• २९ वैशाख २०८२, सोमबार

प्रेस काउन्सिल ऐन संसोधन हुनुपर्छः अध्यक्ष बस्नेत

blog

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत ।

गोरखापत्र अनलाइन

काठमाडौँ, पुस १३ गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन र युट्युब च्यानलहरुको प्रभावकारी नियमनका लागि प्रेस काउन्सिल ऐन संसोधन गर्नुपर्ने बताउनुभएको छ । 

काउन्सिलले शुक्रबार आयोजना गरेको पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । नयाँ मिडियाले ल्याएको चुनौती समाधान गर्नका लागि उक्त ऐनका केही दफा संसोधन गर्न जरुरी भएको उहाँको भनाइ छ । 

‘डिजिटल प्लेट्फर्ममार्फत सञ्चालित सञ्चारमाध्यमको प्रभावकारी नियमनका लागि अहिले भएकै प्रेस काउन्सिल ऐनका केही दफा हेरफेर गर्नुपर्ने उहाँले बताउनुभयो । सरकारले चाह्यो भने यो प्रक्रिया चाँडै टुंगो समेत लाग्ने उहाँले बताउनुभयो । अध्यक्ष बस्नेतको सुझाव छ,  ‘नियमनकै लागि वर्षौं लगाएर नयाँ ऐन ल्याइरहनु पर्दैन । कानुनको नाम फेरेरभन्दा पनि भइरहेको कानुनमा के थपघट गर्ने हो त्यसतर्फ सरोकारवालाको ध्यान जानुपर्छ ।’

उहाँले केही नेपाल ऐन संसोधन गर्ने विधेयकमार्फत छोटो बाटोबाट अनलाइन र सामाजिक सञ्जालको व्यवस्थापन र नियमन गर्न सकिने बताउनुभयो । नयाँ खुलेका अनलाइनका सम्पादक, प्रकाशकहरु सहभागी कार्यक्रममा अध्यक्ष बस्नेतले प्रेस काउन्सिलले स्वस्थ, मर्यादित, जिम्मेवारपूर्ण र विश्वसनीय पत्रकारिता चाहेको र त्यसतर्फ सञ्चारकर्मी स्वयंले तदारुकता देखाउनुपर्ने उहाँको भनाइ छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले काउन्सिलले अनलाइनलाई मर्यादित र जिम्मेवार बनाउन सिर्जनात्मक काम गर्दैआएकोमा प्रशंसा व्यक्त गर्नुभयो । ‘विगतमा कतिपय पत्रकार आचारसहिंता उल्लङ्घनको कारबाहीमा पर्दा आचारसंहिता हुन्छ भन्ने गुनासो आउनेगरेको थियो । यस्ता अभिमुखिकरणले त्यो समस्या हल गरेको छ, पोखरेल भन्नुभयो ।

काउन्सिलका बोर्ड सदस्य दिपक पाण्डेले नयाँ दर्ता भएका अनलाइनहरुले समाजलाई सही दिशामा लैजानेगरी पत्रकारिता गर्नुपर्ने आबश्यकता औँल्याउनुभयो । काउन्सिलका बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासेले पत्रकारले कुनै पनि समाज, वर्गलाई चोट नपुर्‍याउन, सामाजिक सद्भाव नविथोल्न सजग हुनुपर्नेमा जोड दिनुभयो । उहाँले काउन्सिलबाट जारी भएका सञ्चार निर्देशिकाबारे सहजीकरण गर्नुभएको थियो ।

राष्ट्रिय समाचार समितिका बोर्ड सदस्य एवम विषयविज्ञ डिल्लीराम भट्टराईले आचारसंहिता र काउन्सिलले जारी गरेका निर्देशिकाहरुको पालना गर्दा पेशागत मर्यादा र गरिमा बढ्ने बताउनुभयो । ‘स्वच्छ पत्रकारिताको नमुना देखाउन यस्ता कार्यक्रम फलदायी हुन्छ, भट्टराईले भन्नुभयो ।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दिपक खनालले पत्रकारितामा कोही रहरले आउने त कोही झ्वाम्म हाम फाल्नेलगायतका प्रवृत्ति देखिएको उल्लेख गर्नुभयो । काउन्सिलले नयाँ सूचीकरण हुन आएका अनलाइन पत्रिकाका सञ्चालकलाई सूचीकरण प्रमाणपत्र प्रदान गर्नु पहिले यस्तो अभिमुखीकरण दिँदै आएको छ । शुक्रबारको कार्यक्रम यसैको ३५ औँ श्रृङ्खला हो ।