• २८ असार २०८२, शनिबार

भानुभक्तका केही थप कुरा

blog

नेपाली साहित्य समाजमा आदिकवि भानुभक्त आचार्यको नाम अत्यन्त श्रद्धासाथ लिने गरिन्छ । विसं १८७१ साल असार २९ गते आइतबार जन्मिएका आदिकवि आचार्यले आफ्नो परिचय यसरी दिएका छन् : 

पहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया, 

खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया ।

विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया,

तिन्को नाति म भानुभक्त भनि हुम् यो जानि चिन्हि लिया ।।

यस परिचयमा आफ्ना हजुरबुवाबाट आफूले शिक्षा आर्जन गरेको भनी हजुरबुवाको नामसमेत उल्लेख गरेका छन् । तथापि आदिकवि आचार्यले आफ्ना पिता धनञ्जय आचार्य हुन् भनेर उल्लेख गरेको पाइन्न । धनञ्जय आचार्य पनि ठुला पण्डित थिए भन्ने कुराचाहिँ गोरखाका राजाले विसं १८६१ मा धनञ्जय आचार्यलाई महाभारतको पुस्तक दान गरेबाट पनि थाहा पाउन सकिन्छ । पुस्तकमा यस्तो उल्लेख गरेको आजसम्म पनि भेट्न सकिन्छ–

औदार्यशौर्यसौन्दर्यगुणगुम्फितवष्र्मणः । श्रीमहादत्त–भूजानेः सङ्ग्रहेरक्षितं शुभम् । श्रीमहाभारतस्येदं पुस्तकं सर्वपूजितम् ।। संवत् १८६१ तमे वैक्रमाब्दे गोर्खाधिपति श्रीश्रीश्रीश्रीश्रीमद् गीर्वाणयुद्धवीरविक्रमसेनया पाल्पाभूपतौ विजिते तद्राजगृहस्थमिदं महाभारतस्य पुस्तकं श्रीधनञ्जयशर्मणे ब्राह्मणाय समर्पितम् । शुभम् .....।।

भानुभक्तका पिता पाल्पामा सरकारी जागिरे भई खरदारसमेत भएको र त्यस बेलामा भानुभक्तलाई बनारस पढ्न पठाएको कुराको आदिकवि भानुभक्त आचार्यको सच्चा जीवन चरित्रमा नरनाथ आचार्यले उल्लेख गरेको पाइन्छ । त्यसबेलामा धनञ्जय बिरामी भई भानुभक्तलाई बनारसबाट पाल्पा झिकाई अब पढाइ यत्तिमै थाति राखेर घर गई (तनहुँ गई) आफ्नो घरव्यवहार समाल्नु भनेर धनञ्जयले भानुभक्तलाई भने भन्ने कुराको उल्लेख नरनाथ आचार्यले गरेको पाइन्छ ।  

भानुको पहिलो कविता

आदिकवि आचार्य तुरुन्त कविता लेख्न सक्ने कवि सानै उमेरमा भइसकेका थिए । भानुभक्तले एकदिन चौतारीमा बसी ठिटा तन्नेरीसमेतका गफ हाँसोका मौकामा रचना गरेको यो श्लोक नै उहाँको सबैभन्दा पहिलो कविता हो भनेरसमेत भन्ने गरिन्छ ।

केश् कन्चट् कुहिनो कपाल् र कलेजो काखी करङ् कन्सिरी ।

कान्यागुजि र कुर्कुचा कटि र कान् कम्मर् र कापा पनी ।।

कान्छीऔली र काँध कुम् पनि भया कण्ढो र कोखो समेत् ।

कम्पारो जियमा क देखि उठन्या बीस् थोक् यिनै हुन् बुझ ।। 

यस कवितामा तेस्रो र चौथो पाउमा अन्त्यानुप्रास पनि नमिलेको देखिन्छ । जब कि उहाँका अरू कवितामा अन्त्यानुप्रास कतै पनि बिगारिएको पाइँदैन । त्यसैले पनि यो कविता सानै उमेरमा कच्चा दिमागले नै लेखेको हुन सक्छ भनी अनुमान गर्नसमेत सकिन्छ । पहिलो कविता यही नै रहेछ कि भनेर थप पुष्टि गर्न मद्दत पुग्दछ । 

भानुभक्तले त्यतिबेलाको चलनचल्ती अनुसार १३ वर्षको हुँदा विवाह गरेको थाहा पाइन्छ । उनको दुई विवाह भएको कुरा नातिपनातिसमेतले हालसम्म श्राद्ध तर्पण गर्दा उल्लेख गर्ने गरेकाबाट सजिलै पत्ता लाग्दछ । उनको एउटा विवाह चाहिँ मानुङका सत्यधर खनालका वंशज चन्द्रलोकादेवी खनालसँग भएको हो । उनी पनि त्यसबेलामा सामान्य लेखपढ गर्न सक्ने नै रहिछन् भन्ने कुरा भानुभक्तकै चिट्ठीबाट स्पष्ट हुन्छ । 

स्वस्तिश्री चिरञ्जीवि श्रीनानी रमानाथशर्मणि श्रीभानुभक्तशर्मणः शुभाशीर्वादाः सन्तु उप्रान्त पढ्दैनस् भन्दा सुन्दछु मेरा कंढापरि जति उम्लंछस् ञहाबाट म क्यागरु म तहाँ आयापछि तैले नपह्र्याको ठहराया भन्या बाबै तेरा ज्यानको आसा नराषि लात् मान्र्या छु कि तैले मर्नु पर्ला कि मरि सुख पाउन्या छस् कि पह्रि सुख पाउन्या छस् यो वुझि कि तैले मर्नु कि पह्र्रु तेरि आमाले पनि यो चिठि हेरि साझ बेहान तलाइ लातमारि घोक्न लावोस् ।  यो चिट्ठी भानुभक्तले काठमाडौँबाट पठाएका हुन् । यसले त्यतिबेला पनि पढ्न पर्दछ नपढे दुःख पाइन्छ भन्ने उल्लेख गरेको पाइन्छ । भानुभक्तकी श्रीमतीसमेत चिट्ठी पढ्न सक्ने रहिछन् भनेर सजिलै अनुमान गर्न सकिन्छ । यसबाट तनहुँमा दुई सय वर्षअघिदेखि नै विद्याको मूल फुटिसकेको रहेछ, महिलाले समेत पढ्ने रहेछन् भन्ने बुझ्न सकिन्छ ।

कुमारीचोकमा थुनिए भानु 

पाल्पा मालमा आफ्ना बावु धनञ्जय आचार्य खरदार भई काम गर्दा हिसाबकिताब फस्र्योट नगरी (अडिटन गरी) उनको मृत्यु भएकाले हिसाब फस्र्योट नगरेबापत पाउनुपर्ने सजाय त्यसबेलाको नियम अनुसार बावुको सजाय पनि छोरामा सर्ने नियम भएकाले कुमारीचोकले सरकारी बाँकीमा पक्रने निर्णय गरी तनहुँमै खबर पठाएका रहेछन् । भानुभक्तले पनि कुमारीचोकमा म आफैँ हाजिर भई ठहरेबमोजिम सजाय भोगम्ला भनी कागज गरिदिएका रहेछन् । सोहीबमोजिम कवि भानुभक्त आफैँ कुमारीचोकमा थुनिन तनहुँबाट हिँडेर पाँच दिन लाग्ने बाटो पार गर्दै पाँचमाने हुँदै बालाजुबाट काठमाडौँ पसेका रहेछन् । बालाजु आइपुग्दा साँझ नपरेको, दिन धेरै नै बाँकी रहेकाले अहिलेको बालाजु पार्कमा घुम्न पसेछन् । त्यहाँका धारा, पोखरी, बालाजीको मूर्ति, वन, लहरा चराचुरुङ्गी, सबै दृश्य हेरी कविजी एकछिन त्यहीँ पाटीमा बसे छन् र दुई श्लोक रचना गरेछन्–

यति दिनपछि मैले आज वालजि देख्याँ 

पृथिवि तलभरिमा स्वर्ग हो जानि लेख्याँ 

वरिपरि लहराका झूलि बस्न्या चरा छन्, 

मधुर वचन बोली मन् लिँदा क्यासुरा छन् ।।

याँहाँ वसेर कविता यदि गर्न पाऊँ

यस्देखि सोख अरुथोक म के चिताउ 

उसमाथि झन् असल सुन्दरि एक् नचाऊ

खैचेर इन्द्रकन स्वर्ग यहीँ  बनाऊ ।।  

यसरी आफू थुनिन जाँदा पनि भानुभक्त कत्ति पीर नगरी कविता रच्दै गएका रहेछन् भन्दा अत्युक्ति नहोला । कुमारीचोकमा हाजिर हुन केही दिन बाँकी हुँदै उनी काठमाडौँ आएकाले आफ्ना पिता धनञ्जयसँगै काम गरेका सामान्य सङ्गतसमेत भएका राजज्योतिषी धर्मदत्त सुब्बासँग भेट गरी पुरानो सम्बन्धलाई पुनर्नवीकरण गरेका र कुमारीचोकका हाकिमलाई भनसुनसमेत गराएका रहेछन् र धर्मदत्त सुब्बाले डराउन पर्दैन भनी आश्वासनसमेत दिएका रहेछन् । धर्मदत्तले पनि कुमारीचोकका हाकिमलाई भानुभक्त भाग्ने मानिस होइनन्, आखिर तिर्न पर्ने ठहरेमा सजिलै तिर्न सक्छन् । साह्रै कडा नगर्नुहोला, सज्जन पण्डित छन् भनेर भनिदिएका रहेछन् । सोही अनुसार हाकिमले हाजिरी तारिखमा राखिदिएछन् । 

थुनिन पर्दा साधारण मानिसले जस्तो पीर कत्ति पनि नलिएका कविले कविता लेख्न छोडेन छन् । राजज्योतिषी धर्मदत्तको भनसुनले गर्दा दिनको एक पटक कुमारीचोकमा हाजिर हुनुपर्ने गरी राखिएकाले बाँकी समय फुर्सद हुने भएकाले रामायणको कविता लेख्न भानुभक्तले छाडेन छन् । कुमारीचोक चाहिँ उनका लागि एउटा डेरा जस्तो मात्रै भएको रहेछ भन्ने कुरा विभिन्न अनुसन्धानबाट पत्ता लाग्दछ । 

भानुभक्तको मृत्यु 

जसरी भानुभक्तको जन्मदिन असार २९ गते भन्ने कुराको उल्लेख आफैँले समेत लेखेका छन् । यो दिन हामीहरूले उनको जन्मजयन्तीसमेत मनाउने गरिएको छ तर उनको मृत्यु कुन दिन कति गते भयो भन्ने कुरा थाहा पाउन सजिलै सकिँदैन । उनको श्राद्ध तर्पण गर्ने नातिपनातिसँग सोधखोज गर्दा आश्विन शुक्ल पञ्चमीमा श्राद्ध गर्ने गरेको पाइन्छ । श्राद्धका हिसाबले पनि १९२५ सालको आश्विन शुक्ल पञ्चमीमा उनको मृत्यु भएको रहेछ भन्ने कुरा थाहा पाउन सकिन्छ तर उक्त दिन कुन महिनाको कति गते पर्दछ भनी गणना गरी हेर्दा विसं १९२५ सालको असोजको ७ गते सोमबार तदनुसार सन् १८६८ सेप्टेम्बर २१ का दिन भानुभक्तको देहावसान भएको रहेछ भनी प्रमाणित गर्न सकिन्छ ।