन गर्ने र सोबाट कमाएको रकम दुव्र्यसनीमा खर्च गर्दछन् । यस्तो पारिवारिक विकर्षण भएका बालबालिकाका लागि पुनस्र्थापना गर्न निकै कठिन भइरहेको छ ।

अस्पतालबाटै स्वास्थ्यकर्मी र अन्य व्यक्तिको मिलेमतोमा नवजात शिशु नै हराउने जस्ता गतिविधिले बालबालिकाको सुरक्षाको सवालमाथि प्रश्न उठ्न सक्छ । आफ्नै श्रीमती र छोरीलाई नै छिमेकी मुलुकमा लगेर बेचेका घटना पनि हाम्रै समाजका हुन् । अभिभावकविहीन बालबालिकालाई आर्थिक प्रलोभनमा पारी रोजगारीको बहानामा ओसारपसार गर्ने गिरोहको पनि कमी छैन । विवाहको बहानामा अनेकौँ सपना देखाएर बन्धक बनाई यौनजन्य गतिविधिमा संलग्न गराउने अनैतिक कार्यसमेत नभएका होइनन् । नाजुक पारिवारिक अवस्थामा रहेका किशोरीलाई प्रेम सम्बन्ध वा सहयोगको नाटक गरेर परिवार छोड्न दुरुत्साहन गर्ने कार्य पनि भइरहेका छन् ।

हराएका बालबालिकाको उजुरी प्रहरीमा आए पनि सबै बालबालिका फेला पर्न सकेका छैनन् । अझै भन्नु पर्दा हराएका सबै बालबालिकाको उजुरी पर्छ नै भन्न सकिने अवस्था पनि छैन । उजुरी परेकामध्ये कतिपय बालबालिका परिवारको सम्पर्कमा आएमा प्रहरीलाई खबर गरिदिने परिपाटी एकातिर छैन भने अर्कोतिर प्रहरी पनि उजुरीकर्तासँग निरन्तर सम्पर्कमा रहने अभ्यास भएको देखिँदैन । यसले गर्दा वास्तविक रूपमा हराएका र भेटिएका अनि सम्पर्कमा आउन नसकेका बालबालिकाको यथार्थपरक तथ्याङ्क राख्न नसकिएको प्रस्ट हुन्छ ।

बालबालिका हराएमा, अपहरणमा परेमा वा अलपत्र अवस्थामा फेला परेमा खोजी र समन्वय गर्न बालबालिका खोजतलास समन्वय केन्द्र, १०४ व्रिmयाशील रहेको छ भने यस कार्यमा बालहेल्पलाइनले पनि थप सहज बनाउँदै आएको छ । नजिकको प्रहरीको सम्पर्क नं. १०० मार्फत पनि हराएका बालबालिकाको उजुरी दिन सकिन्छ । बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी सङ्घसंस्थाबाट विभिन्न गतिविधि सञ्चालन भइरहेका छन् । यो सँगसँगै अभिभावक पनि थप संवेदनशील र जिम्मेवार बन्नु जरुरी देखिन्छ ।

बालबालिका हराउनु या घर छोडेर भाग्नुका पछाडि एउटै मात्र कारण छैन । अभिभावक, परिवार, विद्यालय, आफन्त र छिमेकी सबैको उत्तिकै महìवपूर्ण र जिम्मेवार भूमिका रहन्छ । आफ्नो छोराछोरीलाई माया, हेरचाह र संरक्षण गर्दै सामाजिक रूपमा आउने समस्या सबैका साझा हुन्, सबै जना मिलेर समस्या समाधानमा एकाकार हुनुपर्ने कुरालाई मनन गर्दै सबै बालबालिकाप्रति सद्भाव राख्नु पर्छ । बालबालिका आम्दानीका स्रोत होइनन् बरु लगानीका आधार हुन्, उनीहरूलाई असल संस्कार, माया, ममता र संरक्षण आवश्यक छ भन्ने कुरा सबैले मनन गरी पारिवारिक र सामाजिक वातावरण बालमैत्री बनाउन सबैले पहल गर्नुपर्ने देखिन्छ ।  

Author

विष्णुकुमारी लामिछाने