• १४ मंसिर २०८१, शुक्रबार

नेपाल उद्योग तथा वाणिज्य महासङ्घ बाँकेको अध्यक्षमा रानाभाट

blog

नेपाल उद्योग तथा वाणिज्य महासंघ बाँकेका नवनिर्वाचित अध्यक्ष रानाभाट ।

सिराज खान 

नेपालगन्ज, पुस १४ गते । नेकपा एमाले निकट उद्योगी व्यवसायीहरूको सङ्गठन नेपाल उद्योग तथा वाणिज्य महासङ्घ बाँकेको दोस्रो अधिवेशनले व्यवसायी भीम रानाभाटको अध्यक्षमा ३१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।

अधिवेशनबाट उपाध्यक्षमा उषा थापा भण्डारी र श्यामसुन्दर अधिकारी चयन हुनुभएको छ भने सचिवमा विष्णु खनाल, उपसचिवमा शर्मिला खत्री, रामचन्द्र तिवारी र उत्तम कुमार शाह चयन हुनुभएको छ । सोही प्रकारले कोषाध्यक्षमा पीताम्बर मरासिनी र सहकोषाध्यमा विष्णु माया शाही निर्वाचित हुनुभएको महासङ्घ बाँकेका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

अधिवेशनबाट निर्वाचित हुनुभएका महासङ्घको सदस्यहरूमा भागवत प्रसाद कँडेल, रामप्रसाद पन्थ, तोप बहादुर थापा, केशवराज अधिकारी, चक्रबहादुर के.सी., पुण्य प्रसाद तिवारी, भार्गव लम्साल, सरोज कुमार चौधरी, मीन बहादुर मल्ल, डिलाराम पौडेल, पूर्णदेव गिरि, विष्णु श्रेष्ठ, बुद्धि दियाली, लक्ष्मीप्रसाद जैसी र डिला शाह हुनुहुन्छ ।

यसअघि सो अधिवेशनको उद्घाटन गर्दै महासङ्घका केन्द्रीय उपाध्यक्ष डेकनाथ गौतमले सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना नेकपा एमालेको भएकोले यसलाई व्यवहारिक रूपमा प्रत्याभूति गराउन उद्योगी व्यवसायीको सङ्गठन महासङ्घले अहम् भूमिका खेल्ने बताउनुभयो । उहाँले अब सधैँ निराशाको कुरा भन्दा पनि देशमा आशाका कुरा र व्यवहार गर्नु महासङ्घको पनि कर्तव्य भएकोले यसका लागि सबै एकजुट भएर पार्टीको मूल नारामा गोलबद्ध हुनु पर्ने बताउनुभयो । 

केन्द्रीय उपाध्यक्ष गौतमले यसका साथै वर्तमान सरकारले केवल व्यवसायलाई मात्रै अन्याय नगरेर बढ्दै गएको आर्थिक मन्दीले गर्दा व्यवस्था नै असफल गराउने खतरा बढेकोले सचेत हुन व्यवसायीसँग आग्रह गर्नुभयो । सो अवसरमा उद्योग व्यवसायमा निरन्तर लागेर आर्थिक विकासमा टेवा पुर्‍याउने जिल्लाका व्यवसायीहरूलाई सम्मान पनि गरिएको थियो ।