• १० मंसिर २०८१, सोमबार

सर्वोच्च शिखर सामुन्ने

blog

अनमोल पल, अनुपम दृश्य, असीमित खुसी । जिन्दगीका रहरहरू पूरा भएपछि । परिकल्पनाले यथार्थलाई भेटेपछि । भ्रमणमा भव्य सफलता मिलेपछि । हर्षमा पनि आँसु स्वतः नै झर्दो रहेछ । खुसीमा बोली पनि बन्द हुँदो रहेछ । हिमाली सौन्दर्यमा शब्दहरू चुपचाप र निःशब्द मन मदहोश हुन पुग्दो रहेछ ।

कैयौँ समयदेखिको इच्छा पूरा भएपछि प्रसन्नताको कुनै मापन थिएन । मन हर्षित हुनुको कुनै सीमा थिएन । सन्निकट हिमाली लस्कर मुसुमुसु मुस्कुराइरहेको थियो । चिसोले आफू चिसिए पनि अतिथिलाई न्यानो स्वागतले सत्कार गरिरहेको थियो । खुलेको मौसममा हिमालले घुम्टो उघारेर हामीलाई नियालिरहेको थियो । 

वास्तवमा विश्वको सर्वोच्च शिखर सगरमाथासँग आमुन्ने–सामुन्ने भएको अव्यक्त क्षण जीवनकै अनुपम पल थियो । उच्च हिमालका चम्किला ज्योतिमा आँखा जुधाएर हेर्नु र हेरिरहनुको प्रेमिल अनुभूति साह्रै सुन्दर, सुखद र स्वच्छ ! यसरी एकाबिहानै हिमालसँग साक्षात्कार हुँदा आफूले आफैँलाई बिर्सिन पुगिँदो रहेछ । 

खुसीको पृथक् उल्लास, हर्षको बेग्लै आल्हाद मिल्ने रहेछ । चिस्याउने सिरेटो र स्याँठ सबै हराउँदो रहेछ । हुस्सुको हैरानीले दृश्य नदेखिएला पनि भन्नु नपरेपछि । हेरेर अघाउँजी तृप्त हुनुको मिठास शब्दमा व्यक्तिएन, बोलीमा खुलेन । केवल आत्मानुभूतिमा गद्गद् । कति रमाउनु, खुसीले कति चिच्याउनु हर्षले ।

तथापि कहाँ थाकिँदो रहेछ र रातदिन हिँडेर पनि । कस्तै कठिन यात्रामा पनि कहाँ पुगिँदैन रहेछ र पाइला चालेपछि । हेरेर थाकिन्छ बरु हेर्नुपर्ने दृश्य सकिँदैन रहेछ । हिँडिरहेको बाटै टुङ्गिन्छ हिँडेर तर पुग्नुपर्ने गन्तव्यले झन् सौन्दर्यको बिस्कुन फिँजाइरहन्छ आँखाभरि । तैपनि हेर्नुको भोक मेटिँदैन रहेछ । देख्नुको चौचौ पनि सिद्धिँदैन रहेछ । कति हो कति रहरका रङहरू, चाहनाका चाङहरू, गन्तव्यका ठाउँहरू । जिन्दगी नै यात्रा रहेछ । यात्रा नै जिन्दगी बनिदिँदो रहेछ । कहिल्यै नसिद्धिने, कहिल्यै नपुगिने, कहिल्यै नअघाइने यात्रा । सधैँ बाँकी रहने, सधैँ थाती रहिरहने ।

हिँड्दा–हिँड्दा कति हिँड्नु हिँडेर नसकिने रहेछ । भालेको डाँकसँगै बिउँझिएर अन्धकारले आँखै नदेखिने भइसक्दासम्म पनि बाटो हिँडेर नसिद्धिने । दिनदिनै पैदलै–पैदलको यात्रा धेरै कठिनको हुने रहेछ । तैपनि धेरै साहस मिल्दो रहेछ । धेरै आत्मबल पाइने रहेछ । यति भएपछि कहाँ थ्याच्च थचारिएर बसिरहन सकिन्छ र ! पाइला लम्किनै हतारिन्छ । प्रकृतिको दिव्य रूप देख्नै आतुर भइरहँदो रहेछ । 

नचिनेका चराका नबुझिने गुञ्जनले पनि प्रेरणा दिने । हिमाली पठार, रुखो भूमिमा पनि सुन्दरताका रङहरू देख्न सकिने । अनाम पहाडका थुम्का, ढुङ्गाका बढेमान थुप्रा र सलल लुक्दै, देखिँदै बगिरहेका नदीले पनि उत्साह उमार्ने । बदलिरहने बादलले पनि हिँड्ने हिम्मत थपिदिने । अरू त अरू बाटैभरि आऊ–जाऊ गरिरहेका सयौँ यात्रीसँगको जम्काभेटले त झन् कहाँ थाकेँ भनेर बस्न मन हुने र ! झटपट हिँडिहाल्न, जरुक्क जुरुक्क उठेर बाटो छिटो छिचोलेर र हेरिहाल्न हतार हुँदो रहेछ ।

हिँड्नुसम्म हिँडेर पैताला दुखुन्जेल, थाक्नुको पनि पराकाष्टा ! हिँड्नुको आनन्द अलि बेग्लै । हिँडाइको मज्जा पनि अलि अर्कै । हिँड्न सक्ने र नसक्नेहरू सबै हिँडिरहेका ओहोर–दोहोर दोहोरीलत । रमाउँदै उकालो चढिरहेका, ओरालो झरिरहेकाहरू । सजिलै एकपछि अर्को पाइला–पदचापका हिँडन्तेहरूको हुल भेटेपछि । यति भएपछि हिँड्ने हिम्मत कहाँ मर्छ र ! हिँडुवाका कालहरू  भेटेपछि । जाज्वल्यमान हिमाल देखेपछि । आँखै सामुन्ने सौन्दर्यमय छटाहरू देखा परेपछि । मन कहाँ बसिरहन मान्छ र ! आँखाले नहेरी कहाँ धर पाउँछ र !

अन्ततः थाकेको ज्यान हर्षले फुरुङ भएर बुरुक्क उफ्रिँदो रहेछ । उकालोको कठिनाइ बिर्सेर । फतक्क गलेको पीडा पलभर पनि नसम्झी । रमाउनुसम्म रमाउन पाइने रहेछ चिसोलाई पनि भुलेर । मान्छे उडाउने हावालाई पनि धैर्यले रोकेर । अचम्मकै हुने रहेछ प्रकृति प्रेमको नशा ! कति दुःख, कति साहस र कति परिश्रमले यति टाढा आएको सच्चा प्रकृतिप्रेमी भएर । धन्न, उचाइको तापमान पनि सन्तुलनमै रहेपछि के चाहियो घुमन्ते ज्यानलाई अरू ?

यद्यपि मुटु कामेर थर्थर । हात कठ्याङ्ग्र्रिएर अर्रर तर आँखाको तृष्णा बाँकी । मनको चाहना अधुरै । हृदयले न्यानोपनको महसुस गरिरहँदो रहेछ । दिव्य सौन्दर्य–सुवासमा अनुभूतिका भने जति प्राप्ति र सन्तुष्टिहरू मिलिरहँदो रहेछ । के र कति कुरा मात्रै मनन–महसुस गर्नु ? बग्रेल्ती अनुभूतिका मिठा–मिठा हिमाली कोसेलीहरूका भारीले अटेसमटेस ।

यति भएपछि अरू के चाहियो घुमन्तेलाई । खोजेको कुरा पाएपछिको खुसी असीमित हुने रहेछ । पदयात्राको लिनुसम्म मज्जा लिएपछि हिँडाइ त केही हुँदैन रहेछ । केवल हिँडुन्जेलको सास्ती मात्रै । पैताला सार्नुको कठिनाइ मात्रै । जब भन्ज्याङ पुगिन्छ । देउरालीमा बिसाइन्छ । सारा थकाइका दुखाइहरू त्यहीँ समाप्त हुन्छन् ।

ओहो, त्यहाँबाट प्राकृतिक सुन्दरताका नवयौवनहरू दृश्यमान । आकर्षक मुहार–मुस्कानहरूले ग्वाम्लाङ्ग अँगाल्न आउने रहेछ । चुपचाप चिनारी गाँस्न तम्सिने रहेछ । प्रेमको पराग र मायाको मिठासले भरिभराउ हिमालसँग साक्षात्कार हुन पाएपछि खुसीले सीमा नाघ्ने रहेछ । बुढ्यौली उमेर पनि तारुन्य तामझाममा ताउरमाउर गर्न थाल्ने रहेछ । साँचो अर्थमा यो हिमालको प्रेम, मायाको प्रेम, जीवनको प्रेम, प्रकृतिको प्रेम । कुन बिरानो देशदेखि आएका विदेशी यहाँ बिरानो बन्दैनन् । नेपाल प्रेम र हिमाल प्रेमले मोहित भएर आएका पाहुना–पर्यटक हिमाल देखेर, प्रकृतिलाई भेटेर कति खुसी ? हिमालको अँगालोमा बेरिएर मायाको मिठो मिठास साँट्ने । हार्दिकता बाँड्ने । नाचेर, हाँसेर, गाएर रमाउनुसम्म रमाउने ।

सुरम्य पुमोरी हिमालको काखमा कालापत्थरको ज्यान खाने उकालो । तथापि वरिपरि हिमाली सौन्दर्यको मृदु स्पर्शले अघाउजी तृप्ति दिने । मनमोहक प्रकृतिले लट्ठै पार्ने । पारिपट्टि सगरमाथा शिखरका पर्वतमालाका लस्कर । यी सुन्दरतामा चुर्लुम्मै डुबेपछि हर्षित अनुहार र अभिव्यक्तिमा जीवनकै सर्वाधिक खुसी स्वतः प्रस्फुटित भइरहँदो रहेछ ।

आफूले चाहेको कुरा पूरा भएपछि वर्षौंदेखिको अभीष्ट बल्ल साकार भएपछि धेरै पर्यटक खुसीले भक्कानिरहेका । हर्षले रोइरहेका । हिमालसँग साक्षात्कार हुन पाएर बोल्न नसकिरहेका । हेरेर तृप्त हुँदै रमाउनुको कुनै लेखाजोखा पनि नहुँदो रहेछ ।

यति प्रेमिल दृश्य देखेर भावुक म । हिमाल देखेर नतमस्तक म । आहा ! धन्य प्रकृति तिमीलाई सतत् प्रणाम ! आफ्नै सामुन्ने आँखै अगाडि ज्वाज्वल्यमान सगरमाथाको शिर देखेर कति हो कति रमाएर म उफ्रिँदै, उड्दै उत्पातको खुसीले ‘भुइँमा न भाँडोमा’ भइरहे जस्तै । एकलासको यात्रा तर अत्यासको भएन । एक्लै पैदल तर यात्रीको भिड । त्यसमा कहिले आफैँ हराएँ, कहिले भिडको भिडमभिडमा परेँ । आँखाले देखायो बाटो । मनले बढायो साहस । पाइलाले मा¥यो फड्को । अनि हिँड्यो यात्रा । 

आँखाले देखाएर संसार चिनायो । आँखाले नै सौन्दर्यसँग साक्षात्कार गरायो । मृगतृष्णा पनि आँखाकै । असन्तुष्टि, अतृप्ति पनि अनि देखेर आँखाले सौन्दर्यका तरेलीहरू तर अपरिमित खुसीले रमाउने चाहिँ मन हुने रहेछ । आँखाले त देख्ने र देखाउने मात्र । आनन्दानुभूति गर्ने त मन नै हुने रहेछ ।

प्रसिद्ध र सर्वोच्च शिखर सगरमाथा सामुन्ने पुगेर मैले जीवनकै सर्वाधिक खुसी महसुस गर्न पाएँ । फराकिलो हिमाली क्षितिजलाई भावनाको मालामा उनेर सजाउँदा आत्मिक खुसीले प्रफुल्लित हुनुको पाटो बेग्लै हुने रहेछ । विदेशीले त सगरमाथा फेँदी टेकेबापत आफ्नो देशमा धेरै सुविधा, सहुलियत र सम्मान पाउने रहेछन् । हामी नेपालीले पाउने भनेको आत्मसन्तुष्टिका खुराक मात्र । शिखर सामुन्ने पुगेको केवल आफूलाई आत्मगौरव मात्र । 

 

 

Author

ज्ञानेन्द्र विवश