काठमाडौं, पुस १४ गते । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले चाँडोचाँडो बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीलाई चलायमान बनाएको बताउनुभएको छ ।
शनिबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्नुहुँदै उहाँले भन्नुभयो, ‘‘चाँडोचाँडो केन्द्रीय समिति बैठक बसेको देख्दा खुसी लागेको छ । यसले पार्टीलाई चलायमान बनाएको छ ।’’
उहाँले कांग्रेसले जनतामाझ गएर जनताको काम गरिराखेको बताउनुभयो । उहाँले पार्टीमा भएका समस्या घरभित्रको भएकाले त्यसलाई बसेर सुल्झाउन सकिने बताउनुभयो ।
उहाँले शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाप्रति दुःख व्यक्त गर्नुभयो । ‘‘हिजोको घटना धेरै नै दुःखद् हो । हाम्रा युवाहरुले जाँच दिन नपाएर आफ्नो ज्यान गुमाउनुभयो। जुन एकदम दुःखद् हो । यो घटनाको जिम्मेवार हामी सबै हौं ।’’
उहाँले नेताले जहिले पनि निराशाको मात्र कुरा गरेको भन्दै आपत्ति जनाउनुभयो ।
‘‘देशमा केही पनि भएन, सबै चोर, फटाहा र व्यवस्थानै खत्तम भनेर भाषण गछौँ । हामीले आशा दिने काम नगरेर निराशा फैलाएका छौं’’, उहाँले भन्नुभयो ।
उहाँले संविधान पढ्न सबैलाई सुझाव दिनुभयो । नेत्री राणाले पार्टीको मर्म बुझ्नसमेत सबैलाई अनुरोध गर्नुभयो । उहाँले युवा विदेश पलायन हुने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । अहिलेकै अवस्था रहे अबको पाँच वर्षमा सबै युवा विदेश पलायन हुने चिन्तासमेत उहाँले व्यक्त गर्नुभयो ।
अहिले कृषिबाट आउने आम्दानी सबैभन्दा बढी हुँदा हुँदै पनि हाम्रो देशको आर्थिक अवस्थाको योगदान कृषि रेमिटेन्स पछिको दोस्रो नम्बरमा रहेको भन्दै उहाँले कृषि क्षेत्रमा बिचौलीयाको चलखेल रोक्नुपर्नेमा जोड दिनुभयो ।